images
images

कफी संस्कृति बढेसँगै बढ्दैछ आयात, नेपालको उत्पादन कति ?

कफी संस्कृति बढेसँगै बढ्दैछ आयात, नेपालको उत्पादन कति ?

कफी विकास बोर्डको तथ्याङ्क अनुसार नेपालमा रोपण क्षेत्र बढ्दै गए पनि भने उत्पादन घट्दै गएको देखिन्छ ।

शुक्रवार, मंसिर १ २०८०
शुक्रवार, मंसिर १ २०८०
  • कफी संस्कृति बढेसँगै बढ्दैछ आयात, नेपालको  उत्पादन कति ?

    काठमाडौँ / पछिल्लो समय नेपालमा कफी संस्कृतिको रूपमा विकास हुँदै गइरहेको छ । एक दशक अघिसम्म कुलिन वर्गको मात्र पेय पदार्थको रूपमा लिइने कफी आज हरेक भान्साको शोभा बनिसकेको छ । विशेषगरी शहरी क्षेत्रमा बढ्दो कफी संस्कृतिले गर्दा कफीको आन्तरिक बजारमा पनि व्यापक वृद्धि भएको देखिन्छ ।
     
    मात्रात्मक रूपमा थोरै उत्पादन भए पनि नेपाली कफी स्वाद र गुणस्तरका हिसाबले विश्वका उत्कृष्ट कफीहरूसँग समतुल्य स्थान बनाउन सफल छ । स्पेसियालिटी कफीको रूपमा नाम कमाइसकेको नेपाली कफीको माग स्वदेश तथा विदेशमा उच्च रहेको छ ।

    नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा स्वाद र गुणस्तरको हिसाबले अन्य राष्ट्रको भन्दा बढी मूल्य प्राप्त गर्दै आएको छ । नेपाली कफी निर्यात हुँदा सरदर प्रतिकेजी १६ अमेरिकी डलर प्राप्त गर्दै आएको छ । 

    आ.व. २०७८/७९ को तथ्याङ्क अनुसार १२ करोड ७६ लाख बराबरको २७९.८ मे.टन कफी नेपालमा आयात हुँदा ११ करोड ७० लाख रुपैयाँ बराबरको ६९.५ मे.टन मात्रै कफी निर्यात भएको छ । भन्सार विभागको आ.व. २०७९/०८० को तथ्याङ्क अनुसार १३ करोड ४ लाख बराबरको ७७.८६ मे.टन कफी निर्यात हुँदा ३२ करोड ५८ लाख बराबरको ४५० मे. टन कफी आयात भएको थियो । 

    आ.व. २०७९/८० मा नेपालभर ३९४.४ मे.टन ग्रीन वीन कफी उत्पादन भएको छ भने कुल उत्पादनको झन्डै २० प्रतिशत कफी विदेश निर्यात भएको देखिन्छ । आयात मूल्यको तुलनामा झण्डै २–३ गुणा बढी मूल्यमा नेपाली कफी निर्यात हुँदै आएको छ । 

    दिनानुदिन कफी सेवनकर्ताहरूको माग बढ्नु र युवाहरूको प्राथमिकतामा परेको कफी क्याफे तथा आउटलेट स्थापनाले गर्दा कफीको माग बढ्दै गइरहेको हुनाले पनि आन्तरिक माग पूर्तिका लागि कफीको रोपण तथा उत्पादन वृद्धिमा सबैको ध्यान पुग्नु पर्ने देखिन्छ ।

    गत वर्षको कफी आयातको तथ्याङ्कले पनि तीव्र रूपमा मौलाउदो कफी संस्कृति तथा क्याफे व्यवसाय स्थापनाले कफीको माग उच्च वृद्धिले उल्लेखनीय रूपमा आयात बढ्दो रूपमा देखिन्छ । समग्र कफी क्षेत्रको प्रवर्द्धन र संरक्षण गर्दै कफी क्षेत्रमा युवा पुस्ताहरूलाई आकर्षण गरी सीमित क्षेत्रमा गरिदै आएको कफी खेतिलाई कफी स्टेटमा रूपान्तरण गर्न सकेमा मात्रै व्यवसायिक उत्पादन र आत्मनिर्भर बन्न सकिने तथ्यलाई बोर्डले प्रमुखताका साथ अगाडि बढाएको छ ।

    १९ औँ राष्ट्रिय कफी दिवस मनाइरहदा कफी क्षेत्रमा ब्यापक रूपान्तरणको लागि संरक्षण र प्रवर्द्धनका कार्यक्रमहरू मार्फत ठूला व्यवसायिक फार्महरू स्थापनाका लागि लगानीकर्ताहरू भित्राउन जरूरी देखिन्छ  । खासगरी कफी मूल्य शृङ्खलाहरूलाई दिगो रूपमा अगाडि बढाउन युवा तथा महिलाहरूको सहभागिता अझ सशक्त देखिन्छ ।

    मंसिर १ गते कफी दिवसको अवसरमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अध्यक्षसमेत रहेका कृषि तथा पशुपन्छी विकास मन्त्री डा.वेदुराम भुसालले जारी गरेको शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा उच्च माग रहेको नेपाली कफीको व्यवसायिक उत्पादनमा निजी क्षेत्रलाई थप लगानी गर्न आव्हान गरेका छन् । 

    उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “न्यून श्रोत साधनका बाबजुत व्यवसायिक कफी उत्पादन बढाउन बोर्डले प्रमुखताका साथ कार्यक्रमहरूको सुरुवात गरेको छ भने केही जिल्ला, प्रदेश र स्थानीय सरकारसँग पनि योजनाबद्ध समन्वयात्मक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ, जुन आगामी दिनमा अझ बढाएर लगिनेछ।”

    गत वर्षदेखि बोर्डले व्यवसायिक उत्पादनको लागि चक्लाबन्दीमा कफी क्षेत्र विस्तार र स्थानीय क्षेत्रभित्र व्यवसायिक नर्सरी बिरुवा उत्पादन कार्यक्रमलाई प्रमुखताका साथ अगाडि बढाएको छ ।

    खासगरी बोर्डले तिनै तहका सरकारको बिचमा एकीकृत कार्यक्रमको अवधारणा अगाडि बढाउदै उत्पादन केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्न स्थानीय सरकारलाई प्राविधिक सहयोग उपलब्ध गराउने, व्यवसायिक फार्महरू विस्तार, साना तथा मझौला प्रसोधन उद्योग स्थापना तथा प्रवद्धन कार्यहरूमा प्रदेश सरकारबाट कार्यक्रमहरू सञ्चालन गर्ने र ठुला प्रसोधन उद्योग स्थापना, गुणस्तर व्यवस्थापन, बजारीकरण तथा नीतिगत कार्यहरूमा बोर्ड स्वयम् तथा संघीय सरकारको भूमिका रहने गरि समन्वयात्मक कार्यक्रमहरू अगाडि बढाउन जोड दिदै आएको उनको भनाइ छ ।

    नेपालमा कफी उत्पादन गर्ने कृषकहरूले पनि अन्य बालीहरू भन्दा प्रत्येक वर्ष उत्कृष्ट मूल्य प्राप्त गर्दै आएको बोर्डले जनाएको छ ।

    कृषि तथा पशुपन्छी मन्त्रालयले बोर्डसँगको समन्वयमा कफीको उत्पादन वृद्धिका लागि धेरै स्थानीय पालिकाहरूमा बजेट विनियोजन गरेको जसले गर्दा पनि स्थानीय सरकारलाई कफीको व्यवसायिक उत्पादन वृद्धिका कार्यक्रमहरू सञ्चालन गर्न प्रेरित गरेको मन्त्रायले जनाएको छ । 

    कफी उत्पादनलाई बजारसँग जोड्नको लागि कफी व्यवसायलाई थप व्यवस्थित र मर्यादित बनाउन बोर्डले सरकारी तथा निजि क्षेत्रसँग समन्वय गरि नीतिगत सुधार, क्षमता अभिवृद्धि लगायतका कार्यक्रमहरू सञ्चालन गरिरहेको मन्त्री भुसालले बताए ।

    कफीको न्यूनतम सहमत मूल्य निर्धारण 

    सरकारले मंसिर १ गतेदेखि लागु हुने गरी यस वर्षको कच्चा कफीको मूल्य निम्नानुसार तोकेको छ:- 

    फ्रेस चेरी कफी : ग्रेड ‘ए’ फ्रेस चेरी कफीको मूल्य प्रतिकेजी १ सय रुपैयाँ तोकिएको छ ।  ८०० मिटरभन्दा माथि, प्राङ्गारिक पद्धति अपनाएर उत्पादन गरिएको, ठिक्क पाकेको, पानीमा राख्दा डुब्ने, केलाएर छानिएको चेरीलाई ग्रेड ‘ए’ मानिने बोर्डले जनाएको छ ।

    ग्रेड ‘बि’ अन्तर्गत पर्ने फ्रेस चेरी कफीको मूल्य प्रतिकेजी ९० रुपैयाँ रहेको छ । ग्रेड ‘ए’ मा नपरेका अन्य कफीलाई ग्रेड ‘बि’  मानिनेछ । 

    पार्चमेन्ट कफी : ग्रेड ‘ए’ अन्तर्गत पर्ने पार्चमेन्ट कफीको मूल्य प्रतिकेजी ५०० रुपैयाँ रहेको छ । बोर्डका अनुसार ग्रेड ‘ए’ गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको, पानीमा राख्दा डुब्ने, ११५ चिस्यान भएको कफी पार्चमेन्टलाई ग्रेड ‘ए’ मानिनेछ । त्यस्तै, ग्रेड ‘बि’ अन्तर्गत पार्चमेन्ट कफीको मूल्य प्रतिकेजी ४५० रुपैयाँ तोकिएको छ । ग्रेड ‘बि’ गुणस्तरको कफीबाट उत्पादन भएको पार्चमेन्टलाई ग्रेड ‘बि’ मानिनेछ ।

    ड्राइ चेरी कफी : ग्रेड ‘ए’ समूहको ड्राइ चेरी कफीको मूल्य प्रतिकेजी २०० रुपैयाँ कायम भएको छ । ग्रेड ‘ए’ गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको ड्राइ चेरीलाई ग्रेड ‘ए’ मानिने बोर्डले जनाएको छ ।  ग्रेड बि अन्तर्गत पर्ने ड्राइ चेरी कफीको मूल्य प्रतिकेजी १५० रुपैयाँ रहेको छ । ग्रेड ‘बि’ गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको ड्राइ चेरीलाई ग्रेड ‘बि’ मानिनेछ।

    396602622_389182146773319_6428616173767835451_n.jpg

    ९ बर्षमा ३० करोडबढीले बढ्यो कफीको आयात, निर्यातमा छैन उत्साह 

    नेपाली बजारमा कफीको माग बढेसँगै कफि आयात पनि बढीरहेको छ। आर्थिक बर्ष २०७१/०७२ मा नेपालबाट ९ करोड ९९१ लाख ७६ हजार रुपैयाँ बराबरको कफी निर्यात भएको थियो भने आयात २ करोड ४९ लाख ९१ हजार रुपैयाँको मात्रै भएको देखिन्छ । 

    त्यस्तै, आ.व. २०७२/०७३ मा पनि कफी आयातको तुलनामा निर्यात बढी भएको भन्सार विभागको तथ्याङ्क छ । उक्त समयमा १० करोड ७९ लाख १ हजार रुपैयाँको कफी निर्यात भएको थियो भने ५ करोड ५५ लाख ४१ हजार रुपैयाँको मात्रै कफी आयात भएको थियो । 

    आव २०७३/०७४ मा नेपालले ८ करोड ४५ लाख ३८ हजारको कफी निर्यात गरी ५ करोड ४ लाख २ हजार रुपैयाँ बराबरको आयात गरेको थियो । आव २०७४/०७५ र २०७५/०७६ मा पनि नेपालले आयातभन्दा बढी कफी निर्यात गरेको देखिन्छ । आव २०७६/०७७ देखि भने निर्यातको तुलनामा आयात वृद्धि भएको देखिन्छ । सो अवधिमा नेपालले कफी बेचेर कमाएको भन्दा किन्दा धेरै रकम बाहिरिएको छ । 

    369190361_1522131585026281_4047937331391795839_n.jpg

    विभागको तथ्याङ्क अनुसार आव २०७६/०७७ मा नेपालले ५ करोड ७७ लाख २८ हजार रुपैयाँ बराबरको कफी निर्यात गर्दा ११ करोड ८८ लाख ४९ हजार रुपैयाँ बढीको आयात गरेको छ । त्यस्तै, आव २०७७/०७८ मा ९ करोड ६० लाख ३ हजार बराबरको निर्यात र १० करोड ६७ लाख २१ हजार रुपैयाँ बराबरको कफी आयात भएको देखिन्छ । 

    आव २०७८/०७९ मा नेपालबाट ११ करोड ७० लाख ८५ हजार रुपैयाँ बरबरको कफी निर्यात भएको छ भने १२ करोड ७५ लाख ९० हजार रुपैयाँको आयात भएको छ । गत आव २०७९/०८० मा भने हालसम्मकै बढी कफी निर्यात तथा आयात भएको विभागको तथ्याङ्क छ ।

    गत बर्ष १३ करोड ४ लाख ४१ हजार रुपैयाँको कफी नेपालबाट निर्यात भएको छ भने ३२ करोड ५८ लाख ६६ हजारको कफी आयात भएको छ । यो निर्यातको तुलनामा १५० प्रतिशतले बढी हो । 

    कफि रोपण क्षेत्र बढ्दै तर उत्पादन घट्दै 

    राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्याङ्क अनुसार नेपालमा कफी रोपण क्षेत्र बढ्दै गएको देखिन्छ भने उत्पादन घट्दै गएको देखिन्छ । आव २०७१/०७२ मा २ हजार ३ सय ८१ हेक्टर जमिनबाट ४ सय ६३ मेट्रिक टन कफी उत्पादन हुन्थ्यो भने गत आव २०७९/८० मा ३ हजार ६ सय ५५ हेक्टरबाट ३ सय ९४ मेट्रिक टन मात्रै कफी उत्पादन भएको छ ।

    376554859_869228134731871_6252312006108668847_n.jpg

    यस अवधिमा भने सबैभन्दा बढी कफि उत्पादन आव २०७५/०७६ मा भएको देखिन्छ । उक्त समयमा २ हजार ७६१ हेक्टरमा लगाइएको कफीबाट ५ सय ३० मेट्रिक टन उत्पादन भएको बोर्डको तथ्याङ्क छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार