काठमाडौँ / सम्पत्ति शुद्धीकरण प्रणाली सम्बन्धी शङ्कास्पद कारोबारको सङ्ख्यामा बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले वित्तीय जानकारी इकाइको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै सम्पत्ति पछिल्ला बर्षहरूमा शङ्कास्पद कारोबार तथा गतिवधि प्रतिवेदनको सङ्ख्या बढिरहेको जानकारी दिएको हो ।
नियामक निकाय केन्द्रीय बैंकका अनुसार यस्तो प्रतिवेदनको सङ्ख्या २४ प्रतिशतले बढेर ७ हजार ३३८ पुगेको छ । आर्थिक बर्ष २०६९/८० मा यस्तो सङ्ख्या ५ हजार ९३५ रहेको थियो ।
गत आर्थिक बर्षमा ६ हजार १ सय ८१ शकांस्पद कारोबारको रिपोर्टिङ गरेका छन्। जसलाई राष्ट्र बैंकको वित्तीय जानकारी इकाईले मध्यम भनेको छ।
१० लाखभन्दा माथि कारोबारमा स्रोत खुलाउनुपर्ने व्यवस्था रहेको छ। अघिल्लो वर्ष वाणिज्य बैंकमा ५ हजार १ यस ८७ वटा रिपोर्टिङ १० लाखभन्दा माथिका स्रोत नखुलेका कारोबारको रहेको थियो।
यसरी प्राप्त गरिएका अधिकांश शङ्कास्पद कारोबार/गतिविधि प्रतिवेदनहरू कर छलीसम्बन्धी, मौद्रिक/बैंकिङ्ग/विदेशी
विनिमय/बिमा/सहकारी सम्बन्धी, ठगीसम्बन्धी, चिठ्ठा/जुवा/सट्टेबाजीलगायत सम्बद्ध कसुरसँग सम्बन्धित रहेको देखिएको छ ।
प्राप्त शङ्कास्पद कारोबार तथा गतिविधि प्रतिवेदनमध्ये गत वर्षभन्दा ३४ प्रतिशतले वृद्धि भई आ.व. २०८०/८१ मा जम्मा विश्लेषण भएको सङ्ख्या १ हजार ६३२ पुगेकोमा सोमध्ये ८८९ वटा प्रतिवेदन थप अनुसन्धानका लागि कानुन कार्यान्वयन गर्ने/अनुसन्धानकारी निकायमा तथा नियामकीय कारबाहीका लागि नियमनकारी निकायमा प्रवाह गरिएको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै वित्त कम्पनीहरूले २१७ वटा शङ्कास्पद कारोबार प्रतिवेदन पेश गरेको छ भने लघुवित्त संस्थाहरूले १२ वटा शङ्कास्पद कारोबार भएको उल्लेख गरेको छ ।
अघिल्लो बर्ष वित्त कम्पनीहरूको ४४ वटा र लघुवित्तहरूको २८ वटा थियो । जसका आधारमा वित्त कम्पनीको शङ्कास्पद कारोबार उच्च रूपमा बढेको छ भने लघुवित्तको घटेको छ ।
यस्तै, इन्स्योरेन्स कम्पनीले ६२ बिमा प्रिमियम शंकास्पद भएको रिपोर्टिङ एफआईयूमा गरेको छ। अघिल्लो वर्ष बिमा कम्पनीहरूको १९ कारोबार मात्रै शंकास्पद देखिएको थियो।
बिमा कम्पनीहरूले जीवन बिमातर्फको वार्षिक रूपमा १ लाखभन्दा बढीको प्रिमियम र निर्जीवन बिमातर्फ ३ लाखसम्मको प्रिमियम योजनामा सम्पत्ति शुद्धीकरण लाग्ने व्यवस्था छ।
यसैगरी, रेमिट्यान्स कम्पनीहरूको शङ्कास्पद कारोबार १२६ वटा रहेको भने धितोपत्रसम्बन्धी कम्पनीहरूको ५२ वटा छन् । सहकारी क्षेत्रमा गत वर्ष ८ कारोबार र क्यासिनोतर्फ १२ कारोबार शंकास्पद देखिएको छ।
यस्तै रियल स्टेटतर्फ ३० लाखमाथि र क्यासिनोमा १० लाखदेखि कारोबारमा सम्पत्ति शुद्धीकरण लाग्ने व्यवस्था रहेको छ। गत आर्थिक वर्ष भएका शंकास्पद कारोबारमध्ये ३ हजार ४ सय १७ सम्पत्ति शुद्धीकरण र २ हजार ४ सय ९८ करछलीका रहेका छन्।
यस्तै मुद्रा, बैंकिङ, वित्त, विदेशी विनियममा २ हजार १७, जालसाजीमा ९ सय २७, चिठ्ठामा ६ सय ८१, व्यापारमा ७० शंकास्पद कारोबार भेटिएको प्रतिवेदनमा उल्लेख छ। अघिल्लो वर्षको तुलनामा यस्ता शङ्कास्पद कारोबार उल्लेखीय रूपमा भेटिएको राष्ट्र बैंकले जनाएको छ।
वित्तीय जानकारी इकाईको ‘गोएमएल’ प्रणालीमार्फत गत आर्थिक वर्ष १६ लाख ६९ हजार ७ सय १२ कारोबार भएकोमा ९१.०५ कारोबार भएको उल्लेख गरिएको छ। सम्पूर्ण शंकास्पद कारोबारमध्ये ९९ प्रतिशत कारोबार पनि उक्त प्रणालीमार्फत नै प्राप्त भएको हो।
अघिल्लो वर्ष कुल कारोबारको ७६.५५ प्रतिशत कारोबार मात्रै राष्ट्र बैंकको प्रणालीमार्फत देखिएको थियो। उक्त आर्थिक वर्ष कुल ९५.०८ प्रतिशत शङ्कास्पद कारोबार प्रणालीबाट देखिएको थियो।
कुन कुन क्षेत्रमा छ शंकास्पद कारोबार ?
एफआईयू नेपालका अनुसार सम्पत्ति शुद्धिकरणसँग सम्बन्धित कारोबार सबैभन्दा बढी शङ्कास्पद रहेको छ । प्रतिवेदन अनुसार, सम्पत्ति शुद्धिकरणसँग सम्बन्धित ३ हजार ४१७ वटा घटना दर्ता भएका छन्, जुन सबैभन्दा बढी देखिएको अपराध हो।
प्रत्यक्ष र अप्रत्यक्ष कर लगायत कर सम्बन्धी २ हजार ४९८ वटा रिपोर्टहरू आएका छन्, जसले कर छलीमा उच्च बृद्धि भएको देखिन्छ ।
मुद्रा, बैंकिङ, विदेशी विनिमय, बीमा, सहकारीसँग सम्बन्धित २ हजार १७, ठगीसम्बन्धी ९२७, फर्म, साझेदारी, कम्पनीसँग सम्बन्धित ६८१ वटा कारोबार रहेका छन् ।
त्यस्तै, लोटरी, चिट्टा, सट्टेबाजी र दानसँग सम्बन्धित ४२८ वटा, व्यापारमा आधारित सम्पत्ति शुद्धीकरण ७० वटा, भ्रष्टाचार तथा घुससँग सम्बन्धित रिपोर्टिङ ५४ वटा, जालसाजीसँग सम्बन्धित ४४ वटा उजुरी परेका छन् ।
ढुवानी, शिक्षा, स्वास्थ्य, औषधी तथा वैदेशिक रोजगारसम्बद्ध ४०, व्यक्तिगत तथा संगठित रूपमा भएका मानव तस्करीसम्बन्धी २७, लागुऔषधसँग सम्बन्धित २७, नागरिकता, अध्यागमन र राहदानीसँग सम्बन्धित १९, नक्कली मुद्रामा १४, संगठित अपराध तथा ठगीमा १४, घरजग्गा तथा सम्पत्तिसँग सम्बन्धित १४, इन्साइडर ट्रेडिङसम्बन्धी ९, चोरीसँग सम्बन्धित ९ वटा रिपोर्टिङ भएका छन् ।
कपिराइटसँग सम्बन्धित ६ वटा, वयस्क तथा बालबालिकामाथि हुने यौन दुर्व्यवहारसँग सम्बन्धित ४, कालोबजारी, उपभोक्ता संरक्षण, प्रतिस्पर्धा र आपूर्तिसँग सम्बन्धित ४, हप्ता असुलीसँग सम्बन्धित ३, लागुऔषध ओसारपसारसँग सम्बन्धित ३ वटा, सञ्चार, प्रसारण तथा विज्ञापनसम्बन्धी २, चुनावसँग सम्बन्धित २, अपहरण, अवैध नियन्त्रणसँग सम्बन्धित २, आतंकवादसँग सम्बन्धित १ वटा, चोरी र अन्य सामानको ओसारपसार १ वटा रिपोर्टिङ प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ ।
यस वर्ष उच्च जोखिमयुक्त (एसटीआरउच्च) शंकास्पद कारोबारको संख्यामा १७.८७ प्रतिशतले कमी आएको छ भने मध्यम जोखिमयुक्त (एसटीआर–मध्यम) कारोबारको संख्या ३६ प्रतिशतले बढेको छ।
त्यस्तै, न्यून जोखिमयुक्त (एसटीआर–न्यून) कारोबारको संख्या १४.९३ प्रतिशतबाट बढेर १९.८१ प्रतिशत पुगेको छ।
विशेषगरी, व्यापारमा आधारित मुद्रा अपचलन (टीबीएमएल) सम्बन्धी शंकास्पद कारोबारको सङ्ख्या ९ बाट बढेर २२ पुगेको छ। यसका साथै, अन्य वर्गका शंकास्पद कारोबारहरुमा पनि वृद्धि देखिएको छ।
एफआईयू नेपालले जनाए अनुसार, आर्थिक वर्ष २०८०/८१ मा आर्थिक अपराधका घटनाहरुमा पनि बढोत्तरी भएको छ।
विशेषगरी, ठगी, साझेदारी फर्म, कम्पनी, संघ, लटरी, जुवा, दान, टीबीएमएल, भ्रष्टाचार, घुसखोरी, जालसाजी, यातायात, शिक्षा, स्वास्थ्य, औषधि, वैदेशिक रोजगारी जस्ता क्षेत्रहरुमा आर्थिक अपराधका घटनाहरु बढेका छन्।
तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/८१ मा शंकास्पद कारोबारको सङ्ख्या बढेको हो। एफआईयू नेपालले यस वर्ष ७४६ वटा विवरणहरू पर्याप्त प्रमाण र शंकाको आधार नभएको जनाएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा शंकास्पद कारोबार र आर्थिक अपराधका घटनाहरुमा भएको वृद्धिले नेपालको वित्तीय प्रणालीमा चुनौती थपेको एफआईयू नेपालले जनाएको छ।
एफआईयू नेपालले शंकास्पद कारोबारका विवरणहरूलाई विश्लेषण गरी विभिन्न आर्थिक अपराधहरू जस्तै मनी लाउन्डरिङ, आतंकवादी क्रियाकलापमा वित्तीय सहयोग र अन्य गैरकानुनी गतिविधिहरू पहिचान गर्ने कार्य गर्दछ।
प्रतिवेदनमा एफआईयू नेपालले वित्तीय प्रणालीमा देखिएका जोखिमहरूलाई न्यूनीकरण गर्न विभिन्न सरोकारवाला निकायहरूसँग सहकार्य गरिरहेको जनाएको छ ।