काठमाडौँ / विगतमा गाउँ खाली गरेर काठमाडौँ आउनेहरूको ट्रेन्ड फेरिएर अहिले काठमाडौँ छाडेर युरोप, अस्ट्रेलिया, जापान, क्यानाडा, अमेरिका लगायत विश्वका विकसित र राम्रा भनिएका मुलुकमा जाने प्रवृत्ति बढ्दै गइरहेको छ ।
हाल मुलुकबाट राम्रो जीवनस्तर, उच्च तलब, उन्नत प्रविधिमा पहुँच र थप स्थिर राजनीतिक अवस्थाको खोजीमा नेपाली विद्यार्थीहरू बाहिरिने क्रम बढ्दै गइरहेको छ । मुलुकमा रोजगारी र भविष्यको सुनिश्चितताको सम्भावना नदेखेपछि युवाको एउटै मात्र सोच विदेश जाने र जे भए पनि काम गर्ने मनस्थितिमा पुगिसेकेको छ ।
विदेश गएर पढ्दै काम पनि गर्न पाइने हुनाले पैसा कमाउन पनि सकिन्छ । यसकारण पनि विद्यार्थी विदेश जान उत्साहित देखिन्छन् । यसैको परिणम स्वरुप चालु आर्थिक बर्ष २०८०/८१ को पहिलो महिना साउन मसान्तसम्ममा मात्रै वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३९ हजार १ सय ५२ कायम भएको छ । यस्तै, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १६ हजार ४ सय २३ कायम भएको छ ।
५ बर्षको अवधीमा बाहिरियो साढे २ खर्ब भन्दा बढि रकम
नेपालबाट ५ बर्षको अवधीमा २ खर्ब ६५ अर्ब २० करोड रकम बाहिरिएको छ । कोरोनापछि विदेश अध्ययनमा जाने नेपाली विद्यार्थीको संख्या बढेसँगै नेपालबाट पैसा बाहिरिने क्रम बढेको हो । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक बर्ष २०७९/८० मा मात्रै नेपाली विद्यार्थीहरुले १ खर्ब ४२ करोड रुपैयाँ विदेश लिएर गएका थिए । उक्त समयमा १ लाख १० हजार २ सय १७ जना विद्यार्थीले नो अब्जेक्सन सर्टिफिकेट अर्थात एनओसी लिएका थिए । आर्थिक बर्ष २०७८/७९ को तुतनामा यस्तो खर्च ४८.३३ प्रतिशतले बढेको हो । आर्थिक बर्ष २०७८/७९ मा यस्तो खर्च ६७ अर्ब ७० करोड रुपैयाँ रहेको केन्द्रीय बैंकको तथ्याङ्कले देखाउँछ ।
२०७६ को अन्त्यमा अर्थात कोरोना महामारी सुरु भएसँगै २०७७ र २०७८ मा नेपालबाट विदेशिने विद्यार्थीको संख्या अत्याधिक घटेको थियो । अन्तराष्ट्रिय सीमानाकाहरु बन्द भएसँगै नेपाल सरकारले पनि एनओसी वितरण पनि बन्द गरेको थियो । जसका कारण यी दुई बर्ष नेपालबाट विदेश जाने विद्यार्थीहरुको संख्यामा अत्याधिक गिरावट आएको थियो ।
शिक्षा मन्त्रालय अन्तर्गत वैदेशिक अध्ययन अनुमतिपत्र शाखाका अनुसार आर्थिक बर्ष २०७६/७७ र २०७७/७८ मा एनओसी लिने विद्यार्थीहरुको संख्या क्रमशः ३३ हजार ३७ र २९ हजार ४ सय ३२ थियो भने उक्त दुई बर्षमा शैक्षिक यात्रामार्फत क्रमशः २४ अर्ब ९५ करोड र २५ अर्ब ८१ करोड रुपैयाँ मात्रै बाहिरिएको थियो ।
कुन आर्थिक बर्षमा कति रकम बाहिरियो ?
आर्थिक बर्ष २०७९/८०– १ खर्ब ४२ करोड
आर्थिक बर्ष २०७८/७९– ६७ अर्ब ७० करोड
आर्थिक बर्ष २०७७/७८– २४ अर्ब ९५ करोड
आर्थिक बर्ष २०७६/७७– २५ अर्ब ८१ करोड
आर्थिक बर्ष २०७५/७६– ४६ अर्ब ३२ करोड
गत आर्थिक बर्ष २०७९/८० को कुन महिनामा कति रकम बाहिरियो ?
