images
Logo
images
images
images

सिजन कै समयमा किन घट्यो सुन आयात ?

सिजन कै समयमा किन घट्यो सुन आयात ?

सुनको भाउमा भएको बृद्धि, आर्थिक मन्दी, एरपोर्टमा भएको कडाईलगायतका कारणले मागको कमी हुदाँ सुनको आयात घट्यो ।

आइतवार, मंसिर १० २०८०
आइतवार, मंसिर १० २०८०
  • images
    images
    सिजन कै समयमा किन घट्यो सुन आयात ?

    काठमाडौँ / अहिले सुनको सिजन चलिरहेको छ । हरितालिका तीज पर्ने भदौ महिनादेखि लगनको अवधिभरलाई व्यवसायीहरू सुनको सिजन मान्ने गर्छन् । खासगरी तीज, दसैँतिहार, तीज, विवाहको मौसममा सुनको कारोबार बढी हुने गरेको व्यवसायी बताउँछन् । यस सिजनमा सुनको माग बढ्ने गर्दछ ।

    images
    images

    वैशाख महिनासम्म बिहेको समय भएकाले यस समयमा दैनिक २०–२५ किलोग्रामसम्म सुन बिक्री हुने व्यवसायीहरू बताउँछन् । तर, माग बढ्ने समयमा नै सुन आयातमा कमि आएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । 

    विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा १ हजार केजी ५०० ग्राम सुन आयात भएको छ । यो गत आर्थिक बर्ष २०७९/८० को चार महिनाको तुलनामा ३ सय ८३.४५४ केजी कम आयात भएको हो ।

    विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि कात्तिकसम्म ८ अर्ब २० करोड ८१ लाख ७० हजार रुपैयाँ बराबरको १ हजार केजी ५०० ग्राम सुन विभिन्न मुलुकबाट नेपाल भित्रिएको हो । गत आर्थिक बर्षको चार महिनासम्ममा ७ अर्ब ९५ करोड १८ लाख ७१ हजार रुपैयाँ बराबरको एक हजार १ सय १६.५४६ किलो सुन नेपाल भित्रिएको थियो । 

    उक्त सुन आयातबाट चालु आ.व.को चार महिनामा १ अर्ब २३ करोड १२ लाख ३७ हजार रुपैयाँ राजस्व सङ्कलन भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । गत बर्ष नेपालमा बैङ्किङ प्रणालीबाट यूएई, स्विट्जरल्यान्ड, टर्की र उज्वेकिस्तानबाट सुन आयात भएकोमा यस बर्ष भने यूएईबाट मात्रै आयात भएको छ । 

    विभागको तथ्याङ्कअनुसार चालु आ.व.को कात्तिकमा १०० केजी सुन मात्रै आयात भएको छ । चालु आर्थिक बर्षमा चार महिनामा सुन आयात भएको तथ्याङ्क हेर्ने हो भने कार्तिक महिनामा सुन आयात खुम्चिएको देखिन्छ ।

    गएको ३ महिनामा ९०० केजी ५०० ग्राम सुन आयात भएको थियो । नेपालमा पछिल्लो समय दिनको २० केजी सुन आयात गर्न पाउने व्यवस्था छ । 

    कार्तिक महिना ३० दिनको छ । यस हिसाबमा कार्तिक महिना अवधिभर ६०० केजीसम्म सुन ल्याउन पाइन्छ । तर, पनि कात्तिक महिनामा आयात गर्न पाउने भन्दा ५०० केजी कम सुन आयात भएको छ ।

    किन घट्योे आयात ?

    सुनको आयात कम हुनुमा खपत घट्नु रहेको बताइएको छ । आर्थिक मन्दी, विदेशबाट नेपाल आउने नेपालीले साथमा ल्याएको सुनमा भन्सार विभागले गरेको कडाईको कारणले गर्दा कारोबार कम भएको नेपाल सुनचाँदी ब्यवसायी महासङ्घका अध्यक्ष माणिक रत्न शाक्य बताउछन् ।

    “अहिलो बजारमा सुनको मूल्य गत बर्षको तुलनामा प्रतितोला ३७ हजार रुपैयाँसम्म बढेको छ ।” अध्यक्ष शाक्यले भने, “सुनको भाउमा भएको बृद्धि, आर्थिक मन्दी, एरपोर्टमा भएको कडाईलगायतका कारणले मागको कमी हुदाँ सुनको आयात घटेको हो ।” 

    सुनको भाउ लगातार बढ्दै गएको कारण पनि सिजनकै समयमा सुनको माग घटेको उनले बताए । २०७५/७६ मा प्रति तोला सुनको मूल्य ६० हजार रुपैयाँको हाराहारीमा रहेको थियो । अहिले सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ९ सय रुपैयाँ छ ।

    गत साउन ३ गते त्रिभुवन विभानस्थल हुँदै हङकङबाट ब्रेक प्याडमा लुकाएर रेडी ट्रेड्सले ल्याएको ६० किलो सुन समातिएको थियो । यस घटनाले उक्त कम्पनीले यसअघि पनि कयौँ पटक यसरी गैरकानुनी रूपमा सुन ल्याउने गरको रहस्य खोलेको थियो । 

    उक्त घटनाको अनुसन्धान गर्दै जाँदा सुन पगाल्ने फ्याक्ट्रीसम्मको तथ्य सार्वजनिक भइसकेको छ । त्यस्तै, चीनबाट भेप (विद्युतीय सिगरेट)मा लुकाएर सुन ल्याउने गरेको तथ्यको कारण विदेशमा काम गर्ने नेपालीहरूले आफ्नै सुन ल्याउन पनि महँगो भन्सार शुल्क तिर्नु परेको अवस्था छ । आर्थिक मन्दीका कारण बजारमा चहलपहल घटेको र आएको सुनले माग धानेको अध्यक्ष शाक्यले बताए । 

    “सुन आर्थिक गतिविधि नै सुस्त भएकाले अहिलेसम्म बजारको माग धानिरहेको अवस्था छ,” उनी भन्छन्, “मंसिर महिना विवाहको सिजनका कारण पहिलेभन्दा अहिले माग बढ्दै गएको र  विस्तारै आयातमा पनि बढोत्तरी हुने अनुमान छ ।” 

    सुन महँगो भए पनि त्यसले मागलाई दीर्घकालीन असर नपार्ने उनको भनाइ छ । सुन महँगो हुँदा पनि त्यसको महत्व झनै बढ्ने गरेको व्यवसायीहरूको भनाइ छ । 

    चालु आवको कुन महिनामा कति सुन भित्रियो ? 

    साउन– २०० केजी
    भदौ– ३०० केजी
    असोज– ४०० केजी ५०० ग्राम
    कार्तिक– १०० केजी

    साढे ११ करोडको चाँदी आयात 

    चालु आर्थिक बर्षको चार महिनामा साढे ११ करोड रुपैयाँ बराबरको चाँदी नेपालमा आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चार महिनामा ११ करोड ४८ लाख ३६ हजार रुपैयाँ बराबरको १ हजार १ सय ८५ किलो चाँदी आयात भएको हो । 

    कात्तिकसम्ममा हंगकंग, युएई र भारतबाट नेपालमा चाँदी आयात भएको हो । चार महिनामा हंगकंगबाट ५ करोड ९५ लाख ५३ हजार रुपैयाँ बराबरको ६ सय किलो, भारतबाट २ लाख ९ हजार रुपैयाँ बराबरको १५ किलो र युएईबाट ५ करोड ५० लाख ९५ हजार रुपैयाँ बराबरको ५ सय ७० किलो चाँदी नेपालमा आयात भएको छ । 

    एक वर्षमा ३२ हजारले बढ्यो सुनको मूल्य

    विगत ३६५ दिनमा अर्थात एक बर्षमा सुनको मूल्य प्रतितोला ३२ हजार ४५० रुपैयाँले बढेको छ । गत वर्ष मंसिरमा नेपाली बजारमा प्रतितोला ८३ हजार ८५० रुपैयाँमा कारोबार भएको सुन यो मंसिरमा प्रतितोला एक लाख १६ हजार ९ सय रुपैयाँसम्ममा कारोबार हुने भएको छ । 

    चालू आर्थिक वर्षको पहिलो महिना साउनमा नेपाली बजारमा छापावाला सुन प्रतितोला ९५ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, कात्तिक १२ गते यसअघिका सबै र्कितीमान भंग गर्दै सुनको मूल्य प्रतितोला एक लाख १७ हजार रुपैयाँ पुग्यो । त्यसपछि सुनको मूल्य निरन्तर बढ्ने र घट्ने क्रम चल्दै आज मंसिर १० गते आइतबार एक लाख १६ हजार ९ सय रुपैयाँ पुगेको छ ।

    पाँच वर्षमा मूल्य दोब्बर ! 

