काठमाडौँ / ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालद्वारा ‘भ्रष्टाचार अवधारणा सूचकाङ्क’ (करप्सन पर्सेप्सन इन्डेक्स–सिपिआई) सार्वजनिक गरेको छ । इन्टरनेसनले मङ्गलबार विश्वव्यापी रूपमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्कअनुसार दक्षिणी सुडान सबैभन्दा बढी भ्रष्टचार हुने देशमा अङ्कित भएको छ ।
यससँगै दक्षिणी सुडान ८ अङ्क प्राप्त गरी यस वर्ष सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रूपमा दर्ज भएको हो । त्यस्तै, १८० देश सम्मिलित यस सूचकाङ्कमा सोमालिया सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा दोस्रो स्थानमा छ । यो देशले ९ अङ्क प्राप्त गरेको हो । सोमालियापछि भेनेजुयला १० अङ्कसहित सबैभन्दा बढी भ्रष्टचार हुने तेस्रो देशमा अङ्कित छ ।
यसैगरी, डेनमार्क ९० अङ्कसहित सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक बनेको छ । विगत सात वर्षदेखि लगातार सबैभन्दा कम भ्रष्टचार हुने मुलुकमा डेनमार्कले आफ्नो परिचय बनाएको छ । त्यस्तै, कम भ्रष्टाचार हुने मुलुकहरूमा फिनल्याण्ड दोस्रो र सिङ्गापुर तेस्रो स्थानमा छ । यी देशहरूले क्रमशः ८८ र ८४ नम्बर प्राप्त गरेका छन् ।
भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा नेपाल
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको सूचकाङ्कमा १०० अङ्कले अति स्वच्छ र ० अङ्कले अति भ्रष्ट जनाउँदछ । १८० देशमध्ये नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा परेको छ ।
नेपालले १०० मा जम्मा ३४ अङ्क प्राप्त गरेको हो । गत वर्ष नेपालले ३५ अङ्क प्राप्त गरेको थियो । यस नतिजाले भ्रष्टाचारविरुद्ध नेपालमा प्रभावकारी रूपले काम कारबाही अगाडि बढाउन आवश्यक देखिएको ट्रान्सपरेन्सीले औँल्याएको छ ।
छिमेकी मुलुक भारतले ३८ अङ्क प्राप्त गरेको छ भने दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटानले सबैभन्दा बढी ७२ अङ्क प्राप्त गरेको छ ।
त्यस्तै, मालदिभ्सले ३८ अङ्क, श्रीलङ्काले ३२ अङ्क, पाकिस्तानले २७ अङ्क, बङ्गलादेशले २३ अङ्क र अफगानिस्तानले १७ अङ्क प्राप्त गरेका छन् । छिमेकी मुलक चीनले ४३ अङ्क प्राप्त गरेको छ ।
विगत पाँच वर्षमा सात वटा मुलुकहरूले भ्रष्टाचार अवधारणा सूचकाङ्कमा उल्लेख्य प्रगति हासिल गरेका छन् । सन् २०२४ मा विश्वका दुई तिहाइ देशहरूले १०० मा ५० भन्दा कम अङ्क प्राप्त गरेका छन् ।
सर्वेक्षण गरिएका १८० मुलुकको औसत अङ्क यस वर्ष पनि ४३ नै कायम रहेको छ । कम अङ्क प्राप्त गर्नेमा कमजोर र द्वन्द्व प्रभावित मुलुकहरू रहेका छन् ।
विश्वव्यापी चासोको विषय रहेको जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय स्तरमा सक्रिय रहेका मुलुकहरूले समेत भ्रष्टाचार अवधारणा सूचकाङ्क सर्वेक्षणमा कम अङ्क प्राप्त गरेको देखिएको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष मदनकृष्ण शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी, भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०२४ मा नेपालले १०० मा ३४ अङ्क प्राप्त गरेको छ, जुन गत वर्ष ३५ रहेको थियो । ट्रान्सपरेन्सी इन्टरनेसनलले विभिन्न देशको भ्रष्टाचार अवधारणा सूचकाङ्क तयार गर्दा १३ वटासम्म अन्तर्राष्ट्रिय सर्वेक्षणका तथ्याङ्कलाई आधार मान्ने गरेको छ ।
नेपालको सूचकाङ्क ६ वटा संस्थाद्वारा विभिन्न क्षेत्र समेटेर गरिएको सर्वेक्षणको आधारमा तयार गरिएको इन्टरनेसनलले जनाएको छ ।