काठमाडौँ / विदेशमा रोजगारीका लागि गएकाहरूले पठाएको विप्रेषण अर्थात् रेमिट्यान्सको सदुपयोग गर्न भन्दै सरकारले ल्याएको वैदेशिक रोजगार बचतपत्र प्रभावकारी हुन सकेको छैन ।
वैदेशिक रोजगारीमा रहेका नेपालीको पैसा उत्पादनमूलक क्षेत्रमा उपयोग गर्ने उद्देश्यले हरेक वर्ष सरकारले जारी गर्ने वैदेशिक बचतपत्रमध्ये ९५ प्रतिशत बिक्री नहुने गरेको नेपाल राष्ट्र बैंकको एक अध्ययनले देखाएको हो ।
राष्ट्र बैंकले यस अध्ययनका लागि वैदेशिक रोजगारीबाट फर्किएका वा पुनः जान लागेका ३ सय ८५ नेपालीसँग स्थलगत सर्वेक्षण गरेको थियो ।
त्यस्तै, वैदेशिक रोजगारीमा पठाउने ७० म्यानपावर कम्पनी वैदेशिक रोजगार बचतपत्र बिक्री गर्न इजाजत लिएका १४ बिक्री एजेन्टसँग पनि कुराकानी गरेको थियो ।
उक्त सर्वेक्षणले वैदेशिक रोजगारीमा जाने नेपालीमध्ये ८७.५ प्रतिशतलाई वैदेशिक रोजगार बचतपत्रबारे जानकारी नै नरहेको र १२.५ प्रतिशतलाई मात्रै जानकारी रहेको देखाएको छ ।
१३ वर्षमा जम्मा ७६ करोड बिक्री
आर्थिक वर्ष २०६६/६७ देखि वैदेशिक रोजगार बचतपत्रको निष्काशन र व्यवस्थापन कार्य शुरू गरिए पश्चात् आर्थिक वर्ष २०७५/७६ बाहेकका सबै वर्षहरूमा यस्तो बचतपत्र बिक्रीका लागि आव्हान भएको देखिन्छ ।
आर्थिक वर्ष २०६६/६७ देखि २०७९/८० सम्मका १३ वर्षहरूमा बैंकले २५ पटक गरी जम्मा १५ अर्ब ५६ करोड रुपैयाँ आव्हान गरेकोमा ७६ करोड २३ लाख (अर्थात् ४.९ प्रतिशत) रुपैयाँ बिक्री भएको छ ।
बचतपत्रको परिचालन शुरुका वर्षहरूदेखि नै अपेक्षित रूपमा हुन सकेको देखिँदैन । पहिलो वर्ष १ अर्ब रुपैयाँको बचतपत्र आव्हान भएकोमा ४० लाख रुपैयाँ बिक्री भएको थियो भने दोस्रो वर्ष ५ अर्ब रुपैयाँ निष्काशन आव्हान भएकोमा ३३ लाख रुपैयाँ मात्र बिक्री भयो ।
त्यसपछिका अधिकांश वर्षहरूमा बचतपत्रको आव्हान रू.५० करोड भन्दा कम भएको देखिन्छ । आर्थिक वर्ष २०६६/६७ देखि २०७९/८० सम्म आव्हान रकमको ४.९ प्रतिशत मात्र बिक्री हुन सकेको छ । यस अवधिमा निष्काशन भएका सबै वैदेशिक रोजगार बचपत्रहरू ५ वर्ष अवधिको रहेका छन् ।
“यस अवधिमा वैदेशिक रोजगार बचतपत्रको ब्याजदर सोही वर्षको मुद्दती निक्षेपको तुलनामा ०.०१ देखि २.४२ प्रतिशतसम्म उच्च देखिन्छ । तथापि, ब्याजदरको प्रभाव बचतपत्र खरिदमा अपेक्षित रूपमा परेको देखिँदैन,” प्रतिवेदनमा भनिएको छ ।
यस्तै, आर्थिक वर्ष २०६८/६९ मा १ अर्ब आह्वान भएकोमा कत्तिपनि बिक्री भएन । २०६९/७० मा पुनः १ अर्बको आह्वान भएकोमा जम्मा १९ लाख रुपैयाँ मात्र बिक्री भयो ।
यसैगरी, आर्थिक वर्ष २०७०/७१ देखि लगातार ५ वर्ष २५ करोडका दरले बचत पत्र बिक्री आह्वान गरिएकोमा कुनै पनि वर्ष ३ करोड भन्दा बढीको आवेदन परेन । तथ्याङ्कले आर्थिक वर्ष २०६६/६७ देखि २०७९/८० सम्म आह्वान रकमको जम्मा ४.९ प्रतिशत मात्र बिक्री हुन सकेको देखाउँछ । यस अवधिमा निष्काशन भएका सबै वैदेशिक रोजगार बचपत्रहरू ५ वर्ष अवधिको रहेका छन् ।
वैदेशिक रोजगार बचतपत्रमा आकर्षण नहुनुमा वित्तीय शिक्षा र प्रचार प्रसारको कमी रहेको निष्कर्ष केन्द्रीय बैंकको रहेको छ । यस्तो बचतपत्रमा लगानीकर्ताहरूले १०.३१ प्रतिशतसम्म ब्याजदर प्राप्त गरेका छन् ।
नेपाल सरकारले वैदेशिक रोजगार बचतपत्रलाई आकर्षक बनाई बढी भन्दा बढी ऋण परिचालन गर्ने उद्देश्यले यस्तो बचतपत्रको ब्याजदर निर्धारण गर्दा सोही वर्षको बैंक तथा वित्तीय संस्थाहरूले मुद्दति निक्षेपमा प्रदान गर्ने ब्याजदरको तुलनामा उच्च रहेको प्रतिवेदनमा उल्लेख छ ।
यस अवधिमा वैदेशिक रोजगार बचतपत्रको ब्याजदर सोही वर्षको मुद्दति निक्षेपको तुलनामा ०.०१ प्रतिशतदेखि २.४२ प्रतिशतसम्म उच्च रहेको देखिन्छ । तथापि, ब्याजदरको प्रभाव बचतपत्र खरिदमा अपेक्षित रूपमा परेको देखिदैन ।
थाहा पाएर किन किन्दैनन् बचतपत्र ?
सर्वेक्षण अनुसार १२.५ प्रतिशतलाई मात्र वैदेशिक रोजगार बचतपत्रको बारेमा जानकारी रहेको पाइएको छ । जानकारी भएकाले पनि यस्तो बचतपत्र खरिद गरेको देखिएन ।
‘वैदेशिक रोजगार बचतपत्रबारे जानकारी भएर पनि खरिद नगरेका व्यक्तिमध्ये ३९.५ प्रतिशतले पर्याप्त जानकारी नभएको र २७ प्रतिशतले खरिद प्रक्रिया झन्झटिलो भएको उल्लेख गरेका छन्,’ प्रतिवेदनमा उल्लेख छ, ‘सर्वेक्षणमा १२.५ प्रतिशतले बचतपत्र खरिद गर्ने रकम अभाव रहेको, बाँकी २१ प्रतिशतले भने बचतपत्रको प्रमाणपत्र सजिलै प्राप्त नहुने र ब्याज प्राप्त गर्न धाउनुपर्ने लगायत कारण देखाएका छन् ।’
३८५ नेपाली नागरिकमा उक्त सर्वेक्षण गरिएको थियो भने करिब ३० प्रतिशत व्यक्ति पहिलो पटक वैदेशिक रोजगारीमा जान लागेका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, बसपार्क, म्यानपावर कम्पनी र श्रम विभागमा तथा काठमाडौँ बाहिरका झापा–काँकडभिट्टा, वीरगञ्ज–रक्सौल, भैरहवा–सुनौली र धनगढी–गौरीफण्टाका नाकाहरूमा वैदेशिक रोजगारीमा जान लागेका र फर्किएका ३८५ नेपाली नागरिकसँग राष्ट्र बैंकले स्थलगत सर्वेक्षण गरेको थियो ।
राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्रको बिक्री एजेण्टका १६ प्रतिनिधिहरूसँग गरिएको इमेल सर्वेक्षण अनुसार ६२.५ प्रतिशतले रोजगारीमा रहेका नेपालीले वैदेशिक रोजगार बचतपत्रको बारेमा सोधनी गरेको तर खरिदमा तत्परता नदेखाउने गरेको उल्लेख गरेका छन् ।
त्यसैगरी, काठमाडौँस्थित विभिन्न ७० म्यानपावर कम्पनीका सञ्चालक वा प्रतिनिधिसंँग सम्पन्न टेलिफोन सर्वेक्षण अनुसार २४.३ प्रतिशतले वैदेशिक रोजगार बचतपत्रको बारेमा जानकारी भएको र १२.८ प्रतिशतले सोधपुछ गर्ने गरेको बताएका छन् ।
सरकार, वैदेशिक रोजगार विभाग र म्यानपावर कम्पनीहरूले वैदेशिक रोजगारीमा पठाउनुअघि अभिमुखीकरण तालिम प्रदान गर्नुपर्ने व्यवस्था छ । यद्यपि, अध्ययनमा समेटिएका मध्ये ८.५ प्रतिशतले मात्र अभिमुखीकरण तालिम प्राप्त गरेको बताएका छन् ।
०७८ देखि वैदेशिक रोजगारीमा गएकाहरूले आफू भएकै राष्ट्रबाट बचतपत्र किन्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसमा लगानी गरेको रकममा कर लाग्दैन । ६÷६ महिनामा ब्याज भुक्तानी पाइन्छ । आवश्यक परेका बेला बिक्री गर्न र बैंक तथा वित्तीय संस्थामा धितो राखेर कर्जा लिन पनि सकिन्छ ।