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यङ्क अनुसार गत आर्थिक बर्ष २०७९/८० को पहिलो महिना साउनमा शैक्षिक यात्रामार्फत ७ अर्ब १३ करोड रुपैयाँ बाहिरिएकोमा अन्तिम महिना असारमा ११ अर्ब २४ करोड रुपैयाँ बाहिरिएको छ ।
यता माघ महिनापश्चात शैक्षिक यात्रामार्फत रकम तीव्र रुपमा मुलुकबाट बाहिरिएको छ । गत आर्थिक बर्षको जेठ महिनामा शैक्षिक यात्रामार्फत सबैभन्दा धेरै रकम बाहिरिएको छ । जेठ महिनामा १४ अर्ब ४ करोड रुपैयाँ बाहिरिएको छ भने चैत महिनामा १२ अर्ब ४९ करोड रुपैयाँ बाहिरिएको तथ्याङ्क छ ।
कुन महिनामा कति ?
साउन– ७ अर्ब १३ करोड
भदौ– ५ अर्ब ६३ करोड
असोज– ५ अर्ब १३ करोड
कात्तिक– ४ अर्ब ७२ करोड
मंसिर– ६ अर्ब २० करोड
पुस– ६ अर्ब ५५ करोड
माघ– ८ अर्ब ३८ करोड
फागुन– १० अर्ब ९६ करोड
चैत– १२ अर्ब ४९ करोड
वैशाख– ७ अर्ब ९५ करोड
जेठ– १४ अर्ब ४ करोड
असार– ११ अर्ब २४ करोड
५ बर्षमा करिब साढे ३ लाखले लिए नो अब्जेक्सन सर्टिफिकेट
५ बर्षमा ३ लाख ४८ हजार ९ सय २० जनाले नो अब्जेक्सन सर्टिफिकेट अर्थात एनओसी लिएका छन् । विगतमा पढेलेखेकाहरू खाडी मुलुक र मलेसियामा गएर काम गर्ने गरेकामा अहिले १२ उत्तीर्ण हुने बित्तिकै नो अब्जेक्सन सर्टिफिकेट अर्थात एनओसी लिएर पीआर लिन र उत्तै बस्नका लागि विकसित मुलुक जानेको संख्या बढेको छ ।
विगतमा खाडी र मलेसिया जानेले रेमिट्यान्स पठाउने गरेकाले चिन्ता नभएकोमा अहिले विकसित मुलुकमा जाने प्रवृत्ति बढ्न गई उत्तै बस्ने भएकाले नेपालबाट जनसंख्यासँगै पुँजी पनि नफर्किने गरी बाहिरिएको छ । जस कारण ‘ब्रेन ड्रेन’को खतरा पनि बढ्दै गइरहेको छ । ‘ब्रेन ड्रेन’एक प्रकारको बसाइसराइ हो, जसले आर्थिक रूपमा पिछडिएको देशका दक्ष मानिसहरू राम्रो अवसरको खोजीमा विकसित देशहरूमा सर्ने गर्दछ । यो पनि बसाइसराइ कै आर्थिक परिणाम हो।
तथ्याङ्क अनुसार गत आर्थिक बर्षको अन्तयसम्ममा १ लाख १० हजार २ सय १७ जना विदेशमा अध्ययनका लागि अनुमति लिएका थिए । जसमा सबैभन्दा धेरै अष्ट्रेलियाका लागि ३३ हजार ९ सय ९१ जनाले नो अब्जेक्सन लेटर (एनओसी) लिएका थिए ।
यस्तै, जापानका लागि २१ हजार ६ सय ५८, क्यानडाका लागि २१ हजार ५ सय ४४, बेलायत १० हजार ५ सय २७, अमेरिका ३ हजार ९ सय ७०, दक्षिण कोरिया ३ हजार ४६, दुबई २ हजार ३ सय ८९, भारत २ हजार १ सय ९७, न्युजिल्याण्ड १ हजार ८ सय ५५, फ्रान्स १ हजार २ सय ८२, डेनमार्क १ हजार ८५, रसिया ९ सय ६६ रहेको तथ्याङ्कले देखाउँछ ।
नेपालबाट धेरैजसो विद्यार्थीहरुले अष्ट्रेलिया, बेलायत, क्यानडा, अमेरिकालगायतका देशमा अध्ययनका लागि एनओसी लिने गरेका छन् । पढ्न जाने देशको कलेज, विश्वविद्यालय वा शिक्षालयले अफर लेटर दिइसकेपछि कलेजको फि तिर्नका लागि लिइने एनओसीले नेपालबाट विदेश जाने विद्यार्थीले लैजाने पैसा देखाउँछ ।
कुन आर्थिक बर्षमा कतिले लिए एनओसी ?