    सुनको मूल्य पाँच वर्षमा दोब्बरले बढेको छ । २०७५ मंसिर १० मा सुनको मूल्य प्रतितोला ५७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आजको दिनमा सुनको मूल्य १ लाख १६ हजार ९०० रुपैयाँमा कारोबार भएरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

    यो ५ वर्षमा सुनको मूल्यमा उतारचढाव आए पनि पछिल्लो केही महिनादेखि सुनको मूल्य लाखमाथि रहँदै आएको छ । २०७९ पुस १ गते प्रतितोला ९९ हजार ९०० मा कारोबार भएको सुन त्यसयता तोलाको लाखमाथि नै छ । 

    सुनको मूल्य कात्तिक १२ गते अहिलेसम्मकै सर्वाधिक तोकिएको छ । उक्त दिन सुन तोलाको १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, यस अघि साउन ४ गते अहिलेसम्मकै सर्वाधिक मूल्यमा कारोबार भएको थियो ।  उक्त दिन सुन तोलाको १ लाख १३  हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य अझै बढ्ने व्यवसायी बताउँछन् ।

    गत बर्ष सुन आयातका लागि बाहिरियो ४३ अर्ब ८९ करोड ! 

    गत आर्थिक बर्ष २०७९/८० मा विभिन्न मुलुकबाट ३ हजार ५०७.८८४ किलो सुन आयात भएको छ । विभागको तथ्याङ्क अनुसार ३ हजार ५०७ किलो सुन आयातमा ४३ अर्ब ८९ करोड ९८ लाख  ९१ हजार रुपैयाँ बाहिरिएको जनाएको छ । जसबाट सरकारलाई ३ अर्ब १२ करोड ९९ लाख ६२ हजार रुपैयाँ राजस्व संकलन भएको समेत विभागले जनाएको छ । यस्तै, अघिल्लो आर्थिक बर्ष २०७८/७९ को सोहि अवधीसम्ममा ५ हजार ५ सय २४ किलो सुन नेपाल भित्रिएको थियो । 

    यस्तै, २०७७/७८ मा २७ अर्ब ३४ करोड सुन आयात भएको थियो । यस्तै आर्थिक वर्ष २०७६/७७ मा भने १३ अर्ब रुपैयाँको मात्रै सुन आयात भएको थियो । आर्थिक वर्ष २०७५/७६ मा ३४ अर्ब ६१ करोड रुपैयाँ बराबरको सुन आयात भएको थियो । आर्थिक वर्ष २०७४/७५ मा ३१ अर्ब ७४ करोड रुपैयाँको सुन आयात भएको थियो । आर्थिक वर्ष २०७३/७४ मा २३ अर्ब २३ करोड रुपैयाँको सुन आयात भएको थियो भने आर्थिक वर्ष २०७२/७३ मा साढे १५ अर्ब रुपैयाँ बराबरको सुन आयात भएको थियो ।

    सुन आयातको सीमा बढाउदा पनि उत्साही छैनन् व्यवसायी 

    नेपाल राष्ट्र बैङ्कले दैनिक सुन आयात गर्न पाउने परिमाणको सीमा बढाए पनि व्यवसायीहरू भने उत्साही भएका छैनन् । बजारमा माग नभएपछि आयातको सीमा बढाउनुको औचित्य नभएको व्यवसायीहरूको भनाइ छ । दैनिक १० किलो मात्रै सुन आयात गर्न दिइरहेको केन्द्रीय बैङ्कले हाल २० किलोसम्म सुन ल्याउन दिने भएको हो । 

    राष्ट्र बैङ्कले केहिसमय अघि मात्रै परिपत्र जारी गर्दै आयातको सीमा बढाउने निर्णय कार्यान्वयनमा ल्याएको हो । तर, बजारमा माग कमजोर भएको समयमा सुन आयातको सीमा बढाउनुको कुनै अर्थ नभएको व्यवसायीहरूको भनाइ छ । अहिले १० किलोको कोटामा पनि सुनको माग बढ्न नसकेको व्यवसायीहरू बताउँछन् । 

    सरकारले विगतमा विदेशी मुद्रा सञ्चिति घटेको समयमा सुन आयातमा कडाइ गर्दै दैनिक १० किलोको सीमा लगाएको थियो तर अहिले विदेशी मुद्राको सञ्चिति बढेसँगै राष्ट्र बैङ्कले सीमा बढाएको हो । सुन आयात परिणाको सीमा बढाए पनि सरकारले एउटा महिनामा सुन आयात नभएको सट्टा अर्को महिनामा आयात गर्न नपाइने प्रावधान उल्लेख गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार