काठमाडौँ / संयुक्त अधिराज्य बेलायतका लागि नियुक्त राजदूत चन्द्र घिमिरे सम्मानित भएका छन् । काठमाडौँमा रहेका धरानेहरूको संस्था धरान सरोकार समाजले राजदूत घिमिरेलाई सम्मान गरेका हुन् ।
कार्यक्रममा विभिन्न क्षेत्रमा स्थापित धरानेहरूले विषयगत सुझावहरू पनि दिएका छन् । सो अवसरमा पूर्व राजदूत राजेश्वर आचार्यले आफ्नो अनुभवका साथै गर्नु पर्ने कामको बारेमा सल्लाहसमेत दिएका थिए ।
उनले चीनमा आफु राजदुत भएर काम गर्दा दुई देशका सम्बन्धलाई प्रगाढ बनाउँदै राष्ट्रको हितका लागि गरेका कामहरूको बारेमा चर्चा गरेका थिए ।
उनले अब काम गर्दा राजदुत नभई राष्ट्रदुत भएर काम गर्न सुझाव दिए । त्यस्तै, आफुले कालापानीको विवादको बेलामा सहजीकरण गरेको स्मरण गर्दै बेलायतमा त्यो बेलाको कागजात वा नक्साको लागि प्रयास गर्न पनि सुझाएका थिए ।
कार्यक्रममा च्याम्बर अफ कमर्शका पूर्व अध्यक्ष महेश कुमार अग्रवालले बेलायतले हाम्रो छिमेकी भारतमा राज गरेको विगत छ, जसको हामीसँग पुरानो सम्बन्ध रहेको पनि छ, त्यस्तो देशमा जान लाग्नु भएकोमा शुभकामना व्यक्त गरे ।
पूर्व मन्त्री कृष्णकुमार राईले घिमिरेलाई आफुलाई सिफारिस गर्ने दल, समुह, समुदाय आदिका लागि मात्र नभई सम्पूर्ण नेपालको प्रतिनिधित्व गरी काम गर्नै शुभकामना दिए । उनले त्यसो गर्न सके हामी अझ बढी गौरवान्वित हुने बताए ।
कार्यक्रममा क्याप्टेन नारायण राई, नेपाल बाल संगठनकी अध्यक्ष विद्या न्यौपाने, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, भुपेन्द्र कार्की, नारायण श्रेष्ठ आदिले बधाई र शुभकामना व्यक्त गरेका थिए ।
धरान सरोकार समाजका सदस्य एवम् पूर्व एआईजी सन्दीप भण्डारीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्दै नवनियुक्त राजदुत चन्द्र घिमिरेले आएका सुझावहरूलाई आफुले मनन गर्ने बताउँदै राष्ट्रको अधिकतम हितका लागि काम गर्ने बताए ।
यसअघि मन्त्रालयमा हुँदा वा महावाणिज्य दुतका रूपमा काम गर्दाका अनुभवहरूलाई राजदुतका रूपमा उपयोग गर्ने बताए ।
कार्यक्रममा उनले काठमाडौँमा रहेका धरानेहरू विभाजित भएकोमा चिन्ता व्यक्त गर्दै एकीकृत हुन अनुरोधसमेत गरे ।
कार्यक्रका वक्ताहरूले काठमाडौँका सबै धरानेहरू धरान सरोकार समाजकै छातामुनि एकताबद्ध हुन सुझाव दिएका थिए ।
धरान सरोकार समाजका कार्यवाहक अध्यक्ष डा. महेन्द्र सुब्बाले आफ्नो संस्थाको अध्यक्ष राजदुतका रूपमा नियुक्त हुनुले आफ्नो संस्था मात्र नभई सम्पूर्ण धरानेहरू नै गौरवान्वित भएको बताए । उनले सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।