काठमाडौँ / पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले अहिले देशमा राजतन्त्र ल्याउने ठाउँ नभएको बताएका छन् । शनिबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै भट्टराईले राष्ट्रपति प्रणालीगत र शासकिय सुधार, निर्वाचन प्रणालीमा सुधारहरु गर्न सकिने तर राजा आउने कुरा भ्रम भएको बताएका हुन् ।
उनले भने “राजतन्त्र ल्याउने ठाउँ नै छैन । धेरै जनाले नबुझी राजतन्त्र आउँछ भन्छन् तर त्यो सम्भव छैन । राष्ट्रपति प्रणालीगत र शासकीय सुधार, निर्वाचन प्रणालीमा सुधारलगायत क्षेत्रमा काम गर्न सकिन्छ । त्यसैले राजा आउँछ भनेर भ्रममा नपरौँ ।”
साथै उनले अहिलेको सापेक्षतालाई हेर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमै जानु उपयुक्त हुने बताए । उनले एउटा कसैले चाहँदैमा राजा नआउने र राजा ल्याउनको लागि हरेका दलभित्र बहस हुनुपर्ने बताए ।
उनले भने “विभिन्न दल मिलेर संविधान बनाएको हो । त्यसैले राजा आउने र ल्याउने कुरामा बहस दलभित्रै हुनुपर्छ । दल भनेको त हतियार वा साधन हो नि । धर्म त परिवर्तन हुन्छ भने पार्टी परिवर्तन नहुने हो र ?” उनले अगाडि भने, “अहिलेको सापेक्षतामा आर्थिक, सामाजिक अवस्था, विविधता, जटिल भूराजनीतिक सबै अवस्थालाई हेर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा नै जानुपर्ने देखिन्छ ।”