हामीहरू खुला समाज र खुला अर्थतन्त्रमा विश्वास गर्छौँ । खुला समाज र खुला अर्थतन्त्रको पैरवीका लागि हामी काम गर्छौँ । तर खुला अर्थव्यवस्था अप्रत्यक्ष रूपमा संकुचित हुँदैछ । बजारको माग र आपूर्तिले उत्पादन र मूल्य निर्धारण हुने प्रणाली खुला बजार अर्थव्यवस्था हो ।
जहाँ उद्यमीको प्रवेश सहज हुन्छ र असफल भएर वर्हिगमन पनि सहज हुन्छ । त्यहाँ सरकार सहजकर्ताको भूमिकामा रहन्छ र गल्ती भए सर्वमान्य न्यायको सिद्धान्त अनुरूप सजाय हुन्छ ।
तर हामीकहाँ निजी क्षेत्र निरन्तर निगरानीमा छ । नियामक र निगरानी बढाउने नीति नियम एकपछि अर्को गर्दै आइरहेका छन् । लगानी र नाफा संकुचन हुने पर्याप्त आधार देखिएकै कारण लगानी बढन सकेको छैन र रकम बैंकिंग माध्यममा थन्किएको छ ।
हामीले कार्यभार सम्हाल्दै गर्दादेखि नै मागलाई संकुचित नगर्न र निजी क्षेत्रलाई अंकुश नलगाउन बारम्बार आग्रह गरिरहेका छौँ । यसको सुनुवाइ भएको छैन भने बजार पनि चलायमान हुन सकेको छैन ।
हामीले भनेका थियौँ, निर्यातमा नियन्त्रण नगरौँ, ब्याजलाई उच्च दरमै कायम राख्न नीतिगत दबाव सिर्जना नगरौँ । तर सुनुवाइ भएन । अहिले वित्तिय क्षेत्रमा निक्कै तरलता छ भने ब्याजदर पनि तल आइसकेको छ । तर पनि बजारमा अपेक्षित माग बढन सकेको छैन । र ऋण प्रवाह बढ्न सकेको छैन् ।
सरकारलाई पैसा कर बुझाउछु भन्दा पनि आवश्यक अनावश्यक झन्झट बेहोर्नुपर्छ । सर्वसाधारणले पाउने सेवा सहज छैन । यसलाई अभियानकै रूपमा सुधार गर्नुपर्छ ।
यसलाई वित्तीय असुरक्षाको अवस्था भनिन्छ । लगानी गर्दा स्वभाविक कारणले नाफा हुन नसक्ने अवस्थाको जोखिम व्यवसायीले लिन्छ । तर, अस्वभाविक र नीतिगत परिवर्तनका कारण हुने घाटाका लागि ऊ तयार रहन्न । त्यसैले पर्ख र हेरको अवस्था रहन्छ ।
हामीले कार्यकाल सुरु गरे लगत्तै अख्तियारले निजी क्षेत्रलाई पनि हेर्ने गरी आएको विधेयकलाई हाम्रो निरन्तर पैरवीले हालसम्म उक्त व्यवस्था संसोधन हुने गरि नै छलफल भैरहेको छ । अब उपसमितिको राय के आउँछ ? यसमा हामी सबै चनाखो हुनुपर्छ । हाम्रो निरन्तरको प्रयासले यो हाललाई रोकिएको छ । यसमा सबैको साथ र सहयोग आवश्यक छ । यदि कानुन जस्ताको त्यस्तै पारित भए लगानी थप निरुत्साहित हुनेछ ।
अर्कोतर्फ बैंक वित्तीय संस्था सम्बन्धि ऐनमा हुने संसोधन छ । तत्काल एक प्रतिशतभन्दा बढि बैंकमा सेयर हुने व्यक्तिले अन्यत्रबाट ऋण लिनै नपाउने भन्ने व्यवस्था गर्ने भनिएको छ ।
हामीले मुलुकको निजी क्षेत्र र बैंकिग क्षेत्रको बिकासक्रम हेर्नुपर्छ । नेपालमा पहिलो बैंक स्थापना भएको ८५ बर्ष नाघे पनि निजी क्षेत्रको सहज प्रवेश भएको चार दशकमात्रै भएको छ ।
उदारीकरणको सुरुवात पनि त्यही समय भएको हुँदा निजी क्षेत्र विस्तार हुने अवस्थामा छ । नेपालको बैंकिङ क्षेत्र व्यवस्थित छ । नियमन र सुपरीवेक्षण दरिलो छ । कर्जाको दुरुपयोग हुन नदिने ग्यारेन्टी गरौँ तर लगानीकर्तालाई निषेध र नियन्त्रण नगरौँ ।
उद्यमी व्यवसायीले बैंकमा स्वामित्व भएकै कारण अन्यत्र लगानी गर्न नपाउने हो भने हामीकहाँ उत्पादन र रोजगारी सिर्जना कसरी हुन्छ । वैदेशिक लगानी कुल गार्हस्थ्य उत्पादनको शून्य दशमलब २ प्रतिशत मात्रै छ । स्वदेशी लगानीकर्ताहरू यही र यस्तै, कानुनका कारण लगानी गर्न नपाउने अवस्थामा छन् ।
यी बिषयमा हामीले संघीय संसदका माननीयज्यूहरूसँग छलफल गर्यौँ । करिब एक सय ७५ जना सांसदको उपस्थिति रहेको उक्त कार्यक्रम हामीले गरको सम्भवतः पहिलो थियो । तीन मन्त्री र अधिकांश समिति सभापतिज्यूहरूको सहभागिता थियो ।
लगानी बढाउने बिषयमा हामीले वृहद अन्तर्क्रिया गर्यौ । उहाँहरूले निजी क्षेत्रको बिकास र लगानी विस्तारमा सकारात्मक रूपमा साथ दिने प्रतिवद्धता जनाउनुभएको छ ।
बर्षको साढे आठ अर्ब विदेशी लगानीले कसरी अर्थतन्त्रमा सुधार हुन्छ ? साढे आठ अर्ब भनेको सात करोड डलर हाराहारी हो । हामीसँगै विश्व व्यापार संगठनको सदस्य भएको मुलुक क्याम्बोडियाले बर्षको दुई अर्ब डलर हाराहारी विदेशी लगानी भित्र्याउँछ । सतप्रतिशत विदेशी लगानी, कर छुट, पूँजीगत वस्तु आयातमा भन्सार छुट, सतप्रतिशत रिप्याटिएसन जस्ता थप सुविधाले थप आकर्षित बनाएको छ ।
इथियोपियामा बर्षको साढे ३ अर्ब डलर जति विदेशी लगानी आउँछ । सन् २०१० मा १३ करोड डलर हाराहारी थियो । त्यतिबेला नेपालमा पनि ९ करोड डलर हाराहारी विदेशी लगानी आउथ्यो । त्यहाँ १३ करोडबाट साडे ३ अर्ब डलर पुगेको छ भने हामी सात करोड डलरमा झरेका छौँ ।
विश्व बैंकको सन २०२१ को अध्ययनले विदेशी लगानी विना द्रुत निर्यात हुन नसक्ने देखाएको छ । यी लगानी बढाउन सके १२ गुणा निर्यात बढाउन सकिने उक्त अध्ययनले देखाएको छ ।
यही महत्वलाई बुझेर हामी विदेशी लगानी आकर्षित गर्न विशेष पहल गर्यौ । भारत, चीन र दुवइमा बिजेनेस समिट आयोजना गर्यौँ ।
भारतमा बाणिज्य मन्त्री पियुस गोयल, चीनमा वाणिज्य सहायक मन्त्री ली फेइ र दुबइमा युएइका अर्थ सचिव मोहमद अल सलेहको सहभागिता थियो । प्रधानमन्त्रीज्यूको प्रमुख आतिथ्यता रहेको ती सम्मेलनहरूमा डेढ सयदेखि दुई सय स्थानीय उद्यमी व्यवसायीको सहभागिता थियो ।
यी सम्मेलनपछि सोधपुछ पनि हुन थालेको छ । हामीले महासंघमा विदेशी लगानी सहायता कक्ष स्थापना गरी सोमार्फत सहजीकरण गरिरहेका छौँ । अहिले सहायता कक्षको पोर्टल निर्माणको चरणमा छ । केही समयमा नै उक्त पोर्टलमार्फत नेपालमा लगानीको वातावरण बारे जानकारी प्राप्त गर्न सकिनेछ भने फोन इमेलमार्फत पनि हामी सेवा दिइरहेका छौँ ।