आर्थिक बर्ष २०७५/०७६– ६३ हजार २५९
आर्थिक बर्ष २०७६/०७७– ३३ हजार ३७
आर्थिक बर्ष २०७७/०७८– २७ हजार ९७८
आर्थिक बर्ष २०७८/७९– १ लाख १४ हजार ४२९
आर्थिक बर्ष २०७९/८०– १ लाख १० हजार २१७
शिक्षामा एक खर्ब ९७ अर्ब बजेट विनियोजन
सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा शिक्षा क्षेत्रमा एक खर्ब ९७ अर्ब २९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यो कुल बजेटको ११.२६ प्रतिशत हो। गत आर्थिक बर्ष २०७९/८० मा शिक्षा क्षेत्रका लागि सरकारले एक खर्ब ९६ अर्ब ३३ करोड रपैयाँ बजेट विनियोजन गरेको थियो ।
देशकै ठूलो विश्वविद्यालयको बजेटभन्दा बढी रकम बाहिरिन्छ
गत आर्थिक बर्ष २०७९/८० मा त्रिभुवन विश्वविद्यालयले २४ अर्ब ८७ करोड ५७ लाख १४ हजार रुपैयाँको बजेट पारित गरेको थियो । त्योभन्दा ठूलो रकम वैदेशिक अध्ययनका नाममा बाहिरिएको तथ्याङ्क छ । राष्ट्र बैंकको रिपोर्टअनुसार आर्थिक बर्ष २०७९/८० मा विदेश अध्ययन गर्न जान नेपाली विद्यार्थीले १ खर्ब ४२ करोड रुपैयाँ खर्च गरेका छन् । उच्चशिक्षा अध्ययन गर्ने देशभरका विद्यार्थीको ८० प्रतिशत त्रिविमा अध्ययनरत छन् ।
यस्तो छ चालु आर्थिक बर्ष २०८०/८१ को साउन महिनाको वैदेशिक व्यापारको रिपोर्ट
चालु आर्थिक बर्षको साउन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्क हेर्ने हो भने आयात १.६ प्रतिशतले र निर्यात ८.७ प्रतिशतले घटेको छ । साउन मसान्तसम्ममा नेपालले कुल १ खर्ब २९ अर्ब २४ करोड बराबरको सामान आयात र १३ अर्ब ५३ करोड रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २८.७ प्रतिशतले कमी आएको थियो भने आयातमा १२.९ प्रतिशतले कमी आएको थियो ।
यता साउनमा कुल वस्तु व्यापार घाटा ०.७ प्रतिशतले कमी आई १ खर्ब १५ अर्ब ७१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १०.४ प्रतिशतले घटेको थियो । यस्तै, समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.५ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११.३ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १७ अर्ब ३० करोड रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३ अर्ब ३७ करोड रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको थियो ।
यस्तै, चालु आर्थिक वर्षको साउन महिनामा १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ विप्रेषण आप्रवाह अर्थात रेमिट्यान्स भित्रिएको छ । यो गत वर्षको तुलनामा २५.८ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको साउन मसान्तसम्ममा अवधिमा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २१.५ प्रतिशतले वृद्धि भई ८७ करोड ९८ लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १२.५ प्रतिशतले बढेको थियो ।
यता साउनमा विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक बर्ष २०७९/८० को असार मसान्तसम्ममा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबरको रहेको कुल विदेशी विनिमय सञ्चिति चालु आर्थिक बर्षको साउन मसान्तसम्ममा २.२ प्रतिशतले वृद्धि भएर १५ खर्ब ७३ अर्ब १२ करोड रुपैयाँ पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति ११ अर्ब ८५ करोड पुगेको छ । जुन अघिल्लो बर्षको तुलनामा १।२ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक बर्ष अमेरिकी डलरमा यस्तो सञ्चिति ११ अर्ब ७१ करोड रहेको थियो ।
-सञ्जिला श्रेष्ठ