images
images

भारतीय विदेशमन्त्रीको उपस्थितिमा भोलि दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर हुने

भारतीय विदेशमन्त्रीको उपस्थितिमा भोलि दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर हुने

बुधवार, पुस १८ २०८०
बुधवार, पुस १८ २०८०
  • images
    images
    भारतीय विदेशमन्त्रीको उपस्थितिमा भोलि दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर हुने

    काठमाडौँ / नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर हुने भएको छ । 

    images
    images

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय स्रोतका अनुसार भोलि पुस १९ गते बिहीबार भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउँदा पञ्चेश्वर परियोजना र १० हजार मेगावाट विद्युत खरिद–बिक्रीसहित महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने भएको हो ।

    ऊर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंहका अनुसार सम्झौतामा १० वर्षमा नेपाल–भारतबीच विद्युत व्यापारसम्बन्धी विस्तृत एक्सन प्लान समेटिने बताए । उनका अनुसार भारतीय विदेश मन्त्रीको उपस्थितिमा ऊर्जा सचिव गोपाल प्रसाद सिग्देल र भारतका ऊर्जा सचिव पंकज अग्रवालले प्रारम्भिक सम्झौतालाई अन्तिम रुप दिनेछन् ।  
    उक्त सम्झौतामा विद्युत व्यापारका लागि आवश्यक पूर्वाधार विस्तार लगायत विषय पनि समेटिने छन् । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण क्रममा अर्थात गत १७ देखि २० जेठमा दुई देशबीच दीर्घकालीन विद्युत व्यापार सम्झौता भएको थियो । यस्तै पञ्चेश्वर परियोजनालाई अगाडि बढाउने सहमति समेत भ्रमणका क्रममा भएको थियो ।

    उक्त सम्झौतालाई अन्तिम रूप दिन १८ जुन २०२३ मा ऊर्जा सचिव दिनेशकुमार घिमिरे भारत गएका थिए । त्यसबेला नयाँदिल्लीमा सम्झौतापत्रमा हस्ताक्षर गरिने कार्यक्रम राखिएको भए पनि त्यहाँको मन्त्रिपरिषदबाट सम्झौता स्वीकृत नभएका कारण हस्ताक्षर हुन सकेको थिएन । 

    प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दीर्घकालीन विद्युत व्यापारसम्बन्धी सम्झौता भएको घोषणा गर्दै १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली लैजाने बताएका थिए ।

    ‘१० वर्षमा नेपालबाट १० हजार मेगावाट विजुली आयात गर्ने लक्ष्य राखेका छौं’, प्रधानमन्त्री मोदीले सम्झौताबारे भनेका थिए, ‘मैले र प्रधानमन्त्री प्रचण्डले हाम्रो सम्बन्धलाई सुपरहिट बनाउन महत्त्वपूर्ण निर्णय लिएका छौं ।’

    उक्त समयमा नै सम्झौता पत्रमा हस्ताक्षर हुनपर्नेमा भाषणमा मात्रै विद्युत व्यापारको कुरा भएको भन्दै चौतर्फी आलोचना समेत भएको थियो । तर, पनि प्रधानमन्त्री प्रचण्डले भने महत्ववपूर्ण दूरगामी सम्झौता भएको बताउँदै आएका थिए ।

    नेपाल र भारतबिच हुने यस विद्युत व्यापार सम्झौता पश्चात बिजुलीलाई वस्तु जस्तै किनबेच गर्न सकिनेछ । हाल नेपालबाट साढे ६ सय मेगावाट बिजुली भारततर्फ निर्यात हुँदै आइरहेको छ । यो सम्झौता भएसँगै नेपाललाई बढी हुने सबै बिजुली भारत निर्यात हुनेछ ।

    यी हुन् भारतीय विदेशमन्त्री जयशंकरका नेपाल भ्रमणका प्रमुख एजेन्डा

    बिहीबार भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको ७ औँ बैठकमा भाग लिन नेपाल आउन लागेका हुन् । 

    भारतीय वायु सेनाको विशेष विमानबाट बिहीबार बिहान १० बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम तय भएको भारतीय दूतावास स्रोतले जनाएको छ । उनी २ दिन नेपाल बस्नेछन् ।

    परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका बेला भएका सम्झौताहरू कार्यान्वयनका विषयमा छलफल हुनेछ । यस्तै, भारतले नेपाललाई दिँदै आएको साना सहयोग परियोजना अन्तर्गतको सहयोग पाँच करोड रुपैयाँबाट बढाएर २० करोड रुपैयाँ र्पुयाउने सम्झौतामा पनि हस्ताक्षर हुन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

    यसबाहेक, भ्रमणका क्रममा तीन वटा प्रसारणलाईन समेत उद्घाटन हुनेछ । भ्रमणका क्रममा नेपाल र भारतका विदेशमन्त्रीले संयुक्त रुपमा १२३ केभिए क्षमताको कटैया–कुशाहा प्रसारणलाईनको दोस्रो खण्ड उद्घाटन गर्नेछन् । यसबाहेक, १३२ केभीए क्षमताकै रक्सौल–परवानिपुर प्रसारणलाईनको दोस्रो खण्ड र १३२ केभीए क्षमताकै नौतन्या–मैन्हिया प्रसारणलाई समेत उद्घाटन हुने भएको हो । 

    यता, नेपालले आफ्ना तर्फबाट अन्तर्राष्ट्रिय हवाई मार्गको अनुमति दिन भारत पक्षसँग प्रस्ताव राख्ने तयारी गरेको छ। नेपालले लामो समयदेखि महेन्द्रनगर, नेपालगञ्ज र भैरहवाबाट हवाई मार्गको माग गरिरहेको छ । यस्तै, भारतीय पक्षले मुआब्जा विवादका कारण रोकिएको अरूण तेस्रो जलविद्युत आयोजना तोकिएकै मिति सन् २०२५ सम्म सकिने अवस्था बन्ने–नबन्नेबारे छलफल गर्ने तयारी गरेको छ ।

    त्यसैगरी, दुई दिनसम्म काठमाडौँमा रहँदा मन्त्री जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । उनी परराष्ट्र मन्त्रालयले आयोजना गरेको रात्रिभोजमा पनि सहभागी हुने छन् ।  

    वर्षायाममा १५ अर्बको विद्युत भारततर्फ निर्यात 
     
    चालु आर्थिक बर्षको वर्षायाममा १५ अर्ब २४ करोड रूपैयाँको विद्युत भारततर्फ निर्यात गरिएको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत यसवर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरू गरेको थियो ।

    प्राधिकरणले चालु आवको जेठदेखि २० मंसिरसम्ममा १ अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत निर्यात गरी १५ अर्ब २३ करोड ८० लाख रूपैयाँ आर्जन गरेको हो । प्राधिकरणले यसअवधिमा दैनिक रूपमा अधिकतम ७ सय मेगावाटसम्म विद्युत निर्यात गरेको थियो । निर्यात गरिएको विद्युतको औसत बिक्री दर प्रतियुनिट ८ रूपैयाँ ७७ पैसा छ । 

    चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि २० मंसिरसम्ममा १३ अर्ब २३ करोड ६७ लाख रूपैयाँको विद्युत निर्यात गरिएको छ। यसअवधिमा १ अर्ब ४७ करोड ६७ लाख युनिट विद्युत निर्यात भएको छ । निर्यात गरिएको विद्युतको औसत बिक्री दर प्रतियुनिट ८ रूपैयाँ ९६ पैसा छ । 

    प्राधिकरणले जेठमा २१ करोड ६० लाख, असारमा १ अर्ब ७८ करोड ५३ लाख, साउनमा २ अर्ब १४ करोड ७६ लाख र भदौमा ३ अर्ब ४७ करोड ८५ लाख रूपैयाँको विद्युत निर्यात गरेको थियो । यसैगरी, असोजमा ४ अर्ब १७ करोड ७७ लाख, कात्तिकमा २ अर्ब ६९ करोड ७० लाख र २० मंसिरसम्ममा ७३ करोड ५९ लाख रूपैयाँको विद्युत निर्यात गरी आर्जन भएको छ 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार