काठमाडौँ / नेपाल व्यायाम मन्दिरको आयोजनामा शारीरिक सुगठनको प्रतिष्ठित प्रतियोगिता धर्मश्रीको १७ औँ संस्करण चैतमा हुने भएको छ । पुरस्कार र सहभागिताका कारण अहिलेसम्मकै ठूलो मानिएको सो प्रतियोगिता चैत ७ देखि ९ सम्म प्रज्ञा भवन कमलादीमा हुने भएको हो ।
बडिबिल्डिङका झन्डै ६ सय खेलाडीले भाग लिने प्रतियोगिता पहिलोपल्ट तीन दिन हुन लागेको हो । चैत ७ मा वेइङ, ८ मा प्रि–जजिङ र चैत ९ मा अन्तिम चरणको प्रतिस्पर्धा हुनेछ ।
धेरै प्रतिस्पर्धीका कारण दुई दिनबाट तीन दिन गर्नुपरेको आयोजक व्यायम मन्दिरका अध्यक्ष नारायण प्रधानले बताए । धर्मश्रीसँगै कामनपाका पूर्वमेयर पीएल सिंहको नाममा मेन्स फिजिक्स १७० सेमिमुनि र १७० सेमिमाथि, महिला बडीबिल्डिङ खुला र ५० वर्षमाथि खुला मास्टर शारीरिक सुठगन प्रतियोगिता पनि आयोजना हुनेछ ।
आयोजकले यस पटक पुरस्कार राशिमा पनि वृद्धि गरेको छ । धर्मश्री च्याम्पियनले १२ लाख रुपैयाँ जित्नेछन् । जुन अघिल्लो संस्करणको तुलनामा २ लाख रुपैयाँ बढी हो ।
ओभरअलमा दोस्रोले ६ लाख, तेस्रोले ३ लाख रुपैयाँ, चौथोले २ लाख रुपैयाँ, पाँचौंले १ लाख ८० हजार रुपैयाँ र छैटौंले १ लाख ५० हजार रुपैययाँ प्राप्त गर्नेछन् । धर्मश्रीतर्फ ६०, ६५, ७०, ७५, ८० केजी र ८० केजीमाथि गरी ६ तौल समूहका विजेताले ओभरअलमा प्रतिस्पर्धा गर्नेछन् ।
त्यसको विजेता नै धर्मश्री च्याम्पियन हुने प्रावधान छ । तौल समूहतर्फ दोस्रोले ५० हजार रुपैयाँ, तेस्रोले ४० हजार रुपैयाँ, चौथोले ३० हजार रुपैयाँ, पाँचौँले २० हजार रुपैयाँ र छैटौँले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
मेन्स एथलेटिक्स फिजिक्स १७० सेमिमुनि र १७० सेमिमाथि तथा महिला बडीबिल्डिङ खुला गरी तीन विधामा समान विजेताले २ लाख रुपैयाँ, दोस्रोले १ लाख रुपैयाँ, तेस्रोले ७० हजार रुपैयाँ, चौँथोले ५० हजार रुपैयाँ, पाँचौले ४० हजार रुपैयाँ र छैटौँले ३० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
त्यस्तै, ५० वर्षभन्दा माथिका खुला मास्टर विजेताले नगद १ लाख रुपैयाँ पाउनेछन् भने दोस्रोले ५० हजार रुपैयाँ, तेस्रोले ३० हजार रुपैयाँ, चौथोले २५ हजार, पाँचौले १५ हजार रुपैयाँ र छैटौंले १० हजार रुपैयाँ हात पार्नेछन् ।
यसपटक सबै विधाको शीर्ष ६ सम्म बन्ने खेलाडीलाई नगद पुरस्कार राशीको व्यवस्था गरिएको आयोजकले जनाएको छ । १६औँ संस्करणमा उमेश राईले धर्मश्री उपाधि जितेका थिए ।
मेन्स फिजिक प्रतियोगितालाई काठमाडौँँ महानगरपालिकाका पूर्व मेयर पिएल सिंहको नाममा पिएल सिंह मेन्स फिजिक प्रतियोगिता नाम राखिएको छ। १७ औँ धर्मश्रीको मुख्य प्रायोजकमा काठमाडौं महानगरपालिका रहेको छ ।