images
images

दोस्रो त्रैमासमा आर्थिक बृद्धि ४ प्रतिशत, १८ क्षेत्रमध्ये उद्योग क्षेत्र ऋणात्मक

दोस्रो त्रैमासमा आर्थिक बृद्धि ४ प्रतिशत, १८ क्षेत्रमध्ये उद्योग क्षेत्र ऋणात्मक

व्यापार क्षेत्रको वृद्धि दर निकै कम र उत्पादनमूलक उद्योग क्षेत्रको वृद्धि दर ऋणात्मक भए पनि समग्र वृद्धि दर ४ प्रतिशत पुग्ने अनुमान

बुधवार, चैत २१ २०८०
बुधवार, चैत २१ २०८०
  • images
    images
    दोस्रो त्रैमासमा आर्थिक बृद्धि ४ प्रतिशत, १८ क्षेत्रमध्ये उद्योग क्षेत्र ऋणात्मक

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्ममा आर्थिक वृद्धि दरमा सुधार देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले मङ्गलबार सार्वजनिक गरेको त्रैमासिक कुल गार्हस्थ्य उत्पादन प्रतिवेदन अनुसार दोस्रो त्रैमास (कार्तिक, मंसिर र पुष) मा ४ प्रतिशतले आर्थिक वृद्धि दर भएको अनुमान छ । 

    images
    images

    गत आर्थिक बर्ष २०७९/८० को दोस्रो त्रैमासमा आर्थिक वृद्धिदर १.१ प्रतिशतले ऋणात्मक थियो । यता, विश्व बैङ्कले पनि मंगलबार ‘नेपाल डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै चालू आवमा ३.३ प्रतिशतको आर्थक वृद्धि हुने प्रक्षेपण गरेको छ । पछिल्लो समय पर्यटन पुनरुत्थान र जलविद्युतको बढ्दो निर्यातले अर्थतन्त्रमा बढोत्तरी ल्याएको विश्व बैङ्कको ठहर छ ।

    गत आवको पहिलो त्रैमासमा ३.४ प्रतिशत, दोस्रो त्रैमासमा ०.८ प्रतिशत, तेस्रो त्रैमासमा २.२ प्रतिशत, चौथो त्रैमासमा ४.१ प्रतिशत आर्थिक वद्धि रहेको थियो । यस्तै, चालु वर्षको पहिलो त्रैमास (साउन, भदौ र असोज) मा ३.२ प्रतिशतको वृद्धिदर थियो । 

    राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी एवं प्रवक्ता हेमराज रेग्मीले गत वर्षको तुलनामा यस वर्षको दोस्रो त्रैमासमा औद्योगिक वस्तु उत्पादन क्षेत्रको वृद्धि दर -०.४ प्रतिशतले ऋणात्मक रहेको बताए ।

    “दोस्रो त्रैमासमा अर्थतन्त्रको घनात्मक वृद्धि हुनुमा धान लगायत अन्न बाली र अन्य कृषि उत्पादनमा भएको वृद्धि तथा पर्यटन आगमनमा भएको वृद्धि र होटल क्षेत्रको कुल मूल्य अभिवृद्धिमा भएको बढोत्तरी प्रमुख कारक छन्,” उनले भने, “यस्तो व्यापार क्षेत्रमा भएको झिनो वृद्धि तथा उद्योगबाहेकका अन्य क्षेत्रको घनात्मक वृद्धिले समग्र अर्थतन्त्र सकारात्मक वृद्धितर्फ उन्मुख रहेको छ ।”

    कार्यालयको तथ्याङ्क अनुसार अर्थतन्त्रमा सबैभन्दा ठुलो हिस्सा रहेको व्यापार क्षेत्रको वृद्धि दर निकै कम र उत्पादनमूलक उद्योग क्षेत्रको वृद्धि दर ऋणात्मक भए पनि समग्र वृद्धि दर ४ प्रतिशत पुग्ने देखिएको हो । 

    औद्योगिक, व्यापार क्षेत्रको वृद्धि सन्तोषजनक देखिएन

    राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार उत्पादनमूलक उद्योग क्षेत्रको वृद्धिदर ऋणात्मक देखिएको छ । चालू आर्थिक बर्षको दोस्रो त्रैमास र अघिल्लो आर्थिक बर्षको सोही अवधिबीच क्षेत्रगत तुलना गर्दा अर्थतन्त्रका कुल १८ क्षेत्रमध्ये उत्पादनमूलक उद्योग क्षेत्रको वृद्धिदर ऋणात्मक (-०.४ प्रतिशत) भएको छ । 

    गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा यस वर्षको सोही अवधिमा औद्योगिक वस्तुको उत्पादनमा आएको कमीका कारण यो क्षेत्रको वृद्धि ऋणात्मक रहेको कार्यालयको अनुमान छ ।

    उत्पादनमूलक बाहेक सबै आर्थिक गतिविधि धनात्मक

    अर्थतन्त्रका १८ वटा औद्योगिक वर्गीकरणमध्ये गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा १७ वटाको मूल्य अभिवृद्धि सकारात्मक रहेको छ । 

    यसमध्ये आवास तथा भोजन सेवासँग सम्बन्धित क्रियाकलापको वृद्धि दर सबैभन्दा धेरै २९.३ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । यो वर्षको पहिलो तीन महिनामा यो क्षेत्रमा ११ प्रतिशतको वृद्धि दर थियो । गत वर्ष दोस्रो त्रैमासमा ४ प्रतिशतको वृद्धि दर थियो ।

    विद्युत तथा ग्यास क्षेत्रको वृद्धिदर १७.१ प्रतिशत रहेको छ । यो वर्ष पहिलो त्रैमासमा यो क्षेत्रको वृद्धिदर १.१ प्रतिशत मात्रै थियो। गत वर्ष दोस्रो त्रैमासमा १२ प्रतिशत थियो ।

    यस्तै, यातायात तथा भण्डारण क्षेत्रको वृद्धिदर १४.३ प्रतिशत र खानी तथा उत्खनन क्षेत्रको वृद्धि ९.४ प्रतिशत रहने अनुमान छ । निर्माण सामग्री उत्खननमा आएको २.२ प्रतिशतको वृद्धिले खानी तथा उत्खनन क्षेत्रसँग प्रत्यक्ष रूपमा भरपर्ने खानी तथा उत्खनन क्षेत्रको वृद्धिदरमा सकारात्मक प्रभाव पारेको तथ्यांक कार्यालयले जनाएको छ ।

    यता, पछिल्लो समय सिमेन्ट तथा क्लिङ्कर निर्यात बढेसँगै चुनढुङ्गा खानीहरूमा उत्खनन बढेको देखिन्छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको आठ महिनामा साढे दुई अर्बको सिमेन्ट तथा क्लिङ्कर भारतीय बजारमा निर्यात भएको छ । जबकि, गत आर्थिक बर्षभरिमा करिब ७८ करोडको मात्रै निर्यात भएको थियो ।  

    यस्तै, निक्षेप तथा कर्जामा भएको वृद्धिसँगै वित्तीय तथा बीमा क्षेत्रको वृद्धिदर ९.१ प्रतिशत पुगेको छ भने, अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा ओगटेको कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर ३ प्रतिशत रहने अनुमान छ । 

    चालु आर्थिक बर्षको पहिलो त्रैमासमा यस क्षेत्रको वृद्धिदर १.७ प्रतिशतको मात्रै थियो । त्यस्तै गत वर्षको दोस्रो त्रैमासमा २.७ प्रतिशत वृद्धिदर थियो । अन्नबाली तथा पशुजन्य उत्पादनमा भएको वृद्धिले यस क्षेत्रमा सकारात्मक प्रभाव पारेको कार्यालयले जनाएको छ । 

    यता, थोक तथा खुद्रा व्यापार क्षेत्रमा भने यो त्रैमासमा ०.५ प्रतिशतमात्र वृद्धि देखिन्छ । व्यापारजन्य वस्तुहरूको आयातमा भएको गिरावटले गर्दा व्यापार क्षेत्रको वृद्धि सन्तोषजनक हुन नसकेको कार्यालयको ठहर छ ।

    यस वर्षको दोस्रो त्रैमासमा थोक तथा खुद्रा व्यापार क्षेत्रमा भने झिनो (०.५ प्रतिशत) ले मात्र वृद्धि भएको छ । गत वर्षको दोस्रो त्रैमासमा यो क्षेत्रको वृद्धिदर १४.४ प्रतिशतले ऋणात्मक थियो । 
    “व्यापारजन्य वस्तुहरूको आयातमा भएको गिरावटले गर्दा व्यापार क्षेत्रको वृद्धि सन्तोषजनक हुन नसकेको हो,” प्रतिवेदनमा भनिएको छ, “दोस्रो त्रैमासमा औद्योगिक वस्तु उत्पादन क्षेत्रको मात्र मूल्य वृद्धिदर झिनो अंकले ऋणात्मक रहेको छ  ।”

    विगत तीन आर्थिक वर्षको त्रैमासक कुल गार्हस्थ्य उत्पादन वृद्धि दर विश्लेषण गर्दा नेपालको अर्थतन्त्र वृद्धिले एउटै दिशा तय गरिरहेको नदेखिने कार्यालयले जनाएको छ ।

    कुन क्षेत्रको अवस्था कस्तो ?

    कृषि वन तथा मत्स्य पालन : ३.३ प्रतिशत वृद्धि

    खानी तथा उत्खनन : ९.४ प्रतिशत वृद्धि

    औद्योगिक वस्तु उत्पादन : ०.४ प्रतिशत ऋणात्मक

    बिजुली, ग्यास र वातानुकूलित आपूर्ति : १७.१ प्रतिशत वृद्धि

    पानी आपूर्ति, ढल तथा फोहोर व्यवस्थापन : ०.८ प्रतिशत वृद्धि

    निर्माण क्षेत्र : २.२ प्रतिशत वृद्धि

    थोक र खुद्रा व्यापार, मोटरवाहन र मोटरसाइकल मर्मत : ०.५ प्रतिशत वृद्धि

    ढुवानी र भण्डारण : १४.३ प्रतिशत वृद्धि

    आवास र सेवा क्षेत्र : २९.३ प्रतिशत वृद्धि

    सूचना र सञ्चार : २.९ प्रतिशत वृद्धि

    वित्तीय र बीमा गतिविधिहरू : ९.१ प्रतिशत वृद्धि

    घरजग्गा गतिविधिहरू : २.७ प्रतिशत वृद्धि

    व्यावसायिक वैज्ञानिक र प्राविधिक गतिविधिहरू : ३.९ प्रतिशत वृद्धि

    प्रशासनिक र सेवा गतिविधिहरूः २.६ प्रतिशत वृद्धि

    सार्वजनिक प्रशासन र रक्षा, अनिवार्य सामाजिक सुरक्षा : ६.४ प्रतिशत वृद्धि

    शिक्षा क्षेत्र : ०.८ प्रतिशत वृद्धि

    स्वास्थ्य र सामाजिक गतिविधिहरू : ३.७ प्रतिशत वृद्धि

    कला, मनोरञ्जन र अन्य सेवा : ९.९ प्रतिशत वृद्धि

    आर्थिक वृद्धि दर ३.३ प्रतिशत हुने प्रक्षेपण

    विश्व बैङ्कले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको जनाउँदै चालू आर्थिक वर्षमा ३.३ प्रतिशत आर्थिक वृद्धिदर कायम रहने प्रक्षेपण गरेको छ । मङ्गलबार ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै विश्व बैङ्कले न्यून निजी लगानीबिच पनि नेपालको आर्थिक वृद्धिमा सुधार आएको जनाएको हो । 

    पाँच महिनाअघि बैङ्कले यो वृद्धि ३.९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको थियो । बैङ्कले आज आफ्नो अर्धवार्षिक आर्थिक परिदृश्य सार्वजनिक गर्दै आगामी आर्थिक बर्ष २०८१/८२ मा ४.६ प्रतिशत हुने प्रक्षेपण पनि गरेको छ । 

    पर्यटन सेवा र औद्योगिक क्षेत्रको योगदानसहित ऊर्जा र विप्रेषणको क्षेत्रमा भएको सुधारलाई आधार मानेर बैङ्कले उक्त प्रक्षेपण गरेको हो । गत आव २०७९/८० मा नेपालको आर्थिक वृद्धि दर २.२ प्रतिशत रहेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार