images
images

बिहान क्याम्पस, दिउँसो अटोरिक्सा तर सवारी चालक अनुमतिपत्र पाउन सकस

बिहान क्याम्पस, दिउँसो अटोरिक्सा तर सवारी चालक अनुमतिपत्र पाउन सकस

आइतवार, असोज १४ २०८०
आइतवार, असोज १४ २०८०
  • बिहान क्याम्पस, दिउँसो अटोरिक्सा तर सवारी चालक अनुमतिपत्र पाउन सकस

    सुदूरपश्चिम / धनगढी उपमहानगरपालिका-५ का युवा धनराज जोशी बिहानको समयमा क्याम्पसको अध्ययन सकाएर दिउँसो विद्युतीय (अटो) रिक्सा चलाउँछन् । तीन वर्षदेखि रिक्सा चलाइरहेका उनले दिउँसोको समयमा घरमा त्यसै बस्नुभन्दा अटो चलाएर कमाइ गर्दा सन्तुष्टि मिलेको बताए ।

    images
    images
    images
    images

    ‘पढ्नका लागि बिहान कलेज गएर दिउँसो रिक्सा चलाएर कमाइ पनि गर्नैपर्‍यो’, कैलाली बहुमुखी क्याम्पस धनगढीमा स्नातक तहमा अध्ययनरत जोशीले भने, ‘रिक्सा चलाएर भएको आम्दानीले आफ्नो पढाइखर्चका साथै घरपरिवारलाई चाहिने खर्च जुटाउन सहज भएको छ ।’

    महिला रिक्सा चालक गौरी चौधरी अटो चलाएर भइरहेको आम्दानीले पैसाका लागि पहिलेको जस्तो कसैसँग हात थाप्नु नपरेको बताउँछिन् । महिलाले पुरुष सरहको काम गर्न सक्दैनन् भन्ने भनाइलाई चुनौती दिँदै कतिपय महिलाले पछिल्ला वर्षमा विद्युतीय रिक्सा चलाएर कमाइ गर्न थालेका छन् ।

    ‘रिक्सा चलाउन थालेपछि कसैसँग पैसाका लागि हात थाप्नु पर्दैन, दैनिक हुने कमाइले सन्तुष्टि नै छ’, उनले भनिन्, ‘घरको चुलोचौकामै सीमित हुनुभन्दा आम्दानी गर्न सिक्नु नै ठूलो उपलब्धि मानेर आफू यो काम गर्न थालेकी हुँ ।’

    धनगढी लगायतका सहरी क्षेत्रमा अटो रिक्साको व्यवसायप्रति आकर्षण बढ्दा यो व्यवसायले धेरै बेरोजगार पुरुष महिलालाई स्वरोजगारको अवसर दिएको छ । अटो रिक्सा चालक धनराजले भने, ‘लगनशील भएर कुनै पनि व्यवसाय गर्न सकिएमा आफ्नै देशमा कमाइ गर्ने अवसर धेरै छन्, विदेश गइरहनु पर्दैन ।’ अटो रिक्सा चालकहरुको दैनिक कमाइ कम्तीमा रु एक हजारदेखि दुई हजारसम्म हुने गरेको छ ।

    बजार क्षेत्रका सडकमा आवश्यकताभन्दा बढी अटो रिक्सा चल्दा भने योभन्दा बढी कमाइ हुन नसकिरहेको उनीहरुको भनाइ छ । सहर बजारमा आउने यात्रुको आवागमनका लागि विद्युतीय रिक्सा सहज सवारी साधनको रुपमा देखिएको छ ।

    सवारी अनुमतिपत्र पाउन सकस 

    अटो रिक्सा चलाउने सीप एवं दक्षता हुँदाहुँदै पनि सवारी चालक अनुमतिपत्र पाउन नसकेर समस्या झेल्नुपरेको अर्का चालक लालबहादुर कामी गुनासो गर्छन् । लिखित परीक्षामा बारम्बार नाम निकाल्न नसकेर उनले अनुमति पत्र नपाएका हुन् ।

    ‘रिक्सा चलाउन सुरु गरेको आठ वर्षमा सवारी चालक अनुमतिपत्रका लागि चार पटक लिखित परीक्षा दिएर पनि उत्तीर्ण हुनसकेको छैन’, उनले भने, ‘लिखित परीक्षामा जटिल प्रश्न आउँदा आफू सहितका समान्य लेखपढ गर्न जानेका मजदुर सधैँ फेल हुने गरेका छन् ।’

    चलाउन सक्ने सीप र दक्षता हुनेलाई लिखित परीक्षा नलिइ अनुमतिपत्रको व्यवस्था गरिदिनु पर्ने उनीहरुको माग छ । यातायात व्यवस्था ऐनमा सामान्य लेखपढ गरेको व्यक्ति सवारी चालक अनुमतिपत्रका लागि योग्य हुने व्यवस्था छ । सुरुका वर्षमा धनगढी उपमहानगरपालिकाले दर्ता गरेर विद्युतीय रिक्सा सञ्चालन गर्ने अनुमति दिने व्यवस्था रहेकामा पछिल्ला वर्षमा यो कामको जिम्मा यातायात व्यवस्था कार्यालयलाई दिइएको छ ।

    सवारी अनुमतिपत्रबिना अटो चलाउने कतिपय मजदुर बारम्बार ट्राफिक प्रहरीको जरिवानामा पर्ने गरेका छन् । कतिपय चालकसँग सामान्य लेखपढसम्मको योग्यता पनि छैन । अनुमतिपत्र नभए पनि जीवन निर्वाहकै लागि आफूहरूले ट्राफिक प्रहरीको आँखा छलेर अटोरिक्सा चलाउनुपर्ने बाध्यता रहेको उनीहरुको भनाइ छ ।

    यातायात व्यवस्था कार्यालय धनगढीका प्रमुख नरेन्द्र शाहले सवारी चालक अनुमति पत्रका लागि कानुन बमोजिम ट्र्याक्टर र पावरटिलर बाहेक अरु साधनका लागि लिखित परीक्षा सहभागी भएर उत्तीर्ण हुनैपर्ने बताए ।

    जिल्ला ट्रफिक प्रहरी कार्यालय कैलालीका प्रमुख दीपक मल्लले चालक अनुमतिपत्र नभएका मजदुरमाथि ट्राफिक नियमानुसार जरिवाना गर्ने गरिएको बताए । उनले भने, ‘नेपालमा विद्युतीय अटो रिक्सा भित्रिएको सुरुको अवस्थामा चालक अनुमतिपत्र लिनुपर्ने प्रावधान नहुँदा जसले चलाए पनि हुने गर्थ्यो , पछि ऐनमा अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरिँदा धेरैले अनुमतिपत्र लिए पनि कतिपयले अझैँ बनाउन सकेको देखिँदैन ।’ धनगढी उपमहानगर क्षेत्रमा झण्डै ७ हजार अटो रिक्सा सञ्चालनमा छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार