काठमाडौँ / देशकै पुरानो वीर अस्पतालमा दुई सिफ्टमा अपरेसन सेवा सुरु भएको छ । बिरामीको बढिरहेको चापअनुसार सेवा दिन भन्दै अस्पतालले नाक, कान, घाँटी, दन्त, युरोलोजी तथा सामान्य अप्रेसन सेवा दुई सिफ्टमा सुरु गरेको हो ।
अस्पतालका निमित्त निर्देशक डा. समाज गौतमले धेरै बिरामीलाई सुविधा दिने हिसाबले अहिले केही सेवाहरूमा दुवै सिफ्टमा अपरेशन आरम्भ गरिएको बताए ।
यसअघि अस्पतालमा एक सिफ्टमा मात्र अपरेशन सेवा उपलब्ध भैरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबै संघीय अस्पताललाई दुवै सिफ्टमा ओपिडी सेवा आरम्भ गर्न भनेका थिए ।
सोहीअनुसार कार्ययोजना बनाएर अहिलेको सेवा आरम्भ गरिएको अस्पतालले जनाएको छ । वीरले ओपीडी र सार्वजनिक बिदामा सेवा दिँदै आए पनि दुवै सिफ्टमा अपरेशन बल्ल सुरु गरेको हो ।
अहिले बढी बिरामीको चाप भएका केही सेवा दुवै सिफ्टमा शुरु भएका छन्, उनले भने, विस्तारै बाँकी अरु सेवालाई पनि दुई सिफ्टमा लैजाने योजना छ । आन्तरिक जनशक्ति र श्रोतबाटै व्यवस्थापन गरेर सेवा आरम्भ गरिएको निमित्त निर्देशक गौतमले बताए ।
दुवै सिफ्टमा हुने अपरेशनका कारण यसअघि सेवा पाइरहेका भन्दा धेरै बिरामीले लाभ लिन सक्ने र उनले बताए । डा. गौतमले निमित्त निर्देशक भए लगत्तै एक साताभित्र यस्तो सेवा आरम्भ गर्ने घोषणा गरेका थिए ।