यी सुविधा भए पनि वैदेशिक रोजगारीमा गएका नेपालीलाई बचतपत्रबारे पर्याप्त जानकारी नहुँदा अपेक्षित बिक्री हुन नसकेको रेमिट्यान्स कम्पनी सञ्चालकहरू बताउँछन् । खासगरी विकसित राष्ट्रमा मध्यम र उच्चस्तरको काम गर्न जाने नेपालीलाई लक्ष्य गरेर प्रचारप्रसार गरे बचतपत्र बिक्रीमा समस्या नहुने उनीहरूको सुझाव छ ।
आउँदा दिनमा धेरैभन्दा धेरै वैदेशिक रोजगार बचतपत्र बिक्री हुने वातावरण बनाउन सरकारले गैरआवासीय नेपाली र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बचतपत्र खरिदमा थप विनिमय दरमार्फत सहुलियत दिने व्यवस्था मिलाउनुपर्ने सुझाव प्रतिवेदनमा छ ।
वैदेशिक रोजगार बचतपत्र सम्बन्धी व्यवस्था के छ ?
– राष्ट्र ऋण ऐन, २०५९ र राष्ट्र ऋण विनियमावली, २०५९ बमोजिम वैदेशिक रोजागार बचतपत्रको निष्काशन र व्यवस्थापन कार्य विगतदेखि नेपाल राष्ट्र बैंकबाट हँुदै आएकोमा सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ र सार्वजनकि ऋण व्यवस्थापन नियमावली, २०८० कार्यान्वयनमा आएपश्चात् २०८१ बैशाखदेखि यस्तो बचतपत्र लगायत नेपाल सरकारको सम्पूर्ण आन्तरिक ऋण निष्काशन र व्यवस्थापन कार्य सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट हुन थालेको छ ।
– २०८० चैतसम्म ३६ बैंक तथा वित्तीय संस्थाहरूलाई बजार निर्माताकोकार्य गर्न र बैंक तथा वित्तीय संस्था र रेमिट कम्पनी गरी १४ संस्थाहरूलाई वैदेशिक रोजगार बचतपत्र बिक्री एजेण्टको इजाजतपत्र दिइएको छ । उक्त अवधिमा बिक्री एजेण्टहरूका विभिन्न १३ मुलुकमा ६३ प्रतिनिधिहरू रहेका छन् ।
– वैदेशिक रोजगार बचतपत्र बिक्री गरेबापत् बिक्री एजेण्टहरूले बिक्री रकमको ०.६५ प्रतिशत कमिशन पाउने व्यवस्था रहेको छ ।
– आन्तरिक ऋण परिचालनको क्रममा वैदेशिक रोजगार बचतपत्रबाट परिचालन हुने रकम, समयावधि, ब्याजदर र निष्काशन समय अर्थ मन्त्रालयबाट निर्धारण हुने व्यवस्था छ ।
– वैदेशिक रोजगार बचतपत्र सम्बन्धी कार्यविधि, २०६९ (दोस्रो संशोधन, २०७६) अनुसार वैदेशिक रोजगारीमा रहेका तथा रोजगारीबाट फर्किएको ६ महिना व्यतित हुन बाँकी नेपाली नागरिक तथा निजका एकाघर परिवारका सदस्य र गैर आवासीय नेपालीले समेत बिक्री एजेण्ट मार्फत्यस्तो बचतपत्र खरिद गर्न पाउने व्यवस्था रहेको छ । बचतपत्र खरिद गर्न
नेपाली राहदानीको प्रतिलिपि, वैदेशिक रोजगारीको परिचयपत्र र विप्रेषण आय प्राप्त गरेको प्रमाण आवश्यक हुन्छ ।
– वैदेशिक रोजगार बचतपत्र नेपाल सरकारले निष्काशन गर्ने भएकोले पूर्ण सुरक्षित हुने, खरिदकर्ताको आवश्यकता अनुसार स्टक वा प्रमिसरी नोटको रूपमा खरिद गर्न पाउने, न्यूनतम रू.१० हजार र बढीमा कुल आह्वान रकमको सीमामा नबढाई १० हजारले निःशेष भाग जाने अंक बराबर खरिद गर्न सकिने र बैंक तथा वित्तीय संस्थामा धितो राखी कर्जा लिन सकिने लगायतका विशेषता रहेका छन् ।