काठमाडौँ / महालक्ष्मी विकास बैंकले सातओटै प्रदेशका विभिन्न स्थानमा रहेको घरजग्गा लिलाम गर्ने भएको छ । बैंकले देशभरका ७७ स्थानमा रहेका गैरबैंकिङ सम्पत्ति लिलाम बढाबढमार्फत् बोलकबोल गर्न लागेको हो ।
मङ्गलबारसम्म बोलकबोलमा सहभागी भई बैंकको लिलाम बढाबढमा सहभागी हुन सकिनेछ । बोलकबोल बढाबढमा सहभागी भएकाहरूको बोलपत्र बुधबार खोलिने बैंकले जनाएको छ।
बैंकले कोशीमा १९, मधेशमा २, बाग्मतीमा ७, गण्डकीमा ४, लुम्बिनीमा ३, कर्णालीमा ७ र सुदूरपश्चिममा ३४ स्थानमा रहेका घर तथा जग्गा लिलाम गर्न लागेको जानकारी दिएको छ ।
बैंकका अनुसार कर्जा नतिर्ने ऋणीहरूको सम्पत्ति सकारेर आफ्नो नाममा राखेको र अब लिलाम बढाबढमार्फत बोलकबोल गर्न लागिएको हो । उक्त सम्पत्ति लिलामीका लागि बैंकले यसअघि नै १५ दिने सूचना प्रकाशित गरेको थियो ।