काठमाडौँ / खानेपानी मन्त्री प्रदीप यादवले विद्युत प्राधिकरणको कारणले बबरमहलमा खानेपानीको पाइप फुटेको आरोेप लगाएकाा छ । मन्त्री यादवले सामाजिक सञ्जाल फेसबुकमा बुधबार दिउँसो नेपाल विद्युत प्राधिकरणले विद्युतका लाइन भूमिगत गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा काठमाडौँको बबरमहलमा रहेको खानेपानी थोक वितरण प्रणालीको पाइप फुटेको उल्लेख गरेका हुन् ।
आफू कार्यक्रमको लागि पोखरा गएको र पाइप फुटेर बबरमहल क्षेत्रमा जलमग्न अवस्था सिर्जना भएको खबर पाउनासाथ तत्काल काठमाडौँ आइपुगेको उनले बताएका छन् । मन्त्री यादवले पानी बन्द गर्नका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका पिआइडि प्रमुखलाई निर्देशन दिएको उल्लेख गरेका छन् ।
उनले लेखका छन्, “आज दिउँसो नेपाल विद्युत प्राधिकरणले विद्युतका लाइन भूमिगत गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा काठमाडौँको बबरमहलमा रहेको खानेपानी थोक वितरण प्रणालीको पाइप फुटेको छ।
म कार्यक्रमको लागि पोखरामा थिए । पाइप फुटेर बबरमहल क्षेत्रमा जलमग्न अवस्था सिर्जना भएको खबर पाउनासाथ तत्काल काठमाडौ आइ अहिले पाइप फुटेर पानी बगिरहेको ठाउँ बबरमहलमा आएको छु । पानी बन्द गर्नका लागि काठमाडौ उपत्यका खानेपानी लिमिटेड, पिआइडि प्रमुखलाई निर्देश दिएको छु ।
अहिले करिब ५० प्रतिशत पानी घटिसकेको छ । मन्त्रालयका सचिव इ प्रमिलादेबि शाक्य, बज्राचार्य, केयूकेएलका सिइओ अशोककुमार पौडेल, पिआइडिका प्रमुख टिकाबहादुर चौधरी सहित मन्त्रालयको टोलि पानी निकास र रोकथामका लागि बबर महलमै छौ । पानी जमेर त्यहाँ रहेका सवारीसाधनहरू डुबानमा परेको तथा आवतजावतमा समस्या उत्पन्न भएको खबर प्राप्त हुनासाथ, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लाई भल्भ बन्द गर्न तथा वासआउट खोल्न निर्देशन दिएको छु।
हाल उक्त क्षेत्रमा पानी आपूर्ति बन्द गरिएको छ। पाइप फुटेर पानी पसेपछि बबरमहल स्थित विशेष अदालत लगायतका सरकारी भवनहरू जलमग्न बनेको घटनाले मलाई गहिरो दुःख लागेको छ। सम्बन्धित निकायहरूले शीघ्र मर्मत कार्य गरी जनजीवन सुचारु गर्ने विश्वास दिलाउन चाहन्छु। धन्यवाद !”
काठमाडौँको बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि जिल्ला अदालत काठमाडौँ अगाडि सडक र वन परिसरभित्र रहेका सरकारी कार्यालयहरू डुबानमा परेका छन् । जलमग्न बबरमहल क्षेत्र अस्तव्यस्त बनेको छ भने विशेष अदालत र काठमाडौँ जिल्ला अदालतको पुरानो भवनको भुइँतला पानीले डुबाएको छ ।
बाढीका कारण विशेष अदालतको प्रशासनिक भवनको भुइँतलासमेत जलमग्न भएको छ ।
जलमग्न बनेको बबरमहल सडक भने भासिएको छ । बुधबार दिउँसो मेलम्चीको पाइप फुटेपछि जलमग्न भएको स्थानमा सडक भासिएको हो । सडक भासिएपछि उक्त क्षेत्रमा सवारी साधन आवतजावतमा रोक लगाइएको छ ।