बिम्स्टेक क्षेत्रमा लगानी र व्यापार बढाउन विम्स्टेक चेम्बर अफ कमर्शको अवधारणा मैले २०२३ जुन १६ मा कोलकतामा प्रस्ताव गरेका थियौँ । यस बर्ष अगष्ट ७ मा नयाँ दिल्लीमा सम्पन्न बिम्स्टेक बिजनेस कन्क्लेभमा सबै देशका चेम्बरहरूले त्यसलाई अगाडि बढाउने निर्णय गरेको छ ।
आगामी बिम्सटेक शिखर सम्मेलनसम्मको यसको विधान बनिसक्ने अपेक्षा छ । यसपटकको विम्स्टेक शिखर सम्मेलनमा पनि हामी नेपाल थाइल्याण्ड बिजनेस फोरम आयोजना गर्ने तयारीमा छौँ ।
गत बर्ष एसियाली चेम्बरहरूको सङ्गठन क्यासी सम्मेलन नेपालमा आयोजना गरिएको थियो । विदेशीहरूको सुझाव र आवश्यकता अनुसार हाम्रो आग्रहमा सरकारले द्विपक्षीय लगानी सम्झौताको खाका तयार पारेको छ । अब सम्झौता गर्नुपर्छ । उदाहरणका लागि कतारले प्रस्ताव पठाइसकेको छ ।
कतारसँग महासंघको ऐतिहासिक सम्झौता भएको यहाँहरूलाई विदितै छ । कतारका अमीरको नेपाल भ्रमणका क्रममा उहाँ र सम्माननीय प्रधानमन्त्रीज्यूको उपस्थितिमा बिजनेस काउन्सिल स्थापना गर्नेबारे महासंघ र कतार चेम्बरबीच सम्झौता भएको थियो । यसले तत्काल नतिजा आउने गरि काम गर्दैछ र हामी यसबारे यहाँहरूलाई जानकारी गराउने नै छौँ ।
लगानी सहज बनाउन विभिन्न ८ कानुनमा सुधार भएको छ । यस समितिमा निरन्तर सहभागि भै हामीले दिएको सुझाव अनुसार परिमार्जन भएको छ । तर अन्य मुलुकहरूले हामीभन्दा थप सुविधा दिइरहेकाले सुधार अझै आवश्यक छ ।
लगानी स्वदेशी र विदेशी दुवै आकर्षित हुनुपर्छ । तर पछिल्लो साढे दुई बर्षयताको समस्या समाधान भैसकेको छैन । बजारमा अझै माग अपेक्षा गरिए अनुसार बढेको छैन । बैंक वित्तीय संस्थाहरूमा रकम थुप्रिएको छ ।
हालसम्मकै उच्च विदेशी विनिमय सञ्चिति छ । भुक्तानी सन्तुलन मात्रै होइन कि चालु खाता पनि सकारात्मक छ ।
यसले वित्तीय स्थायित्व देखाउँछ तर के आर्थिक गतिविधि बढाउन परिसूचकको स्थयित्व मात्रै चाहिन्छ कि निजी क्षेत्रको मनोबल ? अहिले यो बहसको बिषय बनेको छ ।
अर्थतन्त्र चलायमान बनाउन के गर्ने त ? यो स्वभाविक प्रश्न छ । पहिलो कुरा निजी क्षेत्रलाई निर्वाध काम गर्न दिइनुपर्छ । विश्व बैंक आइएफसी र महासंघको अध्ययनले अर्थतन्त्रमा ८१ प्रतिशत योगदान निजी क्षेत्रको देखाएको छ । ८६ प्रतिशत रोजगारी निजी क्षेत्रले दिएको छ ।
उच्च तहको नेतृत्ववर्गले यसलाई मनन् गरे पनि धरैले निजी क्षेत्रको महत्व बुझेर सहजीकरण गर्न चाहिरेका छैनन । यसमा सुधार हुनु पहिलो शर्त हो ।
निजी लगानी आवश्यक छ कि छैन भन्ने बिषयमा अन्तिम टुंगो लगाउनैपर्छ । नाफा कमाउन अपराध हो कि होइन भन्नेमा पनि अन्तिम टुंगो लगाउनै पर्छ ।
दोस्रो शुसासनको प्रत्याभूति । प्रधानमन्त्रीज्यू लगायत अर्थ, उद्योग मन्त्रीज्यूहरू यसमा पहल गरिरहनु भएको देखिन्छ । तर नतिजा आउन सकेको छैन । कुनै व्यवसाय दर्ता गर्न ५ देखि ७ ठाउँमा जानुपर्छ । सरकारलाई पैसा कर बुझाउछु भन्दा पनि आवश्यक अनावश्यक झन्झट बेहोर्नुपर्छ । सर्वसाधारणले पाउने सेवा सहज छैन । यसलाई अभियानकै रूपमा सुधार गर्नुपर्छ ।
पत्रकार मित्रहरूले पनि निजी क्षेत्रले काम गर्न पाउने वातावरणबारे आफ्नो धारणा बनाउनुपर्छ । निजी लगानी आवश्यक छ कि छैन भन्ने बिषयमा अन्तिम टुंगो लगाउनैपर्छ । नाफा कमाउन अपराध हो कि होइन भन्नेमा पनि अन्तिम टुंगो लगाउनै पर्छ ।
हामी कहिलेसम्म गरिबीमै बाँच्ने भन्ने बिषयमा हामीले संवेदनशील बन्नै पर्छ । हाम्रा पूर्वाधारहरू कहिलेसम्म यही अवस्थामा रहने हुन् ? सरकारले पुँजीगत खर्च गर्न नसक्ने निजी क्षेत्रले पुर्वाधार लगायतमा लगानी गर्न पाउने कि नपाउने ? पाउने हो भने त्यसको सुरक्षा कसले गरिदिन्छ ? नीति नियमले साथ दिनुपर्छ कि पर्दैन ? आर्थिक मुद्दामा सबै दलहरू एकै हुनुपर्छ भनेर हामी निरन्तर भनिरहेका छौँ । यो आवश्यक छ ।
के निजी लगानी बिना तिव्र बिकास सम्भव छ ? सञ्चारकर्मी र आम सर्वसाधारणले पनि यो बिषयमा प्रष्ट हुनुपर्छ । यहाँहरूले पनि निजी क्षेत्रका गतिवधिलाई प्रवर्द्धन गरिदिनुपर्छ ।
गलतलाई साथ दिनुपर्छ भनेको होइन, तर निजी क्षेत्र मुलुकको आवश्यकता हो भने त्यसको विस्तारमा हामीले खुलेर सहयोग गर्नुपर्छ ।
अख्तियार लगायतका निकायको भूमिका निजी क्षेत्रमा रहने कि नरहने भन्ने बिषय प्रष्ट हुनुपर्छ । नियमन मात्रै गर्ने, डर त्रास मात्रै देखाउने हो भने लगानीकर्ताले सोच्ने नै छन् ।
उद्यमी व्यवसायीहरूलाई पनि स्वच्छ र स्वस्थ व्यवसायलाई प्रवद्र्धन गरौँ भन्ने आग्रह हो । उपभोक्ताप्रति जिम्मेवार व्यवसायलाई हामीले बढावा दिनुपर्छ । यसतर्फ हाम्रा कही कतै कमजारी छन भने सुधार गर्नुपर्छ ।
अन्तर निकाय समन्वय र संवेदनशीलता आवश्यक छ । यहाँहरूलाई सम्झना नै होला गत बर्ष असोज २५ गते हामीले वृहद राष्ट्रिय आर्थिक बहस आयोजना गरि आर्थिक सुधारका लागि आयोग गठन गरि समन्वय र संवादमार्फत सुधारको माग राखेका थियौँ ।
उक्त मागलाई अर्थमन्त्रालयले आफ्नो कार्ययोजनामा समेत समावेश गरिसकेको छ । यसले निजी क्षेत्रसहितको संवाद अगाडि बढाउनेछ ।
छलफल, सकारात्मक सोच र समन्वयले सुधार सम्भव हुने मलाई विश्वास छ । यस बर्ष पनि बद्लिँदो परिस्थितिमा फेरी आर्थिक वहसलाई अगाडि बढाउने योजना छन् ।
यस बर्षको छलफलमा माथि उल्लेख भएका बिषय समेटिने छन् र सुधारको सुझावसहित कार्यान्वयनको माग गरिनेछ । हामी हरेक तीन महिनामा सरकारसँग संवाद गर्ने संयन्त्र बनाउन खोजिरहेका पनि छौँ ।
हामी युवा, महिला एवं साना तथा मझौला उद्यमीको प्रवर्द्धनमा विशेष पहल गरिरहेका छौँ । महासंघले मस्यौदा गरेको स्टार्ट अप नीति पारित भएको छ । कानुनमा स्टार्टअपको परिभाषा आएको छ ।
तीन बर्षदेखि निरन्तर स्टार्ट अप नेसन कार्यक्रम आयोजना गरी प्रवर्द्धन र पैरवी गरिरहेका छौँ । कैलालीमा सरकारसँगको सहकार्यमा छिट्टै इन्कुवेसन केन्द्र स्थापना हुनेमा म विश्वस्त छु ।
साना मझौला उद्यमीका लागि एसएमइ बिकास केन्द्र महासंघमा स्थापना गर्ने निर्णय केही पहिले नै भैसकेको छ । यसको प्रभावकारी सञ्चालनका लागि हामी तयारी गरिरहेका छौँ ।
महासंघलाई सेन्टर अफ एक्सिलेन्सका रूपमा पनि बिकास गर्ने हाम्रो योजना छ । जसअन्तर्गत, एफएनसिसिआइ लर्निग सेन्टर र एफएनसिसिआइ इनोभेटर्स क्लब स्थापना गर्ने तयारी छ । यो क्लब यहाँहरूले याद गर्नुभएकै होला हाम्रो भुई तलामा रहेको अमेरिकन कर्नरसँगको सहकार्यमा स्थापना गर्ने योजना छ ।
सातै प्रदेशहरूलाई पनि यस्तो एक्सिलेन्स सेन्टरका रूपमा प्रवर्द्धन गर्न सकिने सम्भावनाका बारेमा पनि हामी छलफल गरिरहेका छौँ । प्रदेशहरूको आफ्नो योजना आएपछि हामी यसमा थप काम गर्नेछौँ ।
बजारमा मागमा भएको कमीले जोखिम लिन लगानीकर्ता हिच्किचाइरहेका छन् । सानो लगानीका माध्यम निक्कै न्युन छन् ।
आगामी डेढ बर्षभित्र महासंघको कम्तीमा ७० प्रतिशत काम डिजिटल गर्ने प्रयासस्वरूप काम भैरहेको छ । अहिले केही बेरमा नै हामी बिजनेस इन्टिलिजेन्स सिस्टम सार्वजनिक गर्दैछौँ । यो एसिया फाउन्डेसनको सहकार्यमा बनेको सफ्टवेयर हो ।
जसले हाम्रा पाँच लाख भन्दा बढी सदस्यको डाटावेस राख्नेछ र रियल टाइम रिसर्च गर्ने क्षमता राख्दछ । यसले हाम्रो अनुसन्धान र बिकास कार्यलाई तिव्रता दिनेछ ।
सर्टिफिकेट अफ ओरिजिनलाई पूर्णयता डिजिटलाइज बनाउने हाम्रो प्रयास छ । हामीले सफ्टवेयर तयार पारेका छौँ । सरकारलाई पूर्णतया अनलाइन बनाइ दिन आग्रह गरिहेका छौँ तर अझैँ भएको छैन । सबै अनलाइन भएमा बजारमा विकृति हट्ने गरी पारदर्शिता पनि कायम हुने हाम्रो विश्वास छ ।
हामीकहाँ धेरै समयदेखि चर्चा भैरहेको मेलमिलाप केन्द्र सम्बन्धि कार्यविधि तयार भएको छ । यसलाई छिट्टै नै कार्यसमितिमा प्रस्तुत गरेर तत्काल केन्द्र स्थापना हुने मैले विश्वास लिएको छु । यसले व्यवसायीहरूबीच हुने विवाद समाधानमा पहल गर्ने अपेक्षा मैले गरेको छु ।
अहिले हाम्रो अर्थतन्त्र विशिष्ट अवस्थामा छ । बजारमा मागमा भएको कमीले जोखिम लिन लगानीकर्ता हिच्किचाइरहेका छन् । सानो लगानीका माध्यम निक्कै न्युन छन् । यस्तो अवस्थामा जोखिम र नाफा दुवै बाड्ने र कुशल व्यवस्थापनमार्फत लगानी बढाउन सकिने सम्भावना छ ।
यही भएर हामी लगानी कम्पनीको प्रयास गरेका हौँ । नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडका नामका उक्त कम्पनी दर्ता भैसकेको छ । यो महासंघको कम्पनी होइन तर यसका सदस्य र गैर सदस्य पनि लगानी गर्न सक्ने गरी बनेको कम्पनी हो । यसले बजारमा थोरै भए पनि मनोबल बढाउने अपेक्षा गरेका छौँ ।
सुधारका लागि हामीले के कस्तो नीति अवलम्बन गर्दा उपयुक्त हुन्छ ? त्यसमा यहाँहरूको सुझावको अपेक्षा पनि गरेको छु ।