मुम्बई / चलचित्र अभिनेत्री कंगना रनौट हिमाचल प्रदेशको मण्डी लोकसभा निर्वाचन क्षेत्रबाट भारतीय जनता पार्टीको उम्मेदवार बन्ने भएकी छन् । आइतबार साँझ भाजपाले उम्मेदवारहरूको पाँचौँ सूची जारी गरेसँगै कंगनालाई मण्डीबाट टिकट दिइएको खुलासा भएको हो ।
यसपटक कंगना भाजपाको टिकटमा चुनाव लड्ने अनुमान गरिएको थियो । कंगनाले एक दिन अगाडि मात्र चुनाव लड्ने संकेत दिएकी थिइन् । हिमाञ्चल प्रदेशको कांगडास्थित बगलामुखी मन्दिरको दर्शन गर्न गएकी कंगनाले पत्रकारको प्रश्नको जवाफमा भनेकी थिइन्, “माताको कृपा रह्यो भने मण्डी संसदीय सिटबाट अवश्य चुनाव लड्छु।”
टिकट पाएपछि कंगनाले सामाजिक सञ्जालमा लेखेकी छन्, “मेरो प्यारो भारत र भारतीय जनता, मैले सधैँ मेरो भारतीय जनता पार्टीलाई बिना सर्त समर्थन गरेको छु। आज भाजपाको राष्ट्रिय नेतृत्वले मलाई मेरो जन्मभूमि हिमाचल प्रदेशको मण्डीबाट लोकसभाको उम्मेदवार बनाएको छ।”
पार्टीमा औपचारिक रूपमा सामेल हुन पाउँदा आफू सम्मानित र उत्साहित भएको उनले बताएकी छन् । भाजपाले आइतवार लोकसभा चुनाव २०२४ का लागि उम्मेदवारहरूको पाँचौँ सूची घोषणा गर्यो । यो सूचीमा १११ सिटका उम्मेदवारको नाम समावेश छ ।
पाँचौँ सूचीमा बीजेपीले उत्तर प्रदेशका १३ सिटका लागि उम्मेदवारको नाम पनि घोषणा गरेको छ । लोकप्रिय धारावाहिक रामायणमा रामको भूमिका निभाएका अभिनेता अरुण गोविललाई भाजपाले मेरठबाट टिकट दिएको छ।