images
images

बर्सेनि ३० करोड रुपैयाँ बढीको फूल आयात, आत्मनिर्भर कहिले बन्ने ?

बर्सेनि ३० करोड रुपैयाँ बढीको फूल आयात, आत्मनिर्भर कहिले बन्ने ?

पुष्प र पुष्पजन्य वस्तुहरूको आयात बन्द गर्न माग !

बिहिवार, कार्तिक २३ २०८०
बिहिवार, कार्तिक २३ २०८०
  • बर्सेनि ३० करोड रुपैयाँ बढीको फूल आयात, आत्मनिर्भर कहिले बन्ने ?

    काठमाडौँ / नेपालमा उत्पादित फूलले ८० प्रतिशतसम्म मात्रै बजारको माग धान्न सक्ने पुष्प व्यवसायीहरू बताउँछन् । बाँकी २० प्रतिशत भने आयात गरिएको फूलमा भर पर्नुपर्दछ । यस बर्ष तिहारमा पनि २५ लाख सयपत्री फूलको माला आयात गरिदैँछ । 

    images
    images

    अहिलेको सरदर बजार मूल्यअनुसार हिसाब गर्ने हो भने २५ लाख फूलको मालाको मूल्य १२ करोड ५० लाख रुपैयाँ पर्दछ । गत आव २०७९/८० मा ३३ करोड ६ लाख ४८ हजारको फूल आयात भएको थियो । त्यस्तैगरी आव २०७८/७९ मा ३६ करोड ५३ लाख ५ हजार रुपैयाँ बराबरको फूल आयात  भएको थियो । 

    पछिल्लो ३ वर्षदेखिको तथ्याङ्क हेर्दा बार्षिक करिब ३० करोड रुपैयाँ बढीको फूल आयात भएको देखिन्छ । आयातको दर तिहारमा बढी हुन्छ । पुष्प व्यवसायी केन्द्र बागमती प्रदेशले फूल आयात नगर्ने निर्णय जारी गरे पनि सरकारको समन्वय फितलो हुँदा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले ठूलो मात्रामा फूल भित्र्याउन अनुमति दिएको छ । यसले सरकारी निकायबीच समन्वय हुन नसकेको त छँदैछ मुलुक अझै फूलमा आत्मनिर्भर हुन नसकेको स्पष्ट पार्दछ । 

    तिहार विशेषतः फूलहरूको पर्व हो । यसर्थ, अन्य समयमा भन्दा तिहारमा फूलको माग बढी हुनु स्वभाविक हो । यो समयमा माग ह्वात्तै बढ्ने भएकोले स्वदेशी उत्पादन पर्याप्त हुँदैन । भारतबाट सयपत्री फूलको माला आयात गर्न प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले कार्तिक १५ गते ९ वटा अनुमतिपत्र जारी गरेको थियो । 

    फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान)का अनुसार  आयात अनुमति पत्र जारी गर्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको पुष्प विकास केन्द्र र प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रबीच आवश्यक समन्वय नहुँदा फूल आयात नहुने निर्णय उल्टिएको हो । 

    यस बर्ष पुष्प विकास केन्द्रले नेपाली उत्पादनले माग धान्ने र अर्को निर्णय नभएसम्म आयातको सिफरिस नगर्ने भन्दै कार्तिक १ गते सूचना जारी गरेको थियो । उक्त सूचनाको विरुद्धमा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले फूल आयात गर्न अनुमति पत्र जारी गरेको एशोसिएनले जनाएको छ । 

    हाल देशभर २०० बिघाभन्दा बढी जग्गामा फूल खेती गरिएको एशोसिएसनका अध्यक्ष मिन बहादुर तमाङ्ग बताउँछन् । जसले ८० देखि ९० प्रतिशतसम्म बजारको माग धान्न सक्ने उनको भनाइ छ । विदेशबाट २० प्रतिशतभन्दा बढी फूल आयात भएमा स्वदेशी फूलले बजार नपाउने अध्यक्ष तामाङ्गको चिन्ता छ । उनी भन्छन्, “हालसम्म केन्द्रले आयातका लागि दिएको अनुमतिभन्दा बढी फूल आयात नभएमा स्वदेशी उत्पादनले बजार पाउन सक्छ ।” 
     
    सरकारले नेपाली उत्पादनलाई प्रोत्साहन गर्नकै लागि भए पनि पुष्प र पुष्पजन्य बस्तुहरूको आयातमा रोक लगाउनु पर्ने उनले बताए । सयपत्री फूल ३ महिनासम्म फुल्ने र माग भने तिहारमा तीन दिन मात्रै वृद्धि हुने भएकोले उत्पादन वृद्धि हुन नसकेको अध्यक्ष तामाङ्गको भनाइ छ । यद्यपि, पछिल्लो समय फूलको उत्पादन भने बढीरहेको उनले बताए । पछिल्लो समय फूल खेतीमा आकर्षण बढीरहेको हुँदा निकट भविष्यमा नै नेपाल फूलमा आत्मनिर्भर हुने उनको भनाइ छ । 

    अस्वभाविक रूपमा मूल्य वृद्धि नगर्न आग्रह

    तिहारमा बजारमा फूलको माग उच्च रूपमा बृद्धि हुने भएको कारण बिक्रेता तथा किसानले अस्वभाविक रूपमा मूल्य वृद्धि गर्ने गरेको उपभोक्ताको गुनासो छ । अन्य समयको भन्दा दोब्बर/तेब्बर मूल्य वृद्धि हुँदा उपभोक्ता समस्यामा पर्ने गरेका छन् । सो अवस्थालाई मध्यनजर गरी एशोसिएसनका अध्यक्ष तामाङ्गले आफ्नो लागत मूल्य उठ्ने गरी मात्रै फूलको मूल्य तोक्न आग्रह गर्छन् । अस्वभाविक रूपमा मूल्य वृद्धि गरेको पाइएमा कारवाही गरिने चेतावनीसमेत उनले दिए ।  

    “जनतालाई सहज हुने गरी फूलहरू बिक्री गर्न तथा अस्वभाविक रूपमा मूल्य बृद्धि नगर्न म किसानहरूलाई आग्रह गर्दछु । ठगी गरेको पाइएमा कारवाही गरिनेछ,” उनले भने । 

    किसानले लगाएका व्यवसायिक फूलहरू व्यवसायीहरूले खरिद गरेर बजारमा पुर्याउन सहयोग गर्ने अध्यक्ष तामाङ्गले बताए । अन्य फूल भने किसान आफैँले बजारसम्म पुर्याउनु पर्ने हुन्छ । उनका अनुसार व्यवसायिक फूल एउटै साइजको र टिपेको ४÷५ दिनसम्म ताजा नै रहन्छ । यो फूल गाउँघरतिर लगाउने अन्य फूलभन्दा साना साइजको हुने उनले बताए । 

    फूल किन्दा ध्यान दिनुपर्ने कुरा 

    स्वदेशी फूल सामान्य घाममा राख्दा बिग्रिदैनन् । बोटबाट टिपेर सिधैँ बजारमा ल्याइने भएको कारणले ४/५ दिनसम्म ताजा बस्न सक्छ । अध्यक्ष तामाङ्गका अनुसार भारतीय फूलमा भने केमिकलको प्रयोग गरिएको हुन्छ । जसको कारण यसले हाम्रो स्वास्थ्यमा असर गर्छ । त्यस्तै, कोलिस्टोरमा राखिएको माला हेर्दा ताजा भएपनि भित्र भित्रै कुहिएको हुने र एकैछिन घाममा राखे पनि कालो हुने उनले बताए । 

    उनका अनुसार भारतबाट आयात गरिएको माला बिहान बेलुकीको समयमा अर्थात घामबाट टाढा नै राखेर बिक्री वितरण गरिएको हुन्छ । यी मालाहरू एउटै साइजको हुन्छ र लगाउदा कपडामा दागसमेत लाग्छ । आयातित माला एउटै साइजको हुन्छ । स्वदेशी माला भने जुनसुकै समयमा पनि बजारमा उपलब्ध हुने अध्यक्ष तामाङ्गले बताए । 

    बर्सेनि ३० करोड रुपैयाँ भन्दा बढीको फूल आयात हुँदै

    सरकारी तथ्याङ्कअनुसार बर्सेनि ३० करोड रुपैयाँभन्दा बढीको फूल आयात हुँदै आएको छ । गत चार वर्ष (२०७५/७६ देखि २०७९/८०) सम्मको तथ्याङ्क हेर्ने हो भने विभिन्न मुलुकहरूबाट १ अर्ब ३२ करोड रुपैयाँको फूल आयात भएको देखिन्छ । एशोसिएसन तथ्याङ्कअनुसार आव २०७९/०८० मा ३३ करोड ६ लाख ४८ हजार फूल आयात भएको छ । 

    यस्तै, आव २०७८/०७९ मा ३६ करोड ५३ लाख ५ हजार रुपैयाँ बराबरको फूल आयात भएको छ भने आव २०७७/०७८ मा ४० करोड ७२ लाख ३४ हजार रुपैयाँको आयात भएको तथ्याङ्कमा उल्लेख छ । यस्तै, २०७६/०७७ मा २३ करोड ७७ लाख ३८ हजार रुपैयाँ फूल आयातको लागि बाहिरिएको छ ।

    3.JPG

    बढ्यो नेपाली फूलको कारोबार

    आव २०७९/८० मा ३ अर्ब ७ करोड रुपैयाँ फूलको कारोबार भएको एशोसिएसनको तथ्याङ्क छ । उक्त कारोबार आव २०७८/८९ भन्दा ७७ करोड रुपैयाँले बढी हो ।  कोरोना महामारीको त्रास कायमै रहेकाले आव २०७८/८९ मा २ अर्ब ३० करोड रुपैयाँको वार्षिक फूलको कारोबार भएको थियो । 

    अघिल्लो आर्थिक वर्षको भन्दा ३३.६३ प्रतिशतले बढेर आव २०७९/८० मा ३ अर्ब ७ करोड रुपैयाँको कारोबार भएको एशोसिएसनले जनाएको छ । यसर्थ, पछिल्लो समय पुष्प व्यवसायमा सुधार भएको देखिएको छ । बार्षिक २ अर्बभन्दा बढीको कारोबार हुँदै आएको पुष्प व्यवसाय कारोना काल अर्थात २०७७/७८ मा भने आधाले घटेर १ अर्बमा सीमित भएको थियो । उक्त समयमा कारोबार मात्र कम नभई लाखौँ रकमको फूल नष्ट भएको थियो ।

    कोरोनाअघि हरेक वर्ष यस व्यवसायले वार्षिक ३ अर्ब ३० करोड रूपैयाँसम्मको कारोबार गर्ने गरेको थियो । विगत ४ वर्षदेखि ठुलो नोक्सानीको सामना गरिरहेको यस व्यवसायले गत आवमा भने अनुमानित लक्ष्यभन्दा बढी कारोबार गरेको तथ्याङ्क छ ।

    तथ्याङ्क अनुसार वार्षिक रूपमा आलंकारिक बोटबिरुवाको कारोबार सबैभन्दा बढी भएको छ । गत बर्ष ९५ करोड रुपैयाँको आलंकारिक बोटबिरुवाको कारोबार भएको छ । 
    चार बर्षमा साढे २ करोडको फूल निर्यात ! 

    नेपालले फूल आयात मात्रै नभई निर्यात पनि गर्ने गरेको छ । आयातको तुलनामा भने निर्यात निकै कम देखिन्छ । तथ्याङ्कअनुसार ४ वर्षमा जम्मा २ करोड ७९ लाख रुपैयाँको फूलमात्र निर्यात भएको छ । आव २०७९/०८० मा ६८ लाख, आव २०७८/०८९ मा ९८ लाख, आव २०७७/०७८ मा ५३ लाख ८ हजार र आव २०७६/०७७ मा ६० लाख ५९ हजार रुपैयाँको मात्रै फूल निर्यात भएको तथ्याङ्क छ । जुन आयातको तुलनामा निकै कम हो ।

    2.JPG
     
    ४४ हजार पुष्प व्यवसायमा आश्रित 

    हाल प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ४४ हजार जनशक्ति पुष्प व्यवसायमा आश्रित छन् । जुन गत आव २०७८/०७९ को तुलनामा ४ हजार ९ सयले बढी हो । गत बर्ष यो संख्या ३९ हजार थियो । यस्तै, आव २०७५/७६ मा यो सङ्ख्या ४३ हजार ५ सय रहेको थियो । 

    त्यस्तै, हाल पुष्प खेती ४८ जिल्लामा विस्तारित छ । एशोसिएसनकाअनुसार २ सय २१ हेक्टर क्षेत्रफलमा पुष्प खेती भएको छ । आव २०७८/७९ मा १ सय ७८ हेक्टर क्षेत्रफलमा यो खेती गरिएको थियो । हाल पुष्प खेतीमा करिब १ हजार ११६ व्यवसायीहरू संलग्न छन् ।

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार