काठमाडौँ / यातायात व्यवसायीहरूले दसैँका लागि खुलाइएको अग्रिम टिकट बुकिङ बन्द गर्न आग्रह गरेका छन्।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आज दिउँसो ३ बजे सरकारसँग यसबारे छलफल गर्ने बताए।
राजमार्गमा पहिरो जाने क्रम नरोकिएको र सवारी साधनको सेड्युल बिग्रिएको भन्दै टिकटको अग्रिम बुकिङ बन्द गर्ने तयारी गरिएको महासंघका उपाध्यक्ष सिटौलाले जानकारी दिए ।
‘चारदिन देखिका यात्रुहरू अस्तव्यस्त छन्। टिकट भएपछि दबाब बढ्छ। बाटोका कारण गाडी समयमा आउन सकेका छैनन्,’ उनले भने।
अविरल वर्षासँगै गएको बाढी पहिरोका कारण चार दिनदेखि रोकिएका सवारी साधनहरू सोमबारदेखि गन्तव्यका लागि छुटेको थिए ।
पृथ्वी राजमार्गमा गएको पहिरोका कारण ती सवारी साधनहरू रोकिएका थिए । यसबाहेक पश्चिम नवलपरासीको दुम्कीबासमा गएको पहिरोका कारण त्यहाँ पनि सडक अवरुद्ध भएको थियो ।
अग्रिम टिकट असोज १२ गतेदेखि खुलाइएको थियो। यातायात व्यवस्था विभागले दिउँसो ३ बजे बैठक डाकेको छ। बैठकमा यातायात श्रमिक र व्यवसायीहरूलाई पनि बोलाइएको छ।