भारतमा भएको सवारी दुर्घटनामा ५ जना नेपालीले ज्यान गुमाएका छन् । बिहारको मुजफ्फरपुरमा नेपाली चढेको स्कार्पियो गाडी दुर्घटना हुँदा पाँच नेपाली दर्शनार्थीको मृत्यु भएको हो ।
महाकुम्भ मेलाबाट फर्किंदै गरेको स्कोर्पियो गाडी अनियन्त्रित भएर पल्टिँदा पाँचजनाको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । गाडीमा ९ जना सवार थिए । तीमध्ये ४ जना गम्भीर घाइते भएका छन् ।
मृतकमध्ये तीन महिला र दुई पुरुष छन् । मृत्यु हुनेमा अर्चना ठाकुर, इन्दु देवी, मन्त्रणा देवी, बालकृष्ण झा र गाडीचालक शम्भु ठाकुरको पहिचान खुलेको छ । मृतकमध्ये गाडीचालक शम्भु सिरहा र अन्य महोत्तरीका हुन् ।
घाइतेहरूमध्ये मनोहर ठाकुर, सृष्टि ठाकुर, कामनी झा र देवतारण देवी रहेका छन् । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । बीआर ३२ पीए ४६६१ नम्बरको भारतीय गाडी दुर्घटना भएको हो । घाइतेहरुको स्थानीय श्रीकृष्ण मेडिकल कलेजमा उपचार भइरहेको छ ।
तीव्र गतिमा रहेको स्कार्पियो फोरलेन सडकमा मोटरसाइकललाई बचाउने क्रममा दुर्घटना भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेको छ । गाडीमा रहेका सबै महाकुम्भमा स्नान गरेर घर फर्किंदै थिए ।