images
images

वैदेशिक व्यापार : ४ महिनामा ५० अर्बको निर्यात हुँदा ५१२ अर्बको आयात, व्यापार घाटा कति ?

वैदेशिक व्यापार : ४ महिनामा ५० अर्बको निर्यात हुँदा ५१२ अर्बको आयात, व्यापार घाटा कति ?

बिहिवार, मंसिर २८ २०८०
बिहिवार, मंसिर २८ २०८०
  • वैदेशिक व्यापार : ४ महिनामा ५० अर्बको निर्यात हुँदा ५१२ अर्बको आयात, व्यापार घाटा कति ?

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८१ को चार महिनामा आयात–निर्यात दुवै घटेको छ । 

    images
    images

    नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिको तथ्यांकअनुसार चार महिनामा कुल वस्तु निर्यात ७.७ प्रतिशतले घटेको छ । ४ महिनाको अवधिमा ५० अर्ब ५७ करोड बराबरको आयात भएको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३३.३ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात १४.५ प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ३०७.९ प्रतिशत र ४.७ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । 

    वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, पोलिस्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ । यस्तै पाम तेल, सोयाविन तेल, चिया, ऊनी गलैचा, रोजिन लगायतका वस्तुको निर्यात घटेको छ ।

    यस्तै आर्थिक वर्ष २०८०/८१ को चार महिनामा कुल वस्तु आयात ३.८ प्रतिशतले कमी आएको छ । तर, निर्यात भन्दा आयात निकै धेरै अर्थात ५१२ अर्ब ५० करोड रुपैयाँ रहेको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १८.१ प्रतिशतले कमी आएको थियो । 

    वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः २.५ प्रतिशत र २७.७ प्रतिशतले घटेको छ । यस्तै चीनबाट भएको आयात ३४.४ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा तयारी पोशाक, एम।एस। तार, छड, बार तथा क्वाइल, विद्युत्तीय उपकरण, लत्ताकपडा, हवाईजहाजका स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ । यस्तै कच्चा सोयाविन तेल, सुन, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, एम.एस.विलेट लगायतका वस्तुको आयात घटेको छ ।

    निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, रसुवा, तातोपानी तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको बैंकले जनाएको छ । आयाततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

    बैंकका अनुसार चार महिनामा कुल वस्तु व्यापार घाटा ३.३ प्रतिशतले कमी आई ४६१ अर्ब ९४ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.३ प्रतिशत रहेको थियो ।

    समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ५३ अर्ब ८४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४२ अर्ब ६९ करोड रुपैयाँ बराबरको भएको थियो ।

    वैदेशिक व्यापारको संरचना

    वृहत्त आर्थिक वर्गीकरण अनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५५.६ प्रतिशत र ४४.१ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगन्य अर्थात् ०.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५४.६ प्रतिशत, ०.०२ प्रतिशत र ४५.४ प्रतिशत रहेको थियो ।

    समीक्षा अवधिमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ४९.२ प्रतिशत, पुँजीगत वस्तुको ८.८ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ४२.१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५३.० प्रतिशत, ८.३ प्रतिशत र ३८.७ प्रतिशत रहेका थिए ।

    निर्यात–आयात मूल्य सूचकाङ्क

    वार्षिक विन्दुगत आधारमा २०८० कात्तिक महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क ४.० प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क ३.५ प्रतिशतले घटेको छ । २०८० कात्तिक महिनामा व्यापारको शर्त ७.७ प्रतिशतले बढेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार