रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति पदमा आफ्नो जित भएको दाबी गरेका छन् । फ्लोरिडामा आयोजित सभालाई सम्बोधन गर्दै उनले आफ्नो जित भएको बताएका हुन् ।
औपचारिक घोषणा नभए पनि उनको जित सुनिश्चित भएपनि विश्व समुदायबाट बधाई आउन थालेको छ । बेलायतका प्रधानमन्त्री किर स्टार्मरले ट्रम्पलाई ऐतिहासिक जितका लागि बधाई दिएका छन् ।
सामाजिक सञ्जाल ‘एक्स’ (ट्वीटर) मार्फत बधाई दिँदै बेलायती प्रधानमन्त्री स्टार्मरले ट्रम्पसँग मिलेर काम गर्न इच्छुक रहेको जनाएका छन् ।
फ्रेन्च राष्ट्रपति इमानुएल माक्रोंले पनि ट्रम्पलाई बधाई दिँदै सहकार्यका लागि उत्सुक रहेको जनाएका छन् ।
इटालीका प्रधानमन्त्री ज्योर्जा मेलोनीले ट्रम्पलाई बधाई दिँदै इटाली र अमेरिकाबिच अटुट गठबन्धन, साझा मूल्य र ऐतिहासिक मित्रता रहेको र सम्बन्ध अझ मजबुत हुने उल्लेख गरेकी छन् ।
यस्तै, हङ्गेरीका प्रधानमन्त्री ओर्बान भिक्टरले पनि ट्रम्पलाई शानदार पुनरागमन गरेको भन्दै बधाई दिएका छन् । उनले ट्रम्पको जितलाई ‘विश्वका लागि आवश्यक’ भनेका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्रम्पलाई जितको बधाई दिँदै उनको अघिल्लो कार्यकालजस्तै आपसमा मिलेर सहकार्य गर्न इच्छुक रहेको उल्लेख गरेका छन् ।