काठमाडौँ / साउन लागेपछि यहाँका महिलाले हरियो चुरा र पोते लगाउने परम्पराले चुरापोतेको व्यापार बढेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा ५४ करोड ८७ लाख ६३ हजार रुपैयाँ बराबरको चुरा, टीका र पोते आयात भएको छ ।
यो अघिल्लो आर्थिक वर्ष २०७९/८० को ११ महिनाको तुलनामा सामान्य बढेको हो । उक्त आवमा ५१ करोड २१ लाख ६४ हजार रुपैयाँ बराबरको चुरा, टीका र पोते आयात भएको थियो ।
साउनदेखि जेठसम्म ३७ करोड ७४ लाख ३२ हजार रुपैयाँ बराबरको चुरा र टीका आयात भएको विभागले जनाएको छ । भारतबाट मात्रै ३७ करोड ५२ लाख ५२ हजार रुपैयाँ बराबरको चुरा र टीका आयात भएको थियो । यस्तै चीनबाट २१ लाख ८० हजार रुपैयाँबराबरको चुरा र टीका आयात भएको हो ।
विभागका अनुसार १७ करोड १३ लाख ३१ हजार रुपैयाँ बराबरको ४ लाख १२ हजार ६२८ किलो पोतेका दाना भएको छ । सबैभन्दा बढी चीनबाट ११ करोड ६८ लाख ७८ हजार रुपैयाँ बराबरको पोते आयात भएको छ । जापानबाट १ करोड ९७ लाख ४४ हजार रुपैयाँ र भारतबाट २ करोड ४६लाख ८६ हजार रुपैयाँ बराबरको पोत आयात भएको हो ।
नेदरल्यान्ड्स, पाकिस्तानलगायत मुलुकबाट पनि नेपालमा पोते आयात हुने गरेको विभागको तथ्यांक छ । मुलुकमा ११ महिनामा १ करोड ३६ लाख ५६ हजार रुपैयाँ बराबरको ६८ हजार ६४३ किलो सिन्दुर आयात गरिएको छ । साउनदेखि जेठसम्म ४ करोड ५६ लाख २८ हजार रुपैयाँ बराबरको १८ हजार ३९३ लिटर नङ पलिस आयात गरिएको छ ।