काठमाडौँ / साताको पाँचौँ कारोबार दिन बिहीबार पनि सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक थामिन सकेन । पहिलो कारोबार दिन आइतबारदेखि लगातार ओरालो लागेको नेप्से आज थप १२.८४ अङ्कले घटेको हो । साताको अन्तिम कारोबार दिनसम्म नेप्से परिसूचक घटेर २६६९.३१ बिन्दुमा आइपुगेको छ ।
नेप्से परिसूचक घटे पनि बुधबार कारोबार रकम बढेको थियो तर बिहीबार भने कारोबार रकममा समेत गिरावट आएको देखिन्छ ।
यसअघि ५ अर्ब १४ करोड ३९ लाख ९७ हजार रुपैयाँँको सेयर कारोबार भएकोमा आज भने ४ अर्ब ५६ करोड १३ लाख ११ हजार रुपैयाँको मात्रै कारोबार भएको छ ।
आज ६२ कम्पनीको मूल्य बढेको छ भने १७५ कम्पनीको घटेको छ । ७ कम्पनीको मूल्य भने स्थिर रह्यो । बुधबार ३१२ धितोपत्रको ९५ हजार ९९ हजार ३४३ कित्ता सेयर ५५ हजार ४७६ पटकमा खरिद बिक्री भए।
बजार पुँजीकरण रकम पनि घटेर आज ४४ खर्ब ३२ अर्ब २७ करोड रुपैयाँमा सीमित भएको छ । बिहीबार व्यापार बाहेक सेक्टरको परिसूचकमा पहिरो गएको छ । यस दिन व्यापार समूह ०.२६ प्रतिशतले बढ्दा सबैभन्दा बढी वित्त समूह १.२६ प्रतिशतले घट्यो ।
त्यस्तै, होटल तथा पर्यटन र बैंकिङ समूह ०.४८ प्रतिशत, विकास बैंक ०.१८ प्रतिशत, हाइड्रोपावर ०.६९ प्रतिशत, लगानी ०.२२ प्रतिशत, जीवन बिमा ०.०४ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.७० प्रतिशत, लघुवित्त ०.६६ प्रतिशत, म्युचुअल फण्ड ०.३९ प्रतिशत, निर्जीबन बिमा ०.८९ प्रतिशत र अन्य समूह ०.५९ प्रतिशतले घटेको छ ।
दोल्ती पावर कम्पनीको सेयर मूल्य सर्वाधिक बढी ६.९० प्रतिशत र एशियन हाइड्रोपावर ५.६० प्रतिशत र सिन्धु विकास बैंकको सेयर मूल्य ५.०४ प्रतिशतले बढेको छ ।
यसअघि उच्च अङ्कले बढेको मिथिला लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा बिहीबार भने नेगेटिभ सर्किट लाग्यो । मूल्य बढेपछि नाफा बुक गर्नेहरू सक्रिय हुँदा यो कम्पनीको सेयर मूल्य घटेर १७८२ रुपैयाँमा झरेको हो ।
यसैगरी, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा पनि नेगेटिभ सर्किट लागेर प्रतिकित्ता ८५३.२० रुपैयाँमा झरेको छ । गरिमा समृद्धि योजनाको इकाइ मूल्य पनि आज ८.३७ प्रतिशतले घटेको छ ।
बिहीबारको कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनीको हिस्सा बढी छ । कारोबार अवधिभर यो कम्पनीको २८ करोड २१ लाख २८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने हिमालयन पुनर्बिमा कम्पनीको २३ करोड १२ लाख ३६ हजार रुपैयाँ र सिन्धु विकास बैंकको १६ करोड ६४ लाख ७१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।