images
images

रवि लामिछानेतर्फ महेश बस्नेतको कटाक्ष : सरकारले हाई-प्रोफाइल सहकारी ठगलाई छानविनको दायरामा समेत ल्याउन सकेन

रवि लामिछानेतर्फ महेश बस्नेतको कटाक्ष : सरकारले हाई-प्रोफाइल सहकारी ठगलाई छानविनको दायरामा समेत ल्याउन सकेन

आइतवार, माघ २१ २०८०
आइतवार, माघ २१ २०८०
  • images
    रवि लामिछानेतर्फ महेश बस्नेतको कटाक्ष : सरकारले हाई-प्रोफाइल सहकारी ठगलाई छानविनको दायरामा समेत ल्याउन सकेन

    काठमाडौँ / नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान सरकारले हाई-प्रोफाइलका सहकारी ठगलाई छानविनको दायरामा समेत ल्याउन नसकेको बताएका छन् । आज काठमाडौँमा समसामयिक विषयमा प्रतिक्रिया लिनका लागि राखेको अन्तर्क्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेतर्फ लक्षित गरी सरकारले हाई प्रोफाइललाई कारबाही गर्नै नसक्ने बताएका हुन् । 

    images
    images

    ‘हाई प्रोफाइलका सहकारी ठगहरु अनेक नौंटंकी र बहानाबाजी गरेर हिँडिरहेका छन् । हाई प्रोफाइलका सहकारी ठगहरुलाई सरकारले कारबाही गर्ने त परै जाओस्, छानविनको दायरामा पनि ल्याउन सकेको छैन,’- उनले भने । 

    रास्वपा सभापति रवि लामिछानेले कम्पनी रजिष्टार्ड कार्यालयमा बैंक स्टेटमेन्ट देखाएर गुडविल शेयरमार्फतको पैसा नगद लिएको देखिएको उनको दाबी छ । यसबाट ठगीमात्रै नभएर किर्ते र जालसाझीको मुद्दासमेत प्रभावित हुने उनले बताए । ‘म चाहीँ बाठो छु, भएभरका सबै लाटा छन्’ भनेर रविले अभिव्यक्ति दिइरहेको उनले बताए । 

    भिडिओ बनाएर आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनी र रवि लामिछानेका ड्राइभर शम्भु थापाको मृत्युको छानविन कहाँ पुग्यो भन्दै उनले प्रश्न उठाए । पपुलिष्ट शक्तिको आडमा यस्ताप्रकारका अपराधमा सरकारले उन्मुक्ति दिन नहुने उनको भनाई छ । 

    साथै, वर्तमान सरकार सदनबाट भागिरहेको उनको आरोप छ । उनले अहिले निकै बाध्यात्मक अवस्था आएपछि सरकारले संसद् अधिवेशन बोलाएको दाबी गरे । वर्तमान सरकारलाई अलोकप्रिय सरकारको संज्ञा दिँदै उनले अहिले संघीय सरकारदेखि प्रदेश सरकारले समेत सदन छलेर भागिरहेको टिप्पणी गरे । अहिले संघीय सरकारदेखि प्रदेश सरकारमा रहेकाहरुमा संसद् जान नपरे हुन्थ्यो भन्ने मनोवृति देखिएको बताए । यस्तो प्रकारको प्रवृत्ति लोकतन्त्रका लागि राम्रो नहुने उनको भनाइ छ । 

    वर्तमान सरकारले अहिलेसम्म एउटाबाहेक कानुन बनाउन नसकेको उनले बताए । उनले सरकारले अहिले अपराधी र पीडकलाई उन्मुक्ति दिने गरी संसद्मा टीआरसी विधेयक ल्याउन खोजेको बताए । नेता बस्नेतले कांग्रेस र नेकपा (एकीकृत समाजवादी) ले टीआरसी विधेयकलाई सत्ता र राष्ट्रिय सभाका सांसदसँग साटेको आरोप लगाए । 

    ‘यो सरकार बनेपछि अहिलेसम्म एउटाभन्दा बढि कानुन बनाउन सकेको छैन । टिआरसी विधेयक प्रस्तुत गर्न सकेको छैन ।’ उनले भने,‘पीडकहरुलाई उन्मुक्ति दिने, अपराधीहरुलाई, दोषीहरुलाई बचाउने र पीडित पक्षको आवाजलाई कमजोर बनाउने ढंगले यो विधेकय आउन खोजेको छ । यो विधेकलाई कांग्रेस, माओवादी, समाजवादी लगायतले सत्तासँग र राष्ट्रिय सभाका सांसदसँग सट्टापट्टा गर्न खोजेको छ ।’ 

    नेता बस्नेतले एमालेले टिआरसी विधेकमा जनताको हित, पीडितहरुको हित, अन्तर्राष्ट्रिय मानवअधिकार सम्बन्धि नेपाल पक्ष राष्ट्र भएका दस्ताबेजहरुको पक्षमा हुनेगरी आफ्नो अडान कायम राख्ने बताए । 

    वर्तमान सरकार साह्रै अलोकप्रिय भएको र अर्थतन्त्रका सबै सूचकहरु नकारात्मक बन्दै गएको उनको दाबी छ । वर्तमान सरकार सबैतिरबाट असफल भएको उनको टिप्पणी छ । निर्माण व्यवसायीलाई सरकारले सात खर्ब भन्दा बढी भुक्तानी नदिएको र कसैलाई पनि न्यायोचित ढंगले न्याय दिन नसकेको उनको आरोप छ । 

    बाँसबारी छालाजुत्ता कारखानाको जग्गा २०४२ सालदेखि राजाका भाइ धिरेन्द्रसँगको व्यापारिक साझेदारी र विनोद चौधरीसमेतको आडमा अरुण चौधरीले हडपेको भनेर प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले भनिरहँदा पनि प्रधानमन्त्री प्रचण्डले उक्त विषयमा आफ्नो अनविज्ञता प्रकट गरिरहेको दाबी गरे । ‘प्रधानमन्त्री प्रचण्डले यो विषयमा म बेखबर छु, यो कसरी भयो ? यसले त व्यापारीहरुलाई निरुत्साहित बनाएको छ भन्दै हिँड्नु भएको छ । काम गर्ने प्रहरी प्रशासनको निकाय पनि प्रतिपक्षले परिचान गरेको जस्तो देखिएको छ,’–उनले भने । 

    विगतमा भ्रष्टाचार छानविन गर्छु भनेर सरकारले अनेक हल्लाखल्ला गरेपनि सुन प्रकरणमा आफ्नै मान्छे जोडिएपछि चुपचाप बसेको टिप्पणी गरे । नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएको पूर्वप्रधानमन्त्रीहरु माधव नेपाल र बाबुराम भट्टराईलाई उन्मुक्ति दिइएको उनको आरोप छ । वर्तमान सरकारले निकै शानदार ढंगले हल्लाखल्ला गरेर सुरु गरेको भ्रष्टाचार विरुद्धको अभियान हात्ति आयो, हात्ति आयो फुस्स बनेको उनको टिप्पणी छ । 

    उनले एमालेले समकालीन राजनीतिमा प्रचण्ड र माधव नेपालसँग सहकार्य नगर्ने बताए । अन्तर्राष्ट्रिय शक्तिको दवाबमा कांग्रेसले कमजोर धरातल भएको प्रचण्डलाई बोकेर हिँडेको उनले टिप्पणी गरे । उनले यसले कांग्रेसलाई नै बढी घाटा भइरहेको बताए । कांग्रेस जिम्मेवार हुन नसकेको उनको भनाइ छ ।

    कांग्रेसमा कोशी प्रदेशमा विद्रोहको वातावरण बनेपनि उक्त विद्रोहबाट कांग्रेसले पाठ सिक्ने भन्दा पनि उक्त विद्रोहलाई सामसुम गरेर जबर्जस्ती सत्ता टिकाउन लागिपरेको बताए । ‘प्रचण्डसँग सहकार्य गर्ने कुरा, माधव नेपालसँग सहकार्य गर्ने कुरा आजको समकालीन राजनीतिमा सम्भावना छ भन्ने कुरा मलाई लाग्दैन । त्यो खाले समीकरण बनाउने र सत्तामा जाने हाम्रो इन्ट्रेस्ट छैन ।’ उनले भने, ‘अन्तरार्ष्ट्रिय शक्तिको दवाबमा कांग्रेसले प्रचण्डजस्तो कमजोर धरातल भएको व्यक्तिलाई च्यापेर हिँडेको छ । त्यसले प्रचण्डभन्दा पनि कांग्रेस र शेरबहादुर देउवालाई कमजोर बनाइरहेको छ ।’ 

    फरक प्रसंगमा उनले अहिले पुनर्उत्तथानवादी शक्तिहरुले टाउको उठाउन खोजेका र बैंकका ठगहरुले ज्ञानेन्द्रलाई उचालिरहेका उनले आरोप लगाए । दरबार हत्याकाण्ड छानविनको प्रश्न उठिरहेको भन्दै उनले प्रचण्डले छानविन गर्छन् भन्ने आफूलाई नलागेको बताए ।

    विरेन्द्रको वंशनाश भएपछि राजा बनाइदेऊ भन्दै माधव नेपालले ज्ञानेन्द्रको पाउमा दाम चढाएकाले उनीमाथि नैतिकताको प्रश्न उठेको उनले बताए । राजा ल्याएर देशमा समृद्धि आउँछ भन्नु कोरा सपनामात्रै भएको उनले बताए । उनले लोकतन्त्रको विकल्प राजतन्त्र नभएर केवल उन्नत लोकतन्ध भएको दाबी गरे । उनले ज्ञानेन्द्रलाई राजनीति गर्न मन लागेको भए दल खोलेर प्रतिस्र्धामा आउनसमेत चुनौती दिए । 

    ‘राजनीति गर्न रहर लागेको छ भने हाम्रो संविधानले बडो स्पष्ट व्याख्या गर्दिएको छ । ज्ञानेन्द्रकै नाममा पार्टी खोले भयो । ज्ञानेन्द्रलाई समर्थन गर्ने को–को हुन् ? ती सबै तत्वहरुलाई एक ठाउँमा समेटे भयो ।’ उनले भने, ‘आगामी निर्वाचनमा चुनाव लडे भइगयो । होईन भने दुई चार जना व्यक्ति र पार्टीलाई उचालेर फेरि शक्तिमा आउन सक्छु भन्ने सपना ज्ञानेन्द्रले बोकेका हुन् भने ज्ञानेन्द्र त ओरिजिनल राजा हुँदै होईनन् । ओरिजिनल राजा वीरेन्द्र र उनको वंश नाश गरिहालियो ।’ 

    आफूहरुले पूर्वराजा ज्ञानेन्द्रलाई कारबाही गरिनुपर्छ भन्ने मान्यता नबोको उनको भनाइ छ । आफ्ना समर्थकहरुलाई जम्मा गरेर दल खोल्न उनले पूर्वराजालाई सुझाव दिए । ‘पूर्वराजालाई कारबाही गर्नुपर्छ भन्ने मान्यता एमाले बोकेको छैन । ज्ञानेन्द्र अहिले पनि पार्टी खोलेर राजनीतिमा आउन्, राजेन्द्र लिङ्देनदेखि रविन्द्र मिश्रहरु प्रकाशचन्द्र लोहनीहरुलाई मिलाएर को–को अपराधिक प्रवृत्तिका मानिसहरु छन्, तिनको नाम लिन पनि झ्याउ नै लाग्छ । उनको पार्टी खुलोस्, शुभकामना छ,’– उनले भने ।

    साथै, अहिले देशमा पपुलिष्ट प्रवृत्तिको खतरा रहेको उनको ठहर छ । उनले निर्वाचन कानुनमा दुई दल वा दुई गठबन्धनबीचको निर्वाचन र नो भोटको व्यवस्था हुन अनिवार्य देखिएको बताए । निर्वाचन कानुनमा यी दुई व्यवस्था नभएसम्म देशमा अस्थिरता बढ्ने र नानीमैयाँ प्रवृत्तिहरुले चुनाव जितिरहने बताए । 

    उनले अहिले सबैभन्दा संगठित र राष्ट्रवादी अभियानमा रहेको पार्टी एमालेमात्रै रहेको दाबी गरे । एमालेको मिसन ८४ लाई अरुले समेत कपी गरेको उनले टिप्पणी गरे । २०८४ सालमा अथवा जहिले निर्वाचन भएपनि एमालेले बहुमत ल्याएर सत्ताको नेतृत्व गर्ने गरीको तयारीमा रहेको बताए । 

    फरक प्रशंगमा उनले मदन भण्डारी हत्या प्रकरण छानविन भए हत्यारा पत्ता लाग्ने बताए । नेता बस्नेतले साम्राज्यवादी शक्ति र त्यतिबेलाको सरकारको संलग्नतामा उक्त घटना भएको दाबी गरे । मदन भण्डारी हत्या प्रकरणबारे गिरिजाबाबुका तत्कालीन सल्लाहकार उमेशजी (उनले थर बताएनन्) को बयानलाई आधार मानेर छानविन गरे हत्यारा पत्ता लाग्ने बताएका हुन् । 

    ‘मदन भण्डारीको हत्यारा पत्ता लाग्छ नै । सवाल के हो भन्दा विभिन्नखाले साम्राज्यवादी शक्ति र त्यतिखेरका सत्ताको संलग्नता भएको हुनाले यो विषय जटिल छ । गिरिजा प्रसाद कोइरालाको नामसमेत मुछेर तत्कालीन गिरिजा प्रसाद कोइरालाका सल्लाहकार उमेशजीले जुन कुरा उजागार गर्नुभएको छ । त्यो विषय पत्ता लाग्छ । यस्ता षड्यन्त्रपूर्ण घट्नाहरु उमेशजीले दिएको बयानका आधारमा छानविन गर्दा पत्ता लाग्छ,’- उनले भने । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार