काठमाडौँ / पछिल्लो समय सामाजिक सञ्जालमा चर्चित अभिनेत्री तथा अभियन्ता आशिका तामाङ पक्राउ परेकी छन् । नेपाल प्रहरी उनलाई बुधबार दिउँसो स्वयम्भुबाट पक्राउ गरेको हो ।
तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी बसन्त रजौरेले पुष्टि गरे । उनलाई थप अनुसन्धानका लागि गौशाला प्रहरी कार्यालयमा पुर्याइएको छ ।
१५ वर्ष जर्मनी बसेर स्वदेश फर्केकी उनी पछिल्लो समय नेपालका सरकारी निकाय, सार्वजनिक स्थानमा भइरहेको आर्थिक बेथिति र अत्याचारको उजागर गर्दै आएको दाबी गर्छिन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिकाले उनीविरुद्ध सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने गरी अराजक गतिविधि गरेको भन्दै प्रहरी वृत्त जगातीमा उजुरी दिएको थियो ।
नगरपालिकाको वडा नम्बर ९ र १० को सिमानामा रहेको झोलुङ्गे पुल चढेबापत सर्वसाधारणसँग पैसा लिएको भन्दै केही दिनअघि उनले टिकट प्याडमा आगो लगाइदिएकी थिइन् ।
नगरपालिकाका अनुसार, उनले त्यहाँको अस्थायी संरचनामा तोडफोडसमेत गरेकी थिइन् । यससम्बन्धी भिडियो उनकै फेसबुकदेखि यट्युब च्यानलमा समेत प्रसारण भएको थियो ।
नगरपालिकाको तर्फबाट कानुन शाखा प्रमुख कपिलबहादुर अधिकारीले दिएको उजुरीमा आशिकाले कर्मचारीलाई धम्कीसमेत दिएको उल्लेख छ ।