सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई १३ दिन म्याद थपिने भएको छ । सभापति लामिछानेलाई म्याद थपको माग गर्दै प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको हो ।
उनी माथिको अनुसन्धान नसकिएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले म्याद थपका लागि लामिछानेलाई अदालत उपस्थित गराएको हो ।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध कास्की जिल्ला अदालतले पाँचौँपटक अर्थात् पछिल्लोपटक यही मंसिर ९ गते १५ दिनको म्याद थपेको थियो।
उक्त म्याद शुक्रबार राति नै सकिएको भए पनि हिजो शनिबार परेकाले आज अदालत खुलेसँगै लामिछानेविरुद्ध छैटौँपटक म्याद थप्न लागिएको हो।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान नसकिएकाले उनीवरुद्ध फेरि हिरासत म्याद थप्न लागिएको प्रहरीले जनाएको छ ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अवैध रूपमा गोर्खा मिडिया प्रालिमा लगेको भन्दै ग्यालेक्सी टेलिभिजनका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई प्रहरीले गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी पोखरा लगेको थियो।