काठमाडौँ / उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रको आत्मबल बढाउनु अहिलेको मुख्य चुनौती रहेकोबार सरकार जानकार रहेको बताएका छन् । बिहीबार सिंहदरबारमा नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको कुराकानीमा मन्त्री पौडेलले विश्वास जागृत गर्न नसकेसम्म देश अघि बढ्न नसक्ने बताए ।
उनले अहिलेको आफ्नो चुनौती भनेको नै निराशालाई चिर्ने र आशा जगाउने रहेको उल्लेख गरे । उनले निजी क्षेत्रको मनोबल टुटेको खण्डमा सबै कुरा टुट्ने भन्दै बजारको माग, उत्पादन, क्रय शक्तिको वृद्धि गर्न ध्यान दिने बताए ।
उनले भने, ‘अहिलेको मुख्य समस्या भनेकै जबसम्म हामीले विश्वास जागृत गर्दैनौँ, त्यो आत्मविश्वास दिँदैनौँ, देश कतै पनि अघि बढ्नै सक्दैन । मैले निराशा चिर्ने र आशा जगाउने कुरामा जोड दिएर काम थालेको छु । के गर्दा हुन्छ, तेल हाल्दा हुन्छ की, घ्यु हाल्दा, दियो बाल्दा, मैनबत्ती बाल्दा हुन्छ की, टर्च लाइट बाल्दा हुन्छ निराशा चिरेर आशा जगाउनुपर्नेछ । निजी क्षेत्रको मनोबल टुट्यो भनेदेखि के हुन्छ ? सबैकुरा टुट्छ । माग घटेको छ, उत्पादन घटेको छ, खर्च गर्ने सामर्थ्य घटेको छ । कालोसूची बढेको छ, लिलामी बढेको छ । रोजगारी घटेको छ । समस्याको चाङ छ । उत्साही भएर जानुस् । यो चुनौती कसरी सामना गर्ने ? यसका लागि सरकार तपाईहरुको साथमा छ ।'
अर्थमन्त्री पौडेलसँगको भेटमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले अहिलेको अर्थतन्त्र तत्काल चलायमान बनाउन वर्किङ क्यापिटल गाइडलाइन र असेट क्लासिफिकेशन गाइडलाइन तत्काल खारेज गर्नुपर्ने माग गरे । उनले यी दुई गाइडलाइन खारेज नगरी अर्थतन्त्र चलायमान बनाउन नसकिने दाबी गरे ।
उनले भने, ‘अहिलेको अर्थतन्त्र तत्काल चलायमान बनाउने हो भने वर्किङ क्यापिटल गाइडलाइन र असेट क्लासिफिकेशन गाइडलाइन तत्कालै खारेज गर्नुपर्छ । नभए यो अर्थतन्त्र चलायमान हुने अवस्था देखिँदैन । वर्किङ क्यापिटल गाइडलाइनले इण्डस्ट्री, निर्माण क्षेत्रलाई र थोक खुद्रा व्यापारलाई तीन वटै क्षेत्रलाई थ्रेट गरेको छ । भारतमा लागू भएर असफल भएको नीति हामीले यहाँ लागू गर्न खोजेका छौँ, यसलाई हामीले तत्काल खारेज गर्नुपर्छ ।’