images
images

नेपाल र विश्व सन्दर्भमा लेनिनवादको भविष्य

नेपाल र विश्व सन्दर्भमा लेनिनवादको भविष्य

सोमवार, माघ ८ २०८०
सोमवार, माघ ८ २०८०
  • images
    images
    नेपाल र विश्व सन्दर्भमा लेनिनवादको भविष्य

    आज २१ जनवरी लेनिनको मृत्युको सय बर्ष पुगेको दिन । हामी आज यहाँ लेनिनको मृत्युमा शोक मनाउन भेला भएका होइनौँ । न त लेनिनले सय बर्ष अघि यस लोकलाई विरासतमा छोडेर गएको सोभियत संघको बिघटनमाथि दुःख मनाउ गर्न उपस्थित भएका हौँ । हामी वास्तवमा लेनिनको विचारिक लिगेसी र उनले नेतृत्व गरेको क्रान्तिकारी समाजवादको कहीँ कतै हाम्रा र हामी भन्दा पछिल्ला पिँढीका लागि औचित्य बाँकी छ छैन भनेर विचार विमर्श गर्न भेला भएका छौँ । लेनिनलाई मन नपराउनेहरूको संसारमा ठुलो जमात छ ।

    images
    images

    नेपालमा पनि छन् उनीहरू लेनिनलाई सत्तो सराप गर्न र उनले नेतृत्व गरेको बोल्सेभिक पार्टी, उस्को नेतृत्वमा सम्पन्न भएकोे क्रान्ति, र त्यसपछि प्रेरणा स्वरूप विश्वव्यापी रूपमा भएका  आर्थिक तथा सामाजिक न्यायका खातिर भएका स्वतन्त्रता सम्बन्धी आन्दोलनहरू, साम्राज्यवाद बिरुद्धको मुक्ति आन्दोलन र उपलब्धिहरूलाई नामेट पार्न रूचाउनेहरूको विगविगी अहिले पनि उत्तिकै देखिन्छ ।

    यसको एउटै मात्र मूल कारण हो पुँजीवादी मुलुक, तिनका शासक र चिन्तकहरूलाई अहिले पनि लेनिनको वैचारिक तथा व्यवहारिक क्रान्तिकारी वीधि, रणनीति तथा सांगठानिक प्रस्तावनाले आतंकित तुल्याउने गर्छ । यो पुँजीवादीहरूको हकमा मात्र होइन, साम्राज्यवादी, अधिनायकवादी, सुधारवादी र नक्कली क्रान्तिकारीहरूको जमातमा समेत लेनिनको भूतले डर उत्पादन गरिरहेको देखिन्छ ।  

    सन् २००८ मा इतिहासकार लार्स टि. लिअको महत्त्वपूर्ण किताव ‘लेनिन रिडस्कभर्ड : ह्वाट इज टु वि डन’ प्रकाशित भयो । किताव प्रकाशित भएसँगै एउटा असलियत कुरा पनि बाहिर आयो । त्यो थियो, वास्तवमा इतिहासकार लिअ सैद्धान्तिक वैचारिक रूपमा भ्लादिमिर इल्विच लेनिनलाई गलत सावित गर्ने मनसाय राखेर अनुसन्धानमा निस्किएका थिए । तर, अनुसन्धानको परिणामपछि भने उनी आफैँ लेनिनवाट प्रभावित हुन पुगे । उक्त किताव समाजवादप्रति प्रतिबद्ध प्रकाशन मन्थ्ली रिभ्यू प्रेसले नै बाहिर ल्यायो ।

    त्यसो त दोश्रो विश्व युद्ध लगत्तै पश्चात पहिलो शीतयुद्धकालिन समयमा उदारवादी,  वाम तथा दक्षिणपन्थी सुधारवादीहरू, एनार्किष्टहरू तथा कथित -याडिकल्सहरूले लेनिनको बेइज्जत गर्न कुनै कसरत छोडेका थिएनन् । लेनिनलाई अघिल्लो पुस्ताका ब्लांन्की, वाकुनिन जस्तो जालसाजकर्ता (conspirator), अराजकतावादी (anarchist) देखाउन आजसम्म पनि प्रयत्न गर्नेहरूको कमी छैन ।

    धेरै समय नबित्दै नवउदारवादी पुँजीवाद आफैँ धराशायी हुँदै गयो । एक पछि अर्को  दुर्घटनाहरू घट्दै गए । राष्ट्रहरू अर्थराजनैतिक समस्याले ग्रसित हुँदै गए । फेरी पहिलो समाजवादी क्रान्तिका बाहक लेनिनमाथि नयाँ शिराबाट खोज तथा अनुसन्धान सुरु भयो ।

    अर्थको अनर्थ लाग्ने, झूठ र वास्तविक इतिहासलाई बंग्याउन  रवर्ट सर्भिस (लेनिन अ पोलिटिकल लाइफका लेखक), ओरलाण्डो फिग्स  (दि पिपुल्स ट्रेजेडीका लेखक) जस्ता नाम चलेका इतिहासकार समेत लागिपरेका थिए । अक्टुवर क्रान्तिलाई हुलमुलमा, जालसाजी गरेर जितेको, झुठ्मुठको क्रान्ति देखाउन लागि परेको भनाउन पनि कसरत गरिएको थियो । अहिले पनि निकै ठुला ठेली प्रकाशित गरेर या बुकलेट निकालेर, वा कमिक्स (सचित्र) निकालेर लेनिन तथा उन्को बोल्सेभिक पार्टीलाई अलोकतान्त्रिक, तानाशाहीको जगमा उभिएको बताउन र लेनिनलाई भिलेन बनाउन प्रयत्न गर्नेहरूको लर्को निकै लामो देखिन्छ । त्यसको अर्थ लेनिनवारे सत्य तथ्य लेख्नेहरूको अभाव छ भन्ने होइन । सन् २००८/०९ को विश्वव्यापी मन्दीपछि माक्र्सलाई खोजिए जस्तै लेनिनको खोजी गर्नेहरूको जमात पनि त्यत्तिकै  बढिरहेको छ ।

    सन् १९९० को सुरुवातमै लेनिनको नेतृत्वमा  स्थापित हसन पुगेको सोभियत सत्ता ढल्यो । मुलुक नै विखण्डित हुन पुग्यो । उदारवादी र नवउदारवादी लेखक तथा र राजनीतिशास्त्रीहरूले सोभियत संघको विघटन पछि समाजवादको हार र पुँजीवादको जित भनेर अर्थ्याए। समाजवाद फेरी कहिल्यै नफर्कने घोषणा गरे । त्यसपछि  लेनिनलाई सत्तोसराप गर्नेहरूमा पूर्वी युरोपेली र विघटित सोभियतसँघकै शासकहरू पनि थपिए ।

    लेनिनलाई होच्याउन नयाँ नयाँ चलचित्रहरू पनि बनाइए । जस्तो गुडवाई लेनिन (२००३) । ती चलचित्रले  पूर्वी युरोप र विघटित सोभियत गणराज्यहरूलाई खुइल्याउन र कम्युनिष्ट सपनालाई भष्ट्रिकरण गर्न ती सहयोगी नै देखिए । खासगरी लेनिनको विचार र लेनिनलाई राक्षसीकरण गर्न नै त्यस्ता चलचित्रहरू निर्माण गरिएका थिए भन्ने बुझ्न गाह्रो (Le Blanc; 2014, page 29)  थिएन ।

    तर धेरै समय नबित्दै नवउदारवादी पुँजीवाद आफैँ धराशायी हुँदै गयो । एक पछि अर्को  दुर्घटनाहरू घट्दै गए । राष्ट्रहरू अर्थराजनैतिक समस्याले ग्रसित हुँदै गए । फेरी पहिलो समाजवादी क्रान्तिका बाहक लेनिनमाथि नयाँ शिराबाट खोज तथा अनुसन्धान सुरु भयो । उनका विचार र भावना, उनका काम गराई र प्राप्त परिणामबारे नया शीराबाट छानविन तथा अन्वेषण गर्ने काम सुरु भएको छ ।

    हामी आफैँ पनि यस हलमा लेनिनको विचार र कामका बारेमा छलफल गर्न उपस्थित भएका छौँ । कुनै एक ब्यक्तिको पूजा अर्चना गर्न वा देवत्वकरणका लागि यहाँ हामी उपस्थित भएका होइनौँ । हामीलाई व्यक्तिको व्यक्तित्व (personality cult) प्रति कुनै चासो राख्नु पर्ने आवश्यकता छैन । तर, हामीलाई लाग्छ लेनिन मार्क्सवादलाई गहिरोसँग बुझेर, विश्व परिवेशलाई केलाएर, नयाँ नयाँ विधि र प्रकृया तयार पारेर अगाडि बढेका थिए । उनले मार्क्सवादको कपी–पेष्ट गरेनन् वल्कि माक्र्संवादी सिद्धान्त र त्यसले बोकेको स्प्रिट बमोजिम त्यसको उन्नति र प्रगतिमा आफुलाई होमे । वास्तवमा राज्य र क्रान्ति (State and Revolution) के गर्ने ?

    साम्राज्यवाद पुँजीवादको उच्च अवस्था जस्ता कीर्तिहरू त्यही स्प्रिटको उपज थिए । उनले आफ्नो जीवन नै  क्रान्तिकारी परिवर्तनका लागि न्यौच्छावर गरेका थिए । 
    लेनिन श्रमजीवि वर्ग खासगरी मजदुर र किसानको हितमा उनीहरूलाई सङ्गठित गरी उनीहरूकै नेतृत्वमा जारशाही उखलेर फ्याक्न चाहन्थे ।  इतिहासकार लिअले ‘लेनिन रिडस्कभर्ड : ह्वाट इज टु वि डन’ शीर्षकको कितावमा लेनिनको समाजवाद प्राप्तिका लागि उन्को प्रतिबद्धता बजोड रहेको स्वीकार गरेका छन् ।

    आम रूपमा लेनिन श्रमजीवी बर्गको सङ्घर्ष गर्ने क्षमतामाथि पूर्ण विश्वास गर्दथे । सैद्धान्तिक रूपमा मार्क्सवादमा आधारित समाजवादी कार्यक्रममाथि प्रतिबद्धता भएको र पेशागत रूपमा होमिन सक्ने क्षेमता भएको श्रमजीवीको पार्टी हुने हो भने राजनैतिक क्रान्ति सम्पन्न गर्न सकिन्छ भन्ने कुरामा लेनिनमा दृढ विश्वास थियो (Lih; 2008)।

    लेनिनको विचारमा मार्क्सवार्द

    सन् १८९० मा रूसमा पहिलो क्रान्ति हुन खोज्यो तर असफल भयो । इतिहासकार तामास क्राउजका अनुसार त्यस क्रान्तिले निम्नानुसार प्रश्नहरू खडा ग-यो । पहिलो, पुँजीवादको सीमा कति हो ? वैदेशिक प्रत्यक्ष पुँजी लगानीको सीमा कसरी निर्धारण हुन्छ ? यसैमा जोडिएर आउने कृषि पुँजीवादको जरो कता गाँसिन्छ ? जवकि रूसको दुई ठूला सहरहरूमा मात्र औद्योगिक करिडोर रहेको अवस्थामा औद्योगिक पुँजीवादको विस्तार कसरी हुन्छ ?

    यी प्रश्नहरूले राजनीतिक रूपमा पनि अरू तीन आधारभूत प्रश्न खडा गरिदिएको थियो । पहिलो, तानाशाही राजतन्त्रको भविष्य अब के हुन्छ ? दोश्रो, रूसी आर्थिक विकासमा कृषि क्षेत्रको सुधारको प्रश्न कसरी हल हुन्छ ? र तेश्रो,  औद्योगिक विकास र खेतियोग्य जमिनको वितरणको राजनीतिक समाधान कसरी खोज्ने ? वास्तवमा अन्तिम प्रश्नको आफुलाई क्रान्तिकारी दावी गर्ने सबैले कार्यक्रमकै रूपमा उत्तर खोज्नुपर्ने अवस्था त्यस आन्दोलनले खडा ग-यो (Krausze; 2015) ।

    यी माथि उठेका प्रश्नहरूमा गहिरोसँग घोत्लिन थालेपछि लेनिनको नरोद्निकसँगको नाता तोडियो । लेनिनले निकै ढिलागरी निर्वाशनका बेला जोन ए. हवसन्को ‘दि इभोल्युशन अफ मोर्डन क्यापिटालिजम’ पढे । असल पुँजीवाद (good capitalism) र खराव पुँजीवाद (bad capitalism) को ब्याख्याले उन्लाई दिक्कै तुल्यायो । सन् १९०५ मा भएको रसियन क्रान्तिले मार्क्सवादीहरू र उदारवादीहरूबिच  कित्ताकटा हुने गरी नाता तोडियो ।

    खासगरी गण्तन्त्रको स्थापना र लोकतान्त्रिक संघिय गणतन्त्र स्थापना गर्ने बिषयमा मतभेद देखापरे । संघिय लोकतान्त्रिक गणतन्त्रमा प्रजातान्त्रिक स्वतन्त्रतालाई अधिकारका रूपमा स्थापित गर्ने बिषय, संविधानले ग्यारेन्टी गर्ने संसद, तथा श्रमिकले रोजगारीका लागि आठ घण्टा मात्र समय व्यतित गर्न पाउनु पर्ने अधिकारको बिषयमा उदारवादीहरूसँग मार्क्सवादीहरूको विमति रह्यो ।

    यी यस्ता बिषय थिए जस्ले प्रजातान्त्रिक क्रान्तिलाई समाजवादी क्रान्तिमा रूपान्तरण गर्न सकिन्छ भन्ने बिषय प्रमुख भएर जोडिन्थे । जस्तो कृषि क्षेत्रको विकास सम्वन्धी मुद्दा, जमिन नभएकालाई खेतीयोग्य जमिन उपलब्ध गराउने कुरा, शिक्षा र स्वास्थ्यमा आम मान्छेको अधिकार स्थापित गर्ने बिषय, समाजमा देखिएका सामाजिक तथा कानुनी भेदभाव, आत्मनिर्णयको अधिकारको बिषय अथवा क्रान्तिकारी अधिनायकवाद स्थापित गर्ने बिषय समाजका मुद्दा बनाउन उदारवादीहरू तत्पर भएनन् ।

    यी यस्ता समस्याहरू थिए यस्ले नै त्यसबेला देशभित्र भएका पार्टीहरूसँगको सम्वन्ध वा दुरी तय गर्थ्यो । यसको अर्थ बुर्जुवाहरूको पक्षमा उभिने कि गरिब किसान तथा मजदुरको पक्षमा ? खासगरी समाजवादी पार्टीहरू कस्को पक्षमा उभिने प्रश्न महत्त्वपूर्ण थियो ।

    यो प्रश्न क्रान्ति कसको पक्षमा गर्ने या हुने मुद्दाहरूले समाजिक जनवादी भनिने पार्टीहरूमै समेत विभाजन ल्याइदियो । यो प्रश्न वास्तवमा मार्क्सवाद रोज्ने कि उदारवाद रोज्ने भन्ने आजको प्रश्न त्यतिवेला पनि उठेको (Lane; 2020) । यी सबै बिषयमाथि उब्जिएका प्रश्नहरूको उदारवादमा उत्तर नभेटिएपछि लेनिनले तात्कालिन सन्दर्भको उदारवाद र बर्नेष्टाइनको सुधारवादवाट आफुलाई अलग्याए । मार्क्सवादलाई आफ्नो (रूसी) सन्दर्भमा कसरी लागु गर्न सकिन्छ भनेर लागि परे ।

    मार्क्सवादको गहिरो अध्ययनपछि लेनिन समाजवाद आधुनिक बर्जुवा पुँजीवादमाथि विद्रोह बोलेर नै आउने निधोमा पुगे । उन्ले रूसी पुँजीवादमा समाजवादका लागि संघर्ष गर्ने तीनवटा काम फेला पारे । पहिलो, माक्र्सको एतिहासिक भौतिकवादको मार्क्सवादी नियममा आधारित रहेर पुँजीवादको असमान विकासमा उब्जने अन्तरविरोधलाई बुझ्ने काम ।

    दोश्रो, पुँजीवादभित्रका अन्तरविरोधलाई बुझेर राजनैतिक दलले आफ्नो शक्तिलाई कृयाशील बनाउदै क्रान्तिका योजनालाई आम आन्दोलनमा बदल्न कोशिस गर्नुपर्ने  काम । र तेश्रो, एकाधिकार पुँजीवाद तहगत जगमा खडा हुने साम्राज्यवादका कृयाकलापलाई संश्लेषण गरि अगाडि बढ्ने काम । यी कामको जगमा उभिएर लेनिनले राजनैतिक अर्थशास्त्र तथा सामाजिक संरचनाबारे समाजशास्त्रीय कोणवाट स्थानीय परिस्थितिलाई बोध गर्ने र राजनीतिक कृयाकलाप अगाडि बढाउने मौलिक प्रयत्न थाले । 

    विधि, सङ्गठन र क्रान्ति

    मार्क्सबाट लेनिनले सिकेको प्रमुख मन्त्र भनेकै ‘क्रान्तिकारी बाटोबाट मात्र पुँजीवादलाई बिस्थापित गर्न सकिन्छ’ भन्ने बिषय थियो । सन् १८९० यता लेनिनले पुँजीवादलाई विस्थापित गर्न कस्तो साधन, कस्तो विधि तथा कस्तो साङ्गठानिक शक्तिको आवश्यक पर्छ भन्ने ध्याउन्नमा समय खर्चिए ।

    उन्ले पहिलो ध्याउन्न पुँजीवादलाई विस्थापित गर्न के गर्ने भन्नेमा (What is to be Done?) खर्चिए । अर्थात कस्तो पार्टी र कस्तो क्रान्तिका लागि कस्तो वर्गिय चेतना आवश्यकता पर्छ भन्ने बिषय । सन् १८९० ताका सामाजिक जनवादीहरूबिचको छलफल बहस नै के गर्ने ? भन्ने बिषय माउ बिषय बनेको थियो । र के गर्ने ? माक्र्सवादी बहसकै सह-उत्पादनका रूपमा उठेको थियो । एकतेरिना कुस्कोभा र सर्गेइ प्रोकोभिचले यस सन्दर्भमा एउटा पम्प्लेट सन् १८९९ मै निकालेका थिए ।

    श्रमजीवि कामदार वर्गको आर्थिक मुद्धा र संघर्ष एकातर्फ र पार्टीहरूको राजनैतिक संघर्ष अर्कोतर्फ भइदिँदा के अप्ठेरो हुन्छ भन्ने बहस बर्नेष्टाइनको सुधारवादलाई जोडेर उठेको बहस नोट त्यस पम्प्लेटमा उद्धृत गरिएको थियो । लेनिनले सन् १९०२ मा अकस्मात हुने जनविद्रोहमा समाजिक जनवादीहरूको भूमिका के हुने ?

    जारको तानाशाहीलाई कसरी त्यो कामदार बर्गको जनविद्रोहमा केन्द्रित हुन सम्भव छ ? यो सामान्य अर्थतन्त्रको मुद्दा मात्र थिएन । मजदुरको जीवनयापनको प्रश्नसँग राजनीतिक तथा आर्थिक संरचना (whole structure) को विश्लेषण या कार्यक्रम मार्फत सम्वोधन गर्नु पर्छ भन्ने लेनिनको मान्यता थियो । यो बिषय तात्कालिन राज्यले समाधान नखोज्दा नै क्रान्तिले सम्बोधन गर्नु पर्ने हुन्थ्यो । 

    लेनिनको पार्टी निर्माणको थेसिस वास्तवमा श्रमजीवी वर्गको बर्ग चेतनासँग जोडिएर आउछ । उन्को विश्लेषण अनुसार श्रमजीवि बर्ग वास्तवमा पुँजीवादी प्रणालीको एउटा कंक्रिट भाग हो । यदि श्रमिक बर्ग आफ्नो अधिकारको लागि चेतनशील हुन पुग्यो भने परिवर्तनलाई कसैले रोक्न सक्ने सम्भावना हुँदैन । तर लेनिनको विचारमा श्रमजीवि आफैँ वा आफ्नै प्रयत्नमा मात्र चेतनशील हुन सक्ने संभावना रहन्न । लेनिनले श्रमजीविको यो अवस्था पश्चिम युरोपमा १ बर्ष आप्रवाशनमा बस्दा महसुस गरेका थिए ।

    किनभने आम श्रमजीविको ध्यान पुँजीवादका अनेकन विज्ञापन, प्रोपगण्डा, तथा सामचारहरूले अन्यत्रै बराली दिन्छन । त्यसैले उनी के निचोडमा पुगेका थिए भने ‘एउटा क्रान्तिकारी आन्दोलन, क्रान्तिकारी दर्शनको अभावमा उठ्न सम्भव हुँदैन’ ।

    मुलुकका दैनन्दिनको हर किसिमका घटनालाई आफुखुसी प्रचार गरेर नराम्रोलाई राम्रो बताउन राज्य र पुँजीपती वर्ग लागि पर्छन् । असत्यलाई पनि सत्य सावित गर्न खोज्छन । जस्को मुख्य लक्ष्य आफु विरूद्ध हुने सम्भावित विद्रोहलाई टाल्नु हो (Lenin; 2004; 370) । त्यसैले सङ्गठनका अनेकन मोर्चा हुन आवश्यक हुन्छ खासगरी खुलापन, पारदर्शिता एकातर्फ हुनपर्छ भने अर्कोतर्फ रणनीतिक तथा गोपनियता संगठनको अर्को पाटो बनाइनु पर्छ ।

    लेनिनको यो द्वैधतालाई लिएर विपक्षीले जालसाजी (conspiracy) भनेर पनि अथ्र्याए । तर, लेनिनले एक स्टेप अगाडि, दुई स्टेप पछाडी (One Step Forward, Two step Back) मार्फत आवश्यकताका रूपमा व्याख्या गरेका छन । वास्तवमा एउटा क्रान्तिकारी पार्टीका लागि आफ्नो ठिक विपरित सोच र विचार राख्ने प्रतिक्रान्तिकारीको कृयाकलाप र रणनीति जान्न आवश्यक हुन्छ । अर्को अर्थमा आफैँले शिक्षा ग्रहण गर्ने, सिक्ने र सिकाउने सांगठानिक पाटो हो भन्ने लेनिनको मान्यता देखिन्छ । लेनिनको यो मनसायलाई जर्ज लुकासले ‘हिस्ट्री एण्ड क्लास कन्सियसनेस’ मा रामरी व्याख्या गरेका छन् (Lucas: 1967) । 

    ‘अन वार’ का लेखक  कार्ल भन क्लजवीट्ज नेपोलियनले बनाएको युद्ध रणनीतिवाट अत्यधिक प्रभावित थिए । मिलेटरी शक्ति कसरी बन्छ ? खास केका लागि बनाइन्छ ? लेनिनले भने कार्लवीट्जलाई महत्त्व दिएर पढेका थिए र राज्यका लागि सेना किन अपरिहार्य हुन्छ भन्ने थाहा पाएका थिए । उन्ले युद्ध सम्वन्ध र सङ्गठनबाटै सिकेर एउटा रूपान्तरण गर्ने पार्टीका लागि क्रान्तिकारी युक्ति (revolutionary tactics) र क्रान्तिकारी रणनीति (revolutionary strategy) निर्माण गर्नु पर्ने ठाने । युक्तिले बर्ग संघर्षको एउटा निश्चित अवएवको मूल्याङ्कन गर्न सघाउँछ ।

    त्यसले अल्पकालिन समयमा कोसँग सम्वन्ध र कोसँग दुरी तय गर्नलाई खुट्याउन सिकाउँछ । जस्तो पार्टीको ट्रेड युनियन ब्रान्चले के गर्ने, संसद फाँटले के गर्ने, वा किसान सङ्गठनले के गर्ने भन्ने अनेकन मुद्धामा संघर्षको युक्ति सिकाउँछ । क्रान्तिकारी रणनीतिले सवै युक्तिहरूको गठजोड मिलाएर समष्टिमा रणनीति तय गर्छ । यही रणनीतिमाथि टेकेर गरिने क्रान्तिले श्रमजीवी शक्तिलाई विजयी तुल्याउँछ । युक्तिहरूको गठजोड र क्षमता मापन गरेर बनाइएको रणनीतिमार्फत नै लेनिनले मार्क्सवादलाई विज्ञानबाट कलामा (science to art) मा उतारेका थिए ।

    मार्क्सवाद विज्ञानमा आधारित भएता पनि उपयुक्त कृयाकलापका लागि निर्देशित गर्ने विज्ञानमा रूपान्तरण गर्न आवश्यक थियो । र त्यसका लागि कला आवश्यक हुन्थ्यो । वास्तवमा विज्ञानले अस्तित्वमा रहेको पदार्थलाई मात्र स्वीकार्छ तर कलाले कसरी ठोस रूपमा कार्यन्वयन गर्ने भन्ने पाठ पढाउछ । लेनिनको योगदान भनेको मार्क्सवादलाई कलाको रूपमा विकास गर्नुलाई मान्न सकिन्छ ।

    लेनिन भने पुँजीवादमा विभाजन होइन पुँजीवादको समग्रमा अन्त्यको पक्षपाती बन्न पुगे । किनकी पुँजीवादलाई विश्वव्यापी रूपमा जोड्ने आजको जस्तो सङ्गठित रूप (जस्तो जि–७, जि–२० वा नाटो आदि) नभए पनि धेरैवटा धागोका गुच्छाहरू उपलब्ध थिए । 

    लेखक तथा इतिहासकार टोनी क्लिफ लेख्छन्, “मार्क्सले पहिलो अन्तर्राष्ट्रियमा  भाग नलिई मुत्युवरण गरेको भए पनि यतिवेला पनि मार्क्सलाई सम्झिइन्थ्यो । यदि लेनिनले वोल्सेभिक पार्टी नबनाएको भए र १९०५ र १९१७ मा क्रान्ति नगरेको भए तथा तेश्रो अन्तर्राष्ट्रिय नबनाएको भए लेनिनलाई सम्झन पर्ने कारण बाँकी रहन्थेनन् । वास्तवमा सिद्धान्तलाई व्यवहारमा उतार्ने र विज्ञानलाई कलामा उतार्ने कामका कारण मार्क्स सँगसँगै लेनिनको नाम पुरक (complementary) कै रूपमा आउने गर्छ (Cliff;  2004) ।

    राष्ट्रिय राज्य तथा राज्य र क्रान्तिको प्रश्न

    आन्तरिक अन्तर्विरोध खासगरी पुँजीवादी एकाधिकारवाद (capitalist monopoly) विद्रोहको एकमात्र कारण हुन्थ्यो भने आपसी अन्तरविरोधकै कारण विभाजनमा गएर पुँजीवाद ध्वस्त हुन्थ्यो । यद्यपि, यो थ्यौरीलाई अझ सन् २०१३ मा रोजा लक्जेमवर्गको  खोज तथा अनुसन्धानमा आधारित ‘दि एकुमुलेशन अफ क्यापिटल’  पुस्तक बहसमा आयो । यो पुस्तकले संसारमा अर्थतन्त्रमा पुँजीको सञ्चिती गरिन्छ वा हुन्छ र विश्वव्यापी रूपमा कसरी पूँँजीवादीकरणका लागि विस्तार हुन्छ भन्ने बिषयमा विषद ब्याख्या पस्किएको छ ।

    संसारभर बर्गीय शोषण तथा उत्पिडन हुन्छ र क्रान्तिकारी सर्वहारा बर्गको तादात बढ्छ र पुँजीवादभित्र अन्तरविरोध बढेर त्यो शक्ति विभाजित हुन्छ भन्ने तथ्य यस्ले छर्लङ्ग्याएको छ । तर, लेनिन भने पुँजीवादमा विभाजन होइन पुँजीवादको समग्रमा अन्त्यको पक्षपाती बन्न पुगे । किनकी पुँजीवादलाई विश्वव्यापी रूपमा जोड्ने आजको जस्तो सङ्गठित रूप (जस्तो जि–७, जि–२० वा नाटो आदि) नभए पनि धेरैवटा धागोका गुच्छाहरू उपलब्ध थिए । 

    सन् १९१४ मा लेनिनको जीवनमा सबैभन्दा ठुलो पिडादायी क्षण देखा प-यो जुन दिन जर्मन सोसियल डेमोक्रेटिक पार्टीले पहिलो विश्वयुद्धमा जर्मन संसद राइखस्ट्यागमा जर्मन साम्राज्यको पक्ष्यमा युद्ध गर्नका लागि आफ्नो समर्थन रहेको भनेर भोट खसाल्यो । उक्त पार्टी युरोपमै सवैभन्दा ठूलो मजदुरहरूको भ्याङ्गगार्ड पार्टी मानिन्थ्यो । उसले पटक-पटक युद्धको विरोधमा भोट गर्ने प्रतिबद्धता जनाएको थियो ।

    उनीहरूले युद्धको पक्षमा भोट नखसालेका भए विश्वको समाजवादी आन्दोलनको स्वरूप नै भिन्न रूपमा विस्तार हुने सम्भावना त्यसबेलाको युरोपमा आँकलन गरिएको थियो । यो झड्काले लेनिनलाई ‘राज्य के हो’ ? भन्ने प्रश्नमा उल्झाइ दियो र त्यसलाई भित्र देखि नै बुझ्न प्रेरणा जगाइ दियो । तपाईँ हामीलाई पनि लाग्छ अहिले पनि, ‘राज्य एउटा स्वतन्त्र निष्पक्ष संस्थाका रूपमा खडा हुनु पर्छ ।’ सर्वसाधरण सबैको हक र हितमा (common good and common interest) राज्य उभिनु पर्छ ।

    के राज्य निष्पक्ष हुन्छ त ? यस सम्वन्धमा माक्र्स, एंगेल्स र लेनिनका तर्कमा कुनै विवाद देखिँदैन । राज्यविहिनताको अवस्थामा बाहेक अरु उत्पादन पद्धतिमा राज्य न्युट्रल रहँदैन । उनीहरूको निचोड देखिन्छ । त्यसैले पुँजीवादी विश्वमा त झन राज्य सर्वसाधरणको हितमा (common good) उभिँदैन ।

    किनभने बर्गीय समाजमा बर्गैपिच्छे सामाजिक पक्षधरता एक अर्का विरुद्ध देखा पर्छन् । अर्थात उत्पादनका साधनमाथिको स्वामित्व जस्को हातमा हुन्छ र धन आर्जन उसैले गरिरहेको हुन्छ । उ आफुमा निहित स्वामित्व छोड्न उ लाग्दैन बरु सुरक्षा गर्ने उपाय खोज्नतर्फ लाग्छ । शोषित हुने र शोषण गर्नेबिच मतभेद तीव्र बन्छ, बन्न सक्छ । तर गृहयुद्ध हुनेगरी वा आपसमा भिड्ने गरी मतभेद बढ्न नदिन एउटा स्पेसल अथरिटी खडा गरिएको हुन्छ जस्लाई ‘राज्य’ भनिन्छ ।

    लेनिनको विचारमा त्यो स्पेसल अथरिटीले कुनै पनि बर्गसँग सामेल नभएको तर राज्य प्रति लोयल हुने सैन्यशक्ति संस्थागत रूपमा खडा गर्छ । तर राज्य आफैँ भने बर्गीय हुन्छ । पुँजीपति र धनाढ्य बर्गको पक्ष्यधर वा माथि उल्लेख गरिएझैँ उत्पादनका साधनहरूमाथि कब्जा जमाएर बसेको शक्तिको पहरेदारको रूपमा राज्य खडा हुन्छ । त्यसैले राज्यले मौका पर्दा वा त्यो बर्गको हितार्थ सैन्य शक्तिको उपयोग गर्छ  । यो अनौठो हुँदै होइन । ऐतिहासिक तवरमै राज्य सञ्चालन गर्न चाहिने खर्च सेना पाल्न होस या पुरेत वा शासकहरू पाल्न, कर उठाउन  राज्यले धनाढ्य पुँजीवादीहरूकै पक्षपोषण गर्छ ।

    किनकि उ त्यही बर्गको प्रतिनीधि पात्र हो । परिभाषित कुरा के हो भने राज्य एउटा बर्गले अर्को बर्गलाई दवाउने साधन नै हो र हुने गर्छ । लेनिनले गरेको अन्तिम तर्क के छ भने, समाजवादीहरूले राज्यमाथि जीत हासिल गरेपछि उनीहरूले पनि बर्गीय पक्षधरता अनुरूप मजदुर र किसानकै  अर्थात श्रमजीवि बर्गकै मुक्तिका खातिर राज्यलाइ उपयोग गर्ने गर्छन अलि बेगल ढंगले । किन यस्तो हुन्छ भने राज्यको नाममा शासन सत्ता चलाउने एउटा स्पेसल बडी हुन्छ र सम्पूर्ण जनताका नाममा उस्ले शक्ति (state's coercive power) खर्चिन्छ उस्तै गरी । त्यो सम्पूर्ण समाजका नाममा एउटा सानो समुहले सुरक्षा दस्ताको बलमा शासन गर्छ ।

    त्यसरी उभिएको राज्यलाई परास्त गर्न गाह्रो छ । त्यसैले आम रूपमा जनतालाई त्यसका विरूद्ध खडा गर्न सङ्गठित, अनुशासित तथा विचारधाराप्रति प्रतिबद्ध शक्ति निर्माण गर्न आवश्यक हुन्छ । राज्य र क्रान्तिमा लेनिनको अन्तिम तर्क नै पुँजीवादीहरूको सङ्गठित राजकिय शक्तिलाई परास्त गर्न स्वस्फूर्त आन्दोलन वा विद्रोहले मात्र संभव हुँदैन सङ्गठित पार्टी चाहिन्छ भन्ने उल्लेख छ । वास्तवमा संसार भएका पछिल्ला क्रान्ति र विद्रोह खासगरी अरब मुलुकमा सन् २०११ म भएका बिद्रोहपछिको असफलताले लेनिन ठिक ठाउँमा उभिएका थिए भनेर प्रमाणित हुन्छ ।

    लेनिनले उठाएको विशेष प्रतिनीधित्वले (special bodies of people) वास्तवमा गम्भिर प्रश्न खडा गर्छ ।  पहिलो त के यसले आम रूपमा श्रमजीवि बर्गको प्रतिनीधित्व गर्न सक्छ ? श्रमजीवि बर्गले क्रान्ति गरे अनि र पावर एक्सरसाइज गर्ने समय र अवसर पाए भने कसरी त्यो स्पेसल बडीले राज्यको काम गर्ला ? के श्रमजीवी बर्गले आफ्नो क्रान्तिकारीतालाई त्यसपछि तिचलाञ्जली दिनु पर्ने हुन्छ ?

    लेनिनको तर्क छ, यदि वास्तविक रूपमा शक्ति श्रमजीवि बर्गको हातम प्राप्त भयो भने उनीहरूले राज्यलाई ध्वस्त (smash) गर्नु पर्छ (Lenin;1999) । लेनिनको यो भनाई नाटकिय र अविश्वसनिय लाग्छ । त्यस्तो राज्यविहिन समाज निर्माण हुन धेरै ठुलो समय र सैद्धान्तिक वैचारिक तथा चारित्रिक हिसावले स्वस्थ समाज निर्माण हुन आवश्यक हुन्छ ।

    समाजवादी क्रान्ति 

    हामी सबैलाई थाहा भएकै कुरा हो फेव्रुअरी १९१७ मा जारशाही फालियो । त्यसका ठाउमा एउटा अस्थायी सरकार (provisional government) बन्यो । उक्त सरकारले पश्चिमा मुलुकहरूमा जस्तो उदार प्रजातान्त्रिक व्यवस्था स्थापित गर्ने वाचा ग-यो । तर त्यही समयमा रूसको औद्योगिक सहरहरूमा ओर्कस काउन्सिलहरू (Soviets) जो लोकतान्त्रिक पद्धति बमोजिम निर्वाचित भएर शक्तिशाली बन्न पुगेका थिए ।

    प्रवासबाट स्वदेश फर्किएपछि लेनिनले अस्थाइ सरकारलाई समर्थन दिएनन् । अपितु उन्ले अनिर्वाचित अस्थाई सरकारले राज्य चलाउने होइन निर्वाचित सोभियतहरूलाई राज्य चलाउन दिइनु पर्छ (all power to the soviets) भन्ने माग गरे ।

    वास्तवमा लेनिनको प्रस्तावना उदारवादी बुर्जुवा क्रान्तिलाई समाजवादी क्रान्तिमा रूपान्तरण गर्नु थियो । लेनिनको उक्त प्रस्तावमाथि पार्टीभित्र र सोभियतहरूमा धेरै लामो छलफल र बहस गराए । उन्को प्रस्ताव स्विकार हुँदै गयो । र अन्तत बुर्जुवा क्रान्ति सम्पन्न भएको ८ महिना पछि अक्टुवर क्रान्ति (October Revolution)  सम्पन्न भयो । तर यो युरोपेली महादेशको समाजवादी क्रान्ति नभएर रूसी क्रान्ति बन्न पुगेको थियो ।

    वास्तवमा सन् १९१४ मा भएको समाजवादी शीविरभिको (दोश्रो अन्र्तराष्ट्रिय)  खासगरी जर्मन शोसिलिष्टहरूले गरेको धोखाघडीले (notorious betrayal) का कारण एक देशमा क्रान्ति सम्पन्न गर्नु पर्ने परिस्थिती बन्यो । वास्तवमा लेनिनले सन् १९१७ को अप्रिल थेसिसमार्फत राज्यको रूपान्तरणका लागि हस्तक्षेप नगरेको भए सुधारवादी अन्तत दक्षिणपन्थी सुधारवादमा रूसको फेव्रुअरी क्रान्ति पनि टुंगिन्थ्यो र संसारभर त्यस्तै जात्रा आज दोहोरिए जस्तो दोहोरिरहन्थ्यो ।

    क्रान्तिको लगत्तैपछि सत्ता सोभियतहरूले नै सञ्चालन गरे । यद्यपि आफ्ना लागि आफैँ सरकार चलाउन श्रमजीवीसँग अनुभव थिएन । उनीहरूले सिक्नै पथ्र्यो । अनुभवजन्य कठिनाइहरू खडा हुन्थे र ती आए । कतिपय पुरानो कुराको सिको (learning) गर्दै दोहोरिए । प्रतिकृयावादीहरू अनुभवजन्य त्रुटीविरुद्ध नारा लगाउदै प्रतिक्रान्तिमा उभिए ।

    वास्तवमा सत्ताको आशनबाट ढलेका तानाशाह र तिनका अनुयायीहरू घाइते बाघझैँ झन खतरनाक भएर निस्कन्छन् भन्ने कुरा केही दिनमै पुष्टि हुन पुग्यो (Plavsic; 2024) । रेड गार्डबिरुद्ध ह्वाइट गार्ड, सोभियत राज्यविरुद्ध युरोप तथा अमेरिकी सेना जाइ नै लागे । यस्ले सन् १९१७ मा प्रकाशित भएको राज्य र क्रान्तिमा उल्लेख गरिएका मान्यताभन्दा  सोभियत संघ लेनिनकै पालामा पनि अलग ढङ्गले पनि शासन व्यवस्थित गर्नु पर्ने अवस्था आयो । जस्तो वार कम्युनिजम, नया आर्थिक नीति, र कतिपय अवस्थामा क्रान्तिका उपलब्धिलाई जोगाउने नाममा जनवोली र बहस माथि प्रतिबन्ध आदिका घटना दोहोरिए ।

    सोभियत क्रान्तिपछि देखि आजका मितिसम्म संसारभरका बुर्जुवाहरू लेनिनलाई राजनैतिक तथा वैचारिक रूपमा बर्खास्त गर्न लागि परे, लागिपरेका छन् । वास्तवमा मार्क्सवादलाई विश्वव्यापी रूपमा स्थापित गर्न र उदारवादको विकल्पको रूपमा मार्क्सवादको जग बसाल्न र मजदुर र किसान जस्तो श्रमजीविले पनि स्वराज कायम गर्न सक्छन् भनेर मार्क्सवादको विकास गर्ने काममा सबैभन्दा अग्रणी भूमिका निर्वाह गरेकाले नै लेनिनमाथि यो आक्रमण भएको हो बुझ्न सकिन्छ । पछिल्ला दिनहरूमा मार्क्सवादी– लेनिनवाद तथा कम्युनिष्ट पार्टी भनेर नाम लाई ब्राण्ड बनाउनेहरूले पनि लेनिनको हुर्मत लिने काम गरिरहेको देखिन्छ । 

    बर्तमान समयमा लेनिनवादको सान्दर्भिकतालाई कसरी बुझ्ने ?

    यस सन्दर्भमा तमास क्राउजले आफ्नो पुस्तक रिकन्सट्रक्टिङ लेनिनमा केही बुँदा अघि सारेका छन् । तिनलाई परिमार्जन गर्दै केही बुँदा मैले पनि अघि सार्ने धृष्टता गरेको छु (Krausz; 2015) । लेनिनले अघिसारेका प्रस्तावनाहरूको मूल सार (prime essence) निम्नानुसार रहेका छन् :

    १. परिवर्तन तलबाट आउनु पर्छ (change comes from below) भन्ने हो । लेनिनले क्रान्तिकारी आन्दोलन बनाउन  धेरैखाले मौका–परस्त (opportunism) शक्ति र व्यक्तिहरू जो बुर्जुवा संसदवादबाट ओर्लन्छन् विरुद्ध आवाज उठाइ रहे । अहिले नेपालकै सन्दर्भमा पनि देखिरहेका छौँ समाजवाद माथिबाट अर्थात संसदबाट ओर्लने कुनै छाँटकाट नै देखिन्न । संसद यदि आम जनताप्रति उत्तरदायी बनाउन सकिएन भने मोकापरस्तहरूको झुण्डले संसदलाई पंगु बनाउछ भन्ने लेनिनको घोषणा आज पनि उत्तिकै सान्दर्भिक देखिन्छ ।

    २. विधि चाहिन्छ भन्ने लेनिनको प्रस्ताव आज पनि उत्तिकै सान्दर्भिक देखिन्छ । लेनिनले दर्शनको बारेमा थोरै लेखेका छन तर जति लेखेका छन त्यसको सान्दर्भिकता क्रान्तिकारी सिद्धान्तमा मात्र होइन क्रान्तिकारी कृयाकलापमा पनि देखिने गरेको छ । लेनिनले हरेक कुरा आम मानिसको जीवनपद्धति तथा व्यवहारमा लागु हुने विधिको निर्माण गरे । लेनिनको लेखाइमा दुईवटा तर्कले भित्रैदेखि स्थान पाएको देखिन्छ ।

    पहिलो एकीकृत रूपमा विकासको ऐतिहासिकता र आजको विकाससँगको अन्तरसम्बन्ध । दोश्रो, इतिहास जोडिएर आउने प्रकृया होइन जस्लाई साधरण सुधारले समाजलाई जोडोस् । यस्को अर्थ एउटा विकासको चक्र फेरी त्यही रूपमा दोहोरिँदैन जो सुधारवादीहरू चाहना राख्छन् । त्यसैले परिवर्तन अपरिहार्य बन्छ । वास्तवमा हेगलले प्रतिपादन गरेको टोटालिटीको थेसिसलाई लेनिनले आत्मसात गरेको देखिन्छ । नेपालको सन्दर्भमा जसरी सत्ताधारीहरू उही संरचनामा सुधार खोजिरहेछन् त्यो असम्भव छ भन्ने कुरा लेनिनले सय बर्ष अघि नै बताएका थिए ।

    ३. मानिसले इतिहास निर्माण गर्छ :: लेनिन मार्क्सले जस्तै ‘व्यवहारलाई’ केन्द्रमा राख्थे । “कस्ले के भन्छ होइन कस्ले के गर्छ” त्यो महत्त्वपूर्ण हुन्छ ।  मान्छेले जे सोच्छ त्यो गर्छ कि गर्दैन बाहिरवाट बिचार गरिने र विश्वास बनाउने आधार तय हुन्छ । पुँजीवादले वर्ग निर्माण गर्छ र समाजमा तह (hierarchy) खडा गर्छ । जहाँसम्म मुक्तिको कुरा छ बर्गीय समाजले आफ्नो बर्गको मुक्ति खोज्छ त्यही अनुसार विश्वव्यापीरूपमा बर्गहरूबिच समन्वय र भातृत्व प्रेमको कुरा हुन्छ । त्यसैले यस्तो नहोस् भन्नाका खातिर बर्गीय लडाँइ लड्नेहरूले क्रान्तिकारी वीचारले ओतप्रोत पार्टी  निर्माण गर्नु पर्ने हुन्छ । जो जुझारू होस र आफ्नो सिद्धान्त र सङ्गठन प्रति प्रतिबद्ध होस । त्यस्तो पार्टीले मात्र क्रान्ति सम्पन्न गर्न सक्छ ।

    ४. साम्राज्यवादले कुनै पनि देशको राजनैतिक प्रणालीमा हस्तक्षेप गर्न सक्छ : लेनिनको बुझाइको आधुनिक पुँजीवाद कही न कही साम्राज्यवादको चङ्गुलमा जकडिएको हुन्छ । त्यो चङ्गुलबाट मुक्त हुन क्रान्तिकारी रणनीति अख्तियार गर्नु पर्ने हुन्छ । साम्राज्यवादीहरू बिचको अन्तरविरोध तथा उनीहरूको द्वन्दभित्रै आमुल परिवर्तनको संभावना खोज्न सकिन्छ । त्यसैले साम्राज्यवादीहरूको अन्तरविरोधमा कुनै एक शक्तिको पक्ष्यधरता खोज्ने होइन ।

    आफ्नै असंलग्नताभित्र परिवर्तन खोजिनु पर्ने हुन्छ । नेपालको सन्दर्भमा अहिले सुरु भएको शीतयुद्ध र विश्व विकास परियोजनालाई हेर्न सकिन्छ । कार्ल लिवनेकका शब्दलाई विचार गर्ने हो भने ‘मुख्य सत्रु घरमै भेटिन्छ’ । राष्ट्रवादको गफ दिएर साम्राज्यवादको तलुवा चाट्नेहरू तेश्रो विश्वमा प्रसस्तै भेटिन्छन यस अर्थमा बर्ग संघर्षका लागि विश्वव्यापी ऐक्यवद्धता आवश्यक हुन्छ । 

    हिलेको संसार साम्राज्यवादी र क्षेत्रीय हैकमवादी शक्तिहरूवाट मुक्ति चाहान्छ त्यसका लागि पनि ऐक्यवद्धता आवश्यक हुन्छ जस्लाई कथित वामपन्थीहरूले मतलव राखेको देखिन्न । वास्तवमा लेनिनको राज्य र क्रान्ति पुस्तिका काल्पनिकता वा बोल्सेभिकहरूको पार्टीलाई थिएन ।

    ५. क्रान्तिका लागि सङ्गठित हुन आवश्यक छ : क्रान्ति आफसे आफ (spontetiously) सम्पन्न हुँदैन, क्रान्तिलाई सङ्गठित गर्न जरूरी हुन्छ । सुधारले परिवर्तनलाई पर धकेल्छ तर कालान्तरमा असाध्य सङ्कट निम्तिन्छ । नेपालकै सन्दर्भमा हेर्ने हो भने सन् १९८५, १९९२ का सुधारले नेपाललाई गहिरो संकटमा धकेलेकोछ ।

    ‘के गर्ने ?’ ले देखाएको बाटो आज पनि सान्दर्भिक देखिन्छ । वास्तवमा आम मान्छैको चेतना आफसे आफ जाग्दैन एउटा क्रान्तिकारी पार्टीले मात्र जगाउन सक्छ । कुनै पनि “क्रान्तिकारी आन्दोलन क्रान्तिकारी दर्शन वा विचारधाराको अभावमा संभव हुँदैन” त्यसका लागि क्रान्तिकारी सङ्गठन अपरिहार्य वाहक हुन्छ, भन्ने लेनिनको बुझाई आज पनि नेपालको सन्दर्भमा सान्दर्भिक देखिन्छ । 

    ६. क्रान्ति अन्तराष्ट्रिय हुन्छ  (the Revolution is International) : रूसको क्रान्ति दवाउन १४ वटा पुँजीवादी मुलुकहरूले रूसमा हस्तक्षेप गरे । बुर्जुवाहरूले समकालिन संसदिय व्यवस्था निरुपण गर्ने नाममा तीनै साम्राज्यवादीहरूसँग सहकार्य गर्न पुगे । लेनिनको विचारमा यो बुर्जुवा शक्तिहरू वीचको गठजोड थियो जो रूसी समाजवादी क्रान्तिको चिहान खन्न ऐक्यबद्धता खोजिरहेका थिए । ले

    निन र उन्को बोल्सेभिक पार्टी उक्त समयमा संसारका मजदुरहरूको साथ खोजिरहेको थिए । अहिलेको संसार साम्राज्यवादी र क्षेत्रीय हैकमवादी शक्तिहरूवाट मुक्ति चाहान्छ त्यसका लागि पनि ऐक्यवद्धता आवश्यक हुन्छ जस्लाई कथित वामपन्थीहरूले मतलव राखेको देखिन्न । वास्तवमा लेनिनको राज्य र क्रान्ति पुस्तिका काल्पनिकता वा बोल्सेभिकहरूको पार्टीलाई थिएन ।

    तात्कालिन समयको विश्वका राज्यहरूको चरित्र चित्रण थियो । राज्य सञ्चालन तलको निर्वाचित निकायले गर्न सक्छ भन्ने विश्वासले करोडौँ रसियनहरूलाई मूलधारको राजनीतिमा ओराल्यो । मजदुर र किसानले भरिएको सोभियत । आजको हाम्रो संघियता र संसदहरू त्यही विचारको विस्तारित रूप हुन । तर तिनको प्रशिक्षण अत्यन्त कमजोर छ र व्यापक सहभागिताको माग खुम्चदो छ ।  त्यसका लागि पेरी पनि बुझ्न चाहनेका लागि लेनिनको राज्य र क्रान्ति सम्वन्धि पुस्तिकाको अध्यायन अपरिहार्य छ ।

    लेनिनका कमजोरी के रहे ?

    क्रान्तिलाई जोगाउने नाममा लेनिनको नेतृत्वमा रहेको वोल्सेभिक पार्टीले पार्टीहरू माथि प्रतिवन्ध लगाउनु गल्ति थियो । यस्ले वोल्सेभिकहरूलाई आफ्नो गल्ति औँल्याउने र सच्याउने मौका मिलेन । लेनिनले सोचे अनुसार श्रमजीवि किसान र मजदुरको स्वस्फूर्त सङ्गठनले राज्यको बहसमा भाग लिन पाएनन् । जनताको नाममा सीमित व्यक्ति समेटिएको सानो गुट तथा व्युरोक्रेसी हावी हुँदै गयो ।

    गोली लागेर घाइते भएका लेनिनले श्रमिकहरूको राज्य उन्ले सोचे र व्याख्या गरेभन्दा फरक ढंगले अघि बढेको थाहा नपाएका होइनन् तर उन्ले त्यसलाई रोक्न सक्ने  परिस्थिती निर्माण हुनै सकेन । किनकी त्यो समयमा रूस नितान्त एक्लाइएको थियो । आर्थिक रूपमा कमजोर र जरजर थियो । श्रमशक्तिको क्षमता (बौद्धिक) र उत्पादकत्व तुलनात्मक रूपमा कमजोर थियो । मुक्तिलाई सही निर्देशन गर्ने अवसरमा लेनिनको मृत्यु हुन पुग्यो र परिवर्तनलाई उन्का उत्तराधिकारीले भने जस्तो गरी आत्मसात गरेनन् । 

    क्रान्तिको परिभाषा

    लेनिनको शब्दमा क्रान्तिको सुरुवात हुन केही नयाँ वातावरण चाहिन्छ । त्यो वातावरणका पनि खुड्किला (steps) हुन्छन् । पहिलो, शासक बर्गकालागि शासनलाई निरन्तरता दिन असम्भव जस्तो लागोस् । वास्तवमा शासक बर्गमाथि तलको श्रमजीवि बर्गको विश्वास उठ्दै गर्दा यस्तो अवस्था देखा पर्छ । किनभने शासक बर्ग जनताको पक्षमा काम गर्न नसकेको आफ्नो कमजोरी महसुुस गर्न नै चाहन्न । जस्तो नेपालमा अहिले कथित वामपन्थी शासकहरू जनतावाट कटिएर शासनमा पुग्दै गर्दा पनि कमजोरी महसुस गरिहेका देखिन्नन् । ‘क्रान्ति’ सरकार परिवर्तनमात्र होइन समुलमा आर्थिक तथा सामाजिक रूपान्तरण हुनु हो र जनताले त्यसलाइ अनुभूत गर्न सकुन् ।

    हामी सबैले यो बिचमा अनेकन विद्रोहहरूलाई भोग्यौँ, र सामेल भयौँ । नेपालदेखि अफ्रिकासम्म यो क्रम चल्यो । तर, नवउदारवादी राज्यले सवैखाले विद्रोहलाई क्रान्तिकारी संरचनागत परिवर्तन हुनबाट रोक्यो ।

    वित्तिय भूमण्डलीकरणकालागि उक्त राज्यले मार्ग प्रसस्त गरिरह्यो र क्रान्तिकारी दस्तालाई समेत त्यस्तो भूमण्डलीकरणको एजेन्ट हुन प्रेरित गरिरह्यो । तर, वर्तमान समयमा वित्तिय भूमण्डलीकरण असफल हुन पुगेको छ । र विश्वव्यापी रूपमा विद्रोहको ज्वाला विश्फोट हुन लागेको देखिन्छ ।

    अर्थात लेनिनले भने जस्तो एउटा मुलुकको शासकले धान्न नसक्ने गरी पुँजीवादी दुनिया बिघटनको संघारमा उभिएको प्रतित हुन्छ । यतिवेला लेनिनलाई सुन्न र बुझ्न जरूरी छ र सन् १९१४ दोहोरिन नदिन पहल लिन आवश्यक छ । त्यसका लागि क्रान्तिकारी दर्शन र विचारमा आधारित आमुल परिवर्तन चाहने  शक्तिशाली सङ्गठन आवश्यक पर्छ ।

    क्रान्तिका लागि नेतृत्वको अहं भूमिका हुन्छ । तर सिद्धान्तमा आधारित रणनीति नहुँदा न त जुझारू सङ्गठन निर्माण हुन सक्तैन । क्रान्ति गर्न क्रान्तिकारी नीति र क्रान्तिकारी पार्टी चाहिन्छ ।  लेनिनको संगठानात्मक सिद्धान्त विशिष्ट हिसावले संरचनागत छ । तर संरचनागत अवस्था मात्र क्रान्तिका लागि पर्याप्त वातावरण हुन सक्दैन । त्यो वातावरण बन्न हिजो आज सरकार र प्रतिपक्षबिच, सुधार र क्रान्ति बिचको फरक छुट्याउन सक्ने गरी प्रतिपक्षको हकमा बहस आवश्यक देखिन्छ । यो नेपालको हकमा मात्र होइन दक्षिण एशियालगायत संसारभरी नै राजनीतिक बहस अपर्याप्त छ ।

    कस्को नेतृत्वमा क्रान्ति हुन्छ ? यो व्यक्तिगत कुरा होइन । लेनिनको विचारमा श्रमजीवि बर्गले नै क्रान्तिको अगुवाई गर्ने हो तर राज्यलाई सीमित व्यक्ति वा घेराबन्दीमा पार्ने गरि होइन । यी यावत प्रश्नहरूको उत्तर लेनिनका प्रस्तावनाहरूसँग जोडिएर आउछन् जस्लाई हामीले लेनिनवाद भन्ने गरेका छौँ । क्रान्ति गर्ने या खोज्ने काम रहुन्जेल लेनिनवादको औचित्य सधैँ बाँकी रहनेछ ।   

    References

    Cliff, Tony (2004), 'Chapter 14, Strategy and Tactics', Tony Cliff: Lenin 1 - Building the Party (Chap.14) (marxists.org)

    Krausze, Tamas (2015), "Reconstructing Lenin, an intellectual biography", Monthly Review Press.

    Lane, David (2020), 'Revisiting Lenin's theory of Socialist revolution on the 150th anniversary of his birth', https://blogs.lse.ac.uk/europpblog/2020/04/22/revisiting-lenins-theory-of-socialist-revolution-on-the-150th-anniversary-of-his-birth/.

    Le Blanc , Paul (2014), ' Un Finished Leninism, The rise and Return of a Revolutionary Doctrine', Haymarket Books, Chicago.

    Lenin (1999), 'State and Revolution', The State and Revolution (marxists.org)

    Lih, Lars T (2008), "Lenin Rediscovered: What is to be done ?"   Monthly Review Press.

    Lucas, George (1967), 'History & Class Consciousness',  Translator: Rodney Livingstone; Publisher: Merlin Press, 1967;

    Plavsic, Dragan (2024) 'Lenin, state and revolution: an introduction', Counterfire.

    (नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाजको सहकार्यमा आइतबार काठमाडौँमा आयोजित ‘नेपाली समाजका सन्दर्भमा लेनिनवाद’ विषयक अन्तक्र्रियामा स्तम्भकार तथा वामचिन्तक रोकाद्वारा प्रस्तुत कार्यपत्र ।) 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार