चर्चित समाचार
  • ओझेलमा धरानको गुराँसेडाँडा !

    ओझेलमा धरानको गुराँसेडाँडा !

    शुक्रवार, असार २१ २०८१
    शुक्रवार, असार २१ २०८१
  • images
    images
    ओझेलमा धरानको गुराँसेडाँडा !

    धरान (सुनसरी) / धरानको गुराँसेडाँडाका बारेमा भने अधिकांश धरानवासी नै अनिभिज्ञ छन् । 

     

    प्राकृतिक र पर्यटकीय गन्तव्यको रुपमा रहेको धरान उपमहानगरपालिका–२० विष्णुपादुकामा गुराँस फुल्ने जङ्गल छ भन्ने चर्चा अहिलेसम्म भएको थिएन । 

    पहिलोपटक नेपाली कांग्रेस सुनसरी–१ क्षेत्रीय समितिले हालै धरान उपमहानगरपालिका–२० विष्णुपादुकाको वंशिलामा लालीगुराँस वृक्षरोपण कार्यक्रम आयोजना गर्दा त्यहाँ गुराँस फुल्ने गर्छ भन्ने कुराले धेरैलाई आश्चर्य बनाएको थियो । वंशिला र महाभारत डाँडा क्षेत्रमा ६२६ वटा गुराँसका बिरुवा रोपिएको थियो । 

    वंशिला क्षेत्र डाँडा समुद्र सतहदेखि १४ सय मिटर माथिको उचाइमा रहेकाले यस ठाउँमा लालीगुराँस फुल्ने उपयुक्त हावापानी रहेको हुँदा वृक्षरोपण गरिएको नेपाली कांग्रेस सुनसरीका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताए । 

    उनले भने, “धरानलाई लालीगुराँसको सहर भनेर स्थापित गर्ने उद्देश्यले लालीगुराँसको बिरुवा रोपण गरिएको हो ।” 

    गुराँस र उच्च पहाडी क्षेत्रप्रति पर्यटकीय आकर्षणलाई धरानमै केन्द्रित गराउन वंशिलामा गुराँस संरक्षण र विकासको अभियान सुरु गरिएको बताउँदै तामाङले यो क्षेत्रको पर्यटकीय महत्व प्रचारप्रसारमा आएपछि यहाँको सडक पूर्वाधार र भौतिक विकासको ढोका खुल्ने छ भने ।  

    गुराँसका बिरुवा रोप्ने कार्यक्रमका प्रमुख अतिथि कांग्रेसका नेता डा शेखर कोइरालाले धरानको विकट क्षेत्रहरुमा विकासको लागि रचनात्मक कदमको जरुरी रहेको बताए । उनले लालीगुराँस लोप हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै लालीगुराँस संरक्षण अभियानमा निरन्तर लाग्नुपर्नेमा जोड दिए । 

    मौसम सफा भएको समयमा यस क्षेत्रबाट मकालु र कञ्चनजङ्घा हिमालको दृश्य मज्जाले अवलोकन गर्न सकिने स्थानीय विक्रम तामाङ बताउछन् । 

    दृश्यालोकन गर्नेहरूका लागि महाभारत पर्वत शृङ्खला उत्तरका पहाडी जिल्लाहरू र दक्षिणतर्फ धरान बजारदेखि तलतिरका इटहरी, चारकोशे जङ्गल, सर्दु, खर्दु, भेडेटारलगायतका रमणीय ठाउँहरुको अवलोकन गर्न सकिन्छ । 

    पहाडी क्षेत्रको चिसो वातावरणका साथै गुराँस फुलेको हेर्न पर्यटकहरू तेह्रथुमदेखि ताप्लेजुङसम्म ठूलै खर्च गरेर पुग्ने गरेका छन् । 

    यस क्षेत्रमा रैथाने लालीगुराँसको जङ्गल रहेको धरान उपमहानगरपालिका–२० वडा सदस्य देवेन्द्र राईले बताए । विष्णुपाउ सामुदायिक वनको वंशिलादेखि महाभारत डाँडा क्षेत्रको जङ्गलमा फागुन, चैत महिनामा गुराँस ढकमक्क फुल्ने गर्दछ । 

    यहाँ पाइने लालीगुराँस तेह्रथुमको तिनजुरे मिल्केतिरको भन्दा फरक प्रजातिको रैथाने गुराँस भएको अनुमान गरिए पनि कुन प्रजातिको भन्ने विज्ञहरूबाट यकिन नभएको उनको भनाइ छ । 

    गुराँसको जङ्गलसँगै अन्य प्रजातिका रुखहरू पनि भएकाले गुराँसको वन विस्तारै नासिँदै गएको स्थानीयवासी बताउँछन् । वडासदस्य राईले भने, “वर्षौंपच्छे लाग्ने डढेलोका कारण नयाँ गुराँस हुर्कन नपाउने पुराना रुख डढ्ने गरेकाले अरू बोट बिरुवा बढेको छ ।”

    वंशिला, महाभारत डाँडा धरान उपमहानगरपालिका– १७ मङ्गलबारे बजार क्षेत्रबाट करिब १४ किलोमिटर दूरीमा छ । मङ्गलबारेबाट धरान भञ्ज्जाङ सात किलोमिटर, भञ्जाङबाट विष्णुपादुका मन्दिर दुई किलोमिटर र मन्दिरबाट वंशिला झन्डै छ किलोमिटरको दूरीमा पर्दछ । 

    स्थानीयवासीले गरेको श्रमदान र धरान उपमहानगरपालिकाले रु चार लाख बजेटबाट विष्णुपादुका मन्दिरबाट माथि गाडी सवारी चल्न सक्ने पाँच किलोमिटर सडक निर्माण गरिएको छ । 

    भिरको जोखिमपूर्ण बाटोमा कहीँ पनि टेवा पर्खाल र भित्ताबाट वर्षाको पानी बग्ने खोल्सा र नाला पनि छैन भने वर्षायाममा ठाउँठाउँमा जाने ससाना पहिरोले अवरुद्ध हुने गरेको छ ।

    वंशिला नजिकै महाभारत डाँडा रहेको छ भने १५ सय मिटरको उचाइमा  हिमालय ध्यान केन्द्र स्थापना गरिएको छ । यो डाँँडा महाभारत पर्वत शृङ्खलाको सुनसरी–धनकुटा सिमानामा पर्दछ । 

    ध्यान केन्द्रमा फर्पिङबाट आएका गुरु सोनाम लामाले यस क्षेत्रको मौसम आनन्ददायक रहेको बताए । यस क्षेत्रमा पहाडी भेगको जस्तो हावापानी रहेको छ लामाको भनाइ छ  । यसअघि यस क्षेत्रमा घाँस, दाउरा गर्ने, सिकार खेल्नेबाहेक कोही पनि पुग्ने गरेका थिएनन् । 

    – सङ्गीता राई, रासस

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार