images
images

महानगरको बजेट खर्च : ‘हेभि’ बजेट ल्याएको काठमाडौँ महानगरलाई खर्च गर्न सकस, अन्यको प्रगति कति ?

महानगरको बजेट खर्च : ‘हेभि’ बजेट ल्याएको काठमाडौँ महानगरलाई खर्च गर्न सकस, अन्यको प्रगति कति ?

बुधवार, असार २६ २०८१
बुधवार, असार २६ २०८१
  • महानगरको बजेट खर्च : ‘हेभि’ बजेट ल्याएको काठमाडौँ महानगरलाई खर्च गर्न सकस, अन्यको प्रगति कति ?

    काठमाडौँ / चालु आर्थिक वर्षको अन्त्यसम्ममा काठमाडौँ महानगरपालिका बजेट कार्यान्वयनमा निकै कमजोर देखिएको छ । चालु आर्थिक बर्षका लागि ६ महानगरले कुल ५१ अर्ब १४ करोड रुपैयाँको बजेट ल्याएका थिए । तर, कुल खर्च भने ४० अर्ब ४७ करोड रुपैयाँ अर्थात् ७९ प्रतिशत मात्रै भएको छ । 

    चालु आवको लागि काठमाडौँ महानगर एक्लैको बजेट २४ अर्ब २० करोड रुपैयाँबढीको थियो । ठुलो रकमको बजेट ल्याउने काठमाडौँ महानगर खर्चको हिसाबले निकै खुम्चिएको हो । 

    कुन महानगरले कति खर्च गरे ?

    असार २५ गतेसम्मको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षमा सबैभन्दा बढी खर्च गर्ने महानगरमा ललितपुर पहिलो नम्बरमा रहेको छ । ललितपुरले कुल बजेटको ८३ प्रतिशत अर्थात ५ अर्ब ३९ करोड रुपैयाँ बजेट खर्च गरेको हो ।

    त्यस्तै, दोस्रो स्थानमा पोखरा रहेको छ । पोखराले बजेटको ६८ प्रतिशत खर्च गरेको छ । चर्चामा आइरहने महानगरमध्येको एक भरतपुर महानगरले चालु आर्थिक बर्षमा बजेटको ६५ प्रतिशत मात्रै खर्च गर्न सकेको छ भने काठमाडौँ महानगरको बजेट खर्च कुल बजेटको ५१.०४ प्रतिशतमै सीमित रहेको छ । जुन अन्य महानगरहरूको तुलनामा सबैभन्दा कम हो ।

    ललितपुर महानगरको पूँजीगत खर्च सबैभन्दा बढी 

    ललितपुर महानगरपालिकाले चालु आर्थिक बर्षको लागि ६ अर्ब ५० करोड रुपैयाँ बराबरको बजेट ल्याएकोमा बर्षको अन्त्यसम्ममा ५ अर्ब ३९ करोड रुपैयाँ बजेट खर्च गरेको छ । यो कुल बजेटको ८३ प्रतिशत हो । 

    ललितपुरले यस बर्ष पूँजीगततर्फ ४ अर्ब २१ लाख ४६ हजार र चालु तर्फ २ अर्ब ४९ करोड ८४ लाख रुपैयाँको बजेट ल्याएको थियो । जसमा पूँजीगत तर्फ करिब ३ अर्ब २४ करोड खर्च गरेको छ । यो विनियोजन गरेको रकममा ८१ प्रतिशत हो ।

    पोखराको खर्च ६८ प्रतिशत

    पोखराले ७ अर्ब ८ करोड रुपैयाँ बजेट छुट्ट्याएकोमा ५ अर्ब ४० करोड मात्रै खर्च गरेको छ । यो भनेको ६८ प्रतिशत हो । गत आर्थिक बर्ष यस महानगरले कुल बजेटको ६१ प्रतिशत खर्च गरेको थियो ।

    गत आवमा ८ अर्ब ८४ करोड ६५ लाख रुपैयाँको बजेट ल्याएकोमा ५ अर्ब ४५ करोड ५१ लाख ६८ हजार खर्च भएको थियो । 

    यता, दुई अर्ब ५७ करोडको पुँजीगत बजेटमा ६८ प्रतिशत अर्थात् एक अर्ब ७४ करोड मात्र खर्च भएको छ ।

    वीरगञ्जको खर्च गत बर्षभन्दा घट्यो

    वीरगञ्ज महानगरको बजेट खर्च गत आर्थिक बर्षको तुलनमा घटेको छ । चालु वर्षका लागि ३ अर्ब ६९ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर, बर्षको अन्त्यसम्ममा खर्च भने २ अर्ब ४३ करोड रुपैयाँ गरेको छ ।

    गत वर्ष ७९ प्रतिशत बजेट खर्च गरेको वीरगञ्जले यस वर्ष ६६ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । 

    चालु खर्चका लागि महानगरले दुई अर्ब ५६ करोड विनियोजन गरेकोमा ६८ प्रतिशत अर्थात् एक अर्ब ७५ करोड रुपैयाँ खर्च भएको छ । त्यस्तै पुँजीगततर्फ एक अर्ब ८ करोड विनियोजन भएकामा ६८ करोड मात्रै खर्च भएको छ । यो जम्मा ६२ प्रतिशत हो । 

    यस बर्ष पनि भरतपुर महानगरको खर्च ६५ प्रतिशत मात्रै

    गत आर्थिक बर्षमा ६५ प्रतिशत बजेट खर्च गरेको भरतपुर महानगरले चालु आर्थिक बर्षसमा पनि खर्च रकम ६५ प्रतिशत कटाउन सकेको छैन ।

    चालु आवको लागि ६ अर्ब ४२ करोड रुपैयाँको बजेट ल्याएको भरतपुर महानगरले ४ अर्ब १९ करोड रुपैयाँ मात्रै खर्च गरेको छ । यो कुल बजेटको ६५.३५ प्रतिशत मात्रै हो । गत वर्ष पनि भरतले ६५ प्रतिशत बजेट खर्च गरेको थियो । 

    भरतपुरको पुँजीगत बजेट खर्च भने ५५ प्रतिशत मात्रै छ । यो महानगरले यस आर्थिक बर्षका लागि ३ अर्ब ६९ करोडको पुँजीगत बजेट छुट्याएको थियो ।

    सोमध्ये एक अर्ब ८९ करोड मात्रै खर्च गरेको हो । भरतपुर गत वर्ष करिब ५१.३५ प्रतिशत नै पुँजीगत खर्च गरेको थियो । 

    विराटनगरको खर्च गत बर्षको तुलनामा बढ्यो 

    विराटनगर महानगरको बजेट खर्च गत आर्थिक बर्षको तुलनामा बृद्धि भएको छ । गत आर्थिक वर्षमा जम्मा ६४ प्रतिशत बजेट खर्च गरेको यो महानगरले चालु आर्थिक बर्षमा ७७ प्रतिशत खर्च गरेको हो ।

    चालु आर्थिक वर्षका विराटनगरले तीन अर्ब ३६ करोडको बजेट विनियोजन गरेकामा दुई अर्ब ५२ करोड खर्च गरेको छ । 
    त्यस्तै पुँजीगत बजेट ६५ प्रतिशत खर्च गरेको छ ।  कुल एक अर्ब ६७ करोड पुँजीगत बजेटमा एक अर्ब ८ करोड खर्च भएको विराटनगरले जनाएको छ। गत वर्ष विराटनगरले जम्मा ५० प्रतिशत पुँजीगत खर्च गरेको थियो।

    वित्तीय खर्च पाँच करोड विनियोजन गरेकोमा चार अर्ब ७३ करोड खर्च गरेको छ । त्यस्तै चालु खर्च एक अर्ब ६३ करोड रुपैयाँ विनियोजन भएकामा एक अर्ब ३८ करोड खर्च भएको छ ।

    खर्चमा खुम्चियो काठमाडौँ महानगर 

    चर्चाका हिसाबले पहिलो नम्बरमा पर्ने काठमाडौँ महानगरपालिका बजेट खर्चको हिसाबले भने सबैभन्दा पछाडि परेको छ । 

    ‘बालेन सिटी’का नामले समेत चर्चामा आइरहने काठमाडौँको बजेट भने अन्य महानगरको तुलनामा सबैभन्दा ठुलो थियो ।

    चालु आर्थिक बर्ष २०८०/८१ को लागि २४ अर्ब २० करोड रुपैयाँबढीको बजेट ल्याएको काठमाडौँले भने असार २५ गतेसम्म १२ अर्ब ३५ करोड रुपैयाँ मात्रै खर्च गरेको छ ।

    जुन यो कुल बजेटको ५१.०४ प्रतिशत मात्रै हो । काठमाडौँले यस आर्थिक बर्षमा ११ अर्ब ८५ करोड रुपैयाँ बजेट खर्च गर्न नसकेपछि सामाजिक सञ्जालमा काठमाडौँका मेयर बालेन साह (बालेन्द्र)को कार्यशैलीलाई लिएर विभिन्न टिकाटिप्पणीसमेत भइरहेको छ । 

    यस आर्थिक बर्ष चालु खर्चका लागि ९ अर्ब ५ करोड रुपैयाँ विनियोजन गरेको काठमाडौँले ५ अर्ब ८३ करोड रुपैयाँ मात्रै खर्च गरेको छ ।

    त्यस्तै, वित्तीय व्यवस्थातर्फ ५ करोड विनियोजन गरेकोमा शतप्रतिशत खर्च भएको महानगरले जनाएको छ । तर पुँजीगत खर्च १५ अर्ब १० करोड रुपैयाँ छुट्याइएकोमा ६ अर्ब ३९ करोड रुपैयाँ मात्रै खर्च गर्न सकेको छ । 

    सबैभन्दा कम बजेट खर्च गरेपछि के भन्छ काठमाडौँ महानगर ? 

    काठमाडौँ महानगरपालिकाले विगतको तुलनामा बजेट खर्च बढेको जनाएको छ । महानगरका प्रवक्ता नवीन मानन्धरले विगतको तुलनामा खर्च सुधार आएको बताएका हुन् ।

    “योजना र कार्यक्रमलाई प्राथमिकीकरण गरिएका कारण पुँजीगत खर्चमा सुधार भएको छ,” प्रवक्ता मानन्धरले भने, “महानगरपालिकामा पूँजीगत खर्च वृद्धि र बेरुजु न्यूनीकरण हुनुमा योजनावद्ध कार्यक्रम सञ्चालन तथा व्यवस्थापन, कार्य वातावरणमा सहजीकरण, समग्र कर्मचारीको खर्च गर्ने क्षमतामा तुलनात्मक रुपमा अभिवृद्धि, सामूहिक प्रयास (टिम स्पिरिट) लगायतका प्रयास हुन् ।”

    गत आर्थिक वर्ष २०७९/८० मा २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएकोमा ९ अर्ब १६ करोड ३३ लाख ७२ हजार अर्था ३६.०४ प्रतिशत मात्रै खर्च गरेको थियो । 

    जुन २०७४ मा पहिलोपटक स्थानीय चुनाव भएपछिकै सबैभन्दा कम हो । यसअघिका मेयर विद्यासुन्दर शाक्यको कार्यकालमा पाँच आर्थिक वर्षको बजेटको औसत खर्च ४३.३७ प्रतिशत थियो । गत वर्ष काठमाडौँले ४०.२ प्रतिशत कुल खर्च गर्दा पुँजीगत खर्च २५.९ प्रतिशत मात्रै भएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार