images
images

मौरीपालनको अवस्था, चुनौति र भावी कार्यदिशा

मौरीपालनको अवस्था, चुनौति र भावी कार्यदिशा

मौरी प्रवद्र्धन नीति २०७३ को कार्यान्वयन पक्ष प्रभावकारी हुन नसक्दा मौरीपालक व्यवसायीहरूको समस्या सम्बोधन हुन नसकेको गुनासो रहेको छ। यस नीतिमा मौरी बिमाको व्यवस्था भएता पनि कार्यान्वयन पक्ष फितलो रहेको छ।

आइतवार, बैशाख १६ २०८१
आइतवार, बैशाख १६ २०८१
  • मौरीपालनको अवस्था, चुनौति र भावी कार्यदिशा
    images
    images

    नेपालमा परापूर्वकालदेखि नै पालन गर्दै आइरहेको मौरीपालन व्यवसायको  व्यावसायिक उत्पादनको शुरुआत क्रमिक रूपमा विस्तार हुुँदै गइरहेको पाइन्छ । नेपालमा मौरीपालन व्यवसायबाट मह र अन्य मौरीजन्य उपजहरू उत्पादन गरी मनग्यै आम्दानी लिन सकिने बलियो सम्भावना छ ।

    झनै जैविक तथा भौगोलिक विविधिताका कारण नेपालमा पाइने धेरैथरीका प्राकृतिक बनस्पति र अपनाउदै आएको खेती प्रणालीसँगै मौरीपालन गरी वातावरण संरक्षण, खाद्यपोषण सुरक्षाका साथै आयआर्जन गर्ने प्रमुख पेशाको रूपमा यो व्यवसायलाई अपनाउन सकिने देखिन्छ । मौरीपालन व्यवसाय थालनी गर्नु पूर्व कम्तीमा पनि यसबारे आधारभूत ज्ञान र सिप हुनु अति जरुरी छ ।

    मौरीपालन भनेको पालनयोग्य मौरीलाई उपयुक्त वातावरण जुटाई आधुनिक तरिकाबाट पालन गरी मौरीका विभिन्न उपादेयताहरू (मह, कुट, मैन, प्रोपोलिस, शाही खुराक, वि भेनम, एपिलार्निल, हनिड्यु मह, मौरीघारको हावा) को उपयोग गरी लाभ लिन सकिने व्यवसाय हो ।

    मौरीले प्रकृतिमा पाइने बोटबिरुवाहरूबाट प्राप्त हुने पुष्परस तथा कुट बटुल्न विचरण गर्दै परागसेचनमा महत्वपूर्ण सघाउ पु-याएको हुन्छ । फलस्वरूप मौरीको कारण कृषि जैविक विविधता एवं पर्यावरण संरक्षणमा प्रत्यक्ष वा परोक्ष रूपमा ठुलो योगदान पुगेको हुन्छ । 

    नेपालको अर्थतन्त्रको करिब २३.९५ प्रतिशत योगदान पु-याउँदै आएको कृषिक्षेत्र र यस क्षेत्रले लिएको उद्देश्य हासिल गर्नको लागि अवलम्बन गरिएको आधुनिक खेतीप्रणाली अन्तर्गत लगाइएका फलफूल, तरकारी, तेलहन तथा अन्य बालीनालीहरूमा परागसेचनको आवश्यकता पर्दछ ।

    यसको लागि प्रभावकारी परागसेचक मौरीको योगदान निकै महत्वपूर्ण रहेको हुन्छ । मौरीबाट हुने परागसेचनको कारण बालीनालीको उत्पादन र उत्पादकत्व उल्लेखनीय रूपमा वृद्धि हुने अध्ययन, अनुसन्धानले देखाएको पाइन्छ । अतः मौरीपालन व्यवसायबाट नेपालमा कृषि क्षेत्रमा अधिकतम लाभ लिन सकिने अवस्था, मौरीचरनको उपयुक्त स्रोतहरू तथा राष्ट्रिय, अन्तर्राष्ट्रिय बजारको माग समेत रहेको कारण यहाँ मौरीपालन व्यवसायको प्रचुर संमावना देखिन्छ, यद्यपि यस क्षेत्रका समस्या र चुनौति भने नभएका होइनन् ।

    नेपालमा मह र मौरीजन्य उपजहरूको उत्पादन र उत्पादकत्व बढाई यसको आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्नुपर्ने राष्ट्रको रणनीति अनुसार मौरीपालनको क्षेत्रमा व्यावसायिकरण हुनु जरुरी देखिन्छ । परम्परागत रूपमा मौरीपालन गर्दै आउनु भएका आम कृषक व्यवसायीहरू अवका दिनमा आधुनिक मौरीपालनको अभ्यासको थालनी गरी राज्यको रणनीतिलाई साकार पार्नुपर्ने अवस्था आएको छ ।

    मौरीपालनको महत्व

    मौरीपालन व्यवसाय आयआर्जन र रोजगारी सृजना गर्न, बालीनालीको उत्पादन र उत्पादकत्व वृद्धि गर्न, जैविक विविधता तथा पर्यायवरण संरक्षण र खाद्य पोषण सुरक्षाका दृष्टिकोणबाट महत्वपूर्ण मानिन्छ । साथै मौरीपालन व्यवसायका थुप्रै फाइदाहरू पनि छन् । जुन तल उल्लेख गरिएको छ ।

     प्रत्यक्ष फाइदाहरू (मह, मैन, कुट, शाहीखुराक, मौरी विष, चोप, एपिलार्निल, हनिड्यु मह, मौरीगोला, गुणस्तर रानुको बेचबिखन गरी आयआर्जन गर्न सकिने) ।

     अप्रत्यक्ष फाइदाहरू (परागसेचन, स्वरोजगार, जैविक विविधता संरक्षण, प्राकृतिक सन्तुलन, बालीनालीको उत्पादन र उत्पादकत्वमा वृद्धि हुने) ।

     कम लगानी, श्रम र शक्तिबाट व्यवसाय सुरु गर्न सकिने र व्यवसाय शुरु गरेको पहिलो वर्षमा नै आयआर्जन गर्न सकिने ।

     बेग्लै जग्गा आवश्यक नपर्ने, सुकुम्बासी, सिमान्तकृत कृषकहरुले पनि सहजै अपनाउन सकिने र खेर गईरहेको फूलको रस र परागको सदुपयोग हुने ।

      मौरीले सृष्टिको सन्तुलन वनाई राख्न सहयोग गर्ने साथै दुर्लभ जातका बोटविरुवाको बंश संरक्षण हुने

     मौरीले गर्ने परागसेचन वापत शुल्क लिन सकिने साथै रोजगारीको अवसरमा वृद्धि हुने ।

     ठूला व्यवसायीहरुले मौरीजन्य उपजको उत्पादनमा लगानी गरी राष्ट्रिय/अन्तर्राष्ट्रिय बजारमा पहुँच बढाउन सकिने ।

     महको आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गरी विदेशी मुद्रा आर्जन गर्न सकिने । 

     मौरी पर्यटन (Api-tourism) बाट फाईदा लिन सकिने । 

    मौरीपालनको वर्तमान अवस्था

    नेपालमा परम्परागत मौरीपालन परापूर्व कालदेखि गरिंदै आएको भएता पनि रैथाने/स्थानीय (एपिस सेराना) जातको मौरीलाई प्राकृतिक एवं सांस्कृतिक सम्पदाको रूपमा परम्परागत मुढे घार एवं खोपे घारमा राखी मह उत्पादन गर्ने प्रचलन हाल पनि नेपालको प्रायः सबै क्षेत्रहरूमा पाइन्छ ।

    वि.सं. २०५१/०५२ सालमा मौरी विकास केन्द्र गोदावरीले भारतबाट ५० गोला विकासे मौरी (एपिस मेलिफेरा) नेपाल भित्र्याइ चितवन र सर्लाही जिल्लामा परिक्षणको रुपमा पालन गर्न शुरु गरिएपछि व्यावसायिक मौरीपालनको थालनी भएको हो ।

    मौरीपालनको क्षेत्रमा नेपाल सरकारको कार्यालयः मौरी विकास केन्द्र, गोदावरी (हाल संघमा अवस्थित छ) र मौरी विकास कार्यक्रम, भण्डारा चितवन (हाल बागमती प्रदेशमा अवस्थित छ) ले तालिम, गुणस्तर रानु उत्पादन तथा वितरण, समस्या देखा परेका क्षेत्रमा वि क्लिनिक सञ्चालन, इ एफ वि तथा माइट व्यवस्थापन अभियान र २ दिने घुम्ती तालिमका साथै अन्य गतिविधिहरू सञ्चालन गर्दै आएको छ ।

    यसका साथै अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले मौरीचरन, मौरीको वंश सुधार, मौरी प्रजाति संरक्षण, परागसेचन क्षमता अध्ययन तथा यसबारे पुस्तक, पुस्तिका प्रकाशन आदि गतिविधिहरु सञ्चालन गर्दै आएको छ, भने नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थाहरूले पनि मौरीपालन तथा परागसेचनसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आएको पाइन्छ । 

    नेपालमा मौरीपालक कृषकहरूको रोजगारीमा वृद्धि हुनुको साथै मौरीपालनबाट बालीबिरुवाहरूको परागसेचनमा प्रभावकारिता आई बालीबिरुवाहरूको उत्पादनमा गुणात्मक एवं परिमाणात्मक वृद्धि हुनुको साथै वातावरण संरक्षणमा समेत सहयोग पुगिरहेको छ । नेपालमा मौरीपालनको वर्तमान अवस्थाबारेको जानकारी तल तालिका १ मा दिइएको छ ।

    data.jpg

     मौरीपालनमा संलग्न सक्रिय कृषक : २०, ५७० परिवार (अनुमानित)

     व्यावसायिक मौरीपालन कृषक : १०, ००० परिवार (अनुमानित)

     दर्ता भएका मौरी स्रोत केन्द्रः ८५ (अनुमानित)

    नेपालमा मौरीपालनको सम्भावना

     मौरीपालनका लागि नेपालमा उपयुक्त जलवायुको उपलब्धताका साथै मौरीपालन नेपालको पुख्र्यौली पेशा भएकोले सजिलै व्यवसायीकतातर्फ उन्मुख गराउन सकिने ।

     प्राकृतिक चरनको विविधता र विविध बाली प्रणालीका साथै सरकारी क्षेत्रको अलावा नीजि तथा विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संस्थाहरूको मौरीपालन विकासमा संलग्नता रहेको अवस्था ।

     नेपाली महले विदेशमा आफ्नो पहिचान वनाईसकेको र देशभित्रै महको सेवनमा चासो तथा माग बढिरहेको अवस्थामा महको उत्पादन र उत्पादकत्व बढाउनेतर्फ नेपाल सरकारको नीति तथा कार्यक्रम रहेको । 

     अन्य मौरीजन्य उपजहरू  - शाही खुराक(Royal Jelly) , कुट (Pollen), चोप (Propolis), मैन (Wax), मौरी विष (Bee Venom), भाले शाही खुराक (Apilarnils), प्राणीजन्य मह (Honeydew Honey) उत्पादन गरी अन्तर्राष्ट्रिय बजारबाट प्रशस्त आम्दानी लिन सकिने ।

     महिला, दलित, जनजाती, पिछडिएको वर्ग र भूमिहिनको लागि आयस्रोतको प्रभावकारी माध्यम भएको ।

     भीर मौरीको मह शिकार (Honey Hunting) पेशालाई व्यवस्थित गरी मौरी पर्यटनको विकास गर्न सकिने ।

     हाल महलाई निर्यातयोग्य महत्वपूर्ण कृषि वस्तु (NTIS Commodity) को रुपमा पहिचान गरी सकिएको हुंदा गुणस्तरीय उत्पादनबाट बैदेशिक मुद्रा आर्जन तथा राष्ट्रिय ग्राहस्थ उत्पादनमा सहयोग हुने ।

    अतः नेपालको भौगोलिक वनोट र उपलब्ध प्राकृतिक स्रोतहरूमा मौरीलाई उपयुक्त हुने बोटबिरुवाको बाहुल्यता छ ।

    साथै सिजनमा लगाइने बालीनाली मौरीचरनको रूपमा अति नै उपयुक्त हुने गर्दछ । वनजङ्गलमा भएका वनस्पतिहरू पनि चरनको रूपमा प्रयोग भई मौरीपालनमा सघाउ पुग्न सक्दछ ।

    नेपालको विद्यमान वनजङ्गल, खेतीप्रणाली र चरन क्षमतालाई हेर्दा लगभग १० लाखसम्म मौरीगोला पालन गर्न सकिने अनुमान गरिएको छ । नेपालमा पालन गर्न सकिने मौरीगोला संख्या र यसको उत्पादन तथा आम्दानी तालिका २ मा दिइएको छ ।

    Data1.jpg

    नेपालमा मौरीपालनका समस्याहरू

    मौरीपालन व्यवसायको प्रशस्त सम्भावना र अवसर हुँदाहुदै यसको व्यावसायिक विकासका लागि थुप्रै समस्या अप्ठयाराहरू छन् । के छन् त ती समस्याहरू ?

    नीतिगत समस्या

     मौरी प्रवद्र्धन नीति २०७३ को कार्यान्वयन पक्ष प्रभावकारी हुन नसक्दा मौरीपालक व्यवसायीहरूको समस्या सम्बोधन हुन नसकेको गुनासो रहेको । यस नीतिमा मौरी बिमाको व्यवस्था भएता पनि कार्यान्वयन पक्ष फितलो रहेको ।

     नेपाल असल मौरीपालन अभ्यास कार्यान्वयन निर्देशिका २०७४ कार्यान्वयनमा नआउनु ।

     विना धितो तथा सस्तो व्याजदरको कृषि ऋणको पहुँचमा कमि ।

     विषादी आयत र प्रयोग सम्बन्धी नीति स्पष्ट रूपमा लागु हुन नसकेको ।

     क्वारेन्टाइन एवं मौरी क्षेत्र निर्धारण नीतिको अभावका कारण मौरी खरिद तथा ओसारपसार गर्दा विभिन्न रोग तथा परजीवीहरू भित्रिने र फैलिने सम्भावना उच्च जोखिममा रहेको ।

     चरण क्षेत्रविस्तारका लागि मौरी आहारका बोटविरुवा रोपण हुन नसक्नु र भएका वन जंगल डढेलोले नासिदै जानु ।

     मौरी चरनका लागि महत्त्वपूर्ण बालीनाली जस्तै तोरी, फापर, सूर्यमुखी तथा फलफूलका वोटविरुवा लगाउन कमी रहेको ।  

     मौरी चरनका लागि मौरी स्थानान्तरण प्रक्रिया समस्या पूर्ण रहेको ।

     विद्यामान उपलब्ध चरनस्रोतहरूको पहिचान र यसको चरन क्षमताको बारेमा अध्ययन अनुसन्धान हुन नसक्नु ।

    Screenshot 2024-04-28 145721.jpg

    प्राविधिक समस्या

     समसामयिक तालिम, अध्ययन, अवलोकन भ्रमणका अवसर प्राप्त नभएका कारण विद्यमान जनशक्तिमा मौरीबारेको दक्षताको अभाव ।

     मौरी विज्ञको अभाव : आइ.आई. (I.I) प्रविधिबाट रानु तयारी गर्न, नयाँ प्रजातिका मौरी पहिचानका लागि विज्ञ (Taxonomists) को अभाव ।

     नयाँ एवं उच्चतम प्रविधि, कृत्रिम गर्वाधानबाट गुणस्तर रानु उत्पादन गर्न नसक्नु ।

     मौरीका वंश क्रमशः ह्रास हुँदै गइरहेको अवस्थामा मौरीको जातिय पहिचान, संरक्षण हुन नसक्नु ।

     सर्वसुलभ रूपमा गुणस्तर मौरीपालन तालिमको अभाव रहेको ।

     मौरीका स्रोतकेन्द्रहरूको अवस्था, विश्वसनीयता, मूल्य एकरूपता र विक्री वितरण गरिएका मौरीजन्य सामग्रीहरूको गुणस्तर एवं सुलभ उपलब्धता हुन नसक्नु ।

     मह बजार र मह प्रशोधनको व्यवस्थापनको अवस्था नाजुक ।

     नविनतम प्रविधिको अध्ययन परीक्षण र अनुसरण हुन नसकेको ।

     प्राविधिक ज्ञान, सिपका कारण अन्य मौरीजन्य उपजहरुको उत्पादन तथा बजारीकरण हुन नसकेको अवस्था ।

    अन्य समस्या

     रैथाने मौरीका प्रजाति क्रमशः नासिंदै गइरहेको अवस्थामा तिनका संरक्षण एवं प्रवद्र्धन गर्न वजेट तथा कार्यक्रमले प्राथमिकता नपाएको ।

     मौरीपालनका क्षेत्रको आधिकारिक राष्ट्रिय तथ्याङ्क नहुनु । साथै, स्रोतकेन्द्र तथा कृषकस्तरमा मौरीपालनबारेको व्यवस्थित अभिलेख नहुनु ।

     मौरीपालन बारेको अध्ययन सामग्रीहरु सर्वसुलभ रूपमा नपाइनु ।

     नक्कली महको विगविगीले मौरी व्यवसायीहरू मनोवल घट्नु ।

     मौरीपालक कृषकस्तरमा रोगकीरा व्यवस्थापनका पक्षमा कमी कमजोरी रहनु ।

     मौरीपालन व्यवसायबाट हुनसक्ने फाइदाबारे पूर्ण ज्ञान नहुनु ।

     मौरीपालन सम्बन्धी आधुनिक प्रविधिबारे ज्ञानको कमी ।

     मौरी चरन विकास र संरक्षणमा ध्यान नदिनु । 

     मौरीजन्य उत्पादनहरुको गुणस्तर निर्धारण गर्ने संस्थागत विकास नहुनु वा उत्पादकको पहुँच नहुनु ।

     मौरीपालनका आधुनिक उपकरणहरु सर्वसुलभ नहुनु ।

     गुणस्तरीय रानु उत्पादनमा प्राथमिकता नदिनु ।

     मौरी व्यवसायीहरूको विद्यमान आन्तरिक बजार र अन्तर्राष्ट्रिय बजारसम्म पहुँच नहुनु ।

     मह उपभोगबारे जनचेतनामा कमी ।

     मौरीपरागसेचनको जनस्तरमा चेतनाको कमी ।

     महको उत्पादन लागत बढी हुनु (अन्य मुलुकको तुलनामा) ।

     उत्पादन गरेको महको उचित मूल्य कृषकले प्राप्त गर्न नसक्नु ।

     भौतिक पुर्वाधारको अभाव (सङ्कलन केन्द्र, भण्डारण, प्रयोगशाला, वि क्लिनिक, प्रशोधन केन्द्र, प्रमाणीकरण प्रणालीको अभाव) ।

     घार निर्माणको लागि सहजरुपमा काठ उपलब्ध हुन नसक्नु ।

     मौरीचरनको स्रोतहरुकोबारे आधिकारिक तथ्याङ्क नहुनु र उपलव्ध भएका चरनक्षेत्रमा बाटोघाटोको सुविधा नहुनु ।

     मौरीपालनको कार्यक्रम सञ्चालन गर्ने सरकारी, अन्तर्राष्ट्रिय र राष्ट्रिय गैर सरकारी संस्थाहरू बीच समन्वय नहुनु ।

     चरन क्षेत्रमा अनाधिकृत रूपमा शुल्क एवं चन्दा असुली हुनु ।

     मौरीको चरनमा प्रयोग हुने विषादीको असरले कृषकहरूलाई अप्ठयारो पर्नु ।

    नेपालमा मौरीपालनका चुनौतिहरू

    नेपालमा मौरीपालन व्यवसायमा प्रत्यक्ष वा परोक्षरुपमा निम्न वमोजिमका चुनौतिहरू विद्यमान छन् :

     युवा जनशक्ति विदेशिनु (मौरी व्यवसायको पहिचान गर्न नसक्दा) ।

     बजारमा कृत्रिम महको विगविगी ।

     नेपाली बजारमा स्वदेशी मह भन्दा आयतित महको वाहुल्यता रहनु  साथै आयतित मह र गुलियो पदार्थ नेपाली महको रुपमा बजारमा बेचविखन हुनु ।

     मौरीको जातिय संरक्षण, संवद्र्धन र सुधारका कामहरू नहुनु ।

     मौरीमा रोगकीरा तथा अन्य शत्रुजीवको समस्या ।

     मौरी क्षेत्रका पुराना व्यवसायीहरू क्रमिक रुपमा पलायन हुँदै जानु ।

     वनजंगलको विनास, डढेलो तथा वन अतिक्रमण हुनु तर मौरी चरणका लागि उपयुक्त वृक्षारोपण नहुनु ।

     व्यावसायिक खेतीको नाममा अत्याधिक विषादीको प्रयोगको अवस्था साथै विषादी अवशेष अुगमन कार्यक्रमको अभाव, अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला र उपकरणको कमी, गुणस्तर प्रमाणिकरण प्रणालीको कमी ।

     प्रशोधन तथा प्याकेजिङ जस्ता सुविधाहरू केन्द्रिय, क्षेत्रिय तथा जिल्ला स्तरमा उपलब्ध नहुदा गुणस्तरीय मह व्यापारमा समस्या परिरहेको अवस्था । 

     चरनक्षेत्रमा यातायात पहुँच तथा अन्य पूर्वाधार पर्याप्त नहुनु ।

     प्राविधिकको दक्षता अभिबृद्घि एवं उपलब्ध जनशक्तिको समुचित परिचालनमा सरोकारवाला निकाय गम्भीर नहुनु ।

     मौरीको जातीय संरक्षण तथा बंश सुधारका कार्य, ब्याबसायीक मौरीपालन तर्फ अनुुसन्धान तथा प्रविधिको विकासमा कमी ।

     मौरीपालन सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने विभिन्न सरकारी गैरसरकारी तथा नीजि क्षेत्र बिच समन्वय र सहकार्यको अभाव एवं मौरी प्रवद्र्धन नीति २०७३ तथा नेपाल असल मौरीपालन अभ्यास कार्यन्वयन निर्देशिका २०७४ को प्रभावकारी कार्यान्वयन । 

    भावी कार्यदिशा

    समग्र मौरीपालन क्षेत्रको विकासका लागि अब कसरी जाने त ?

    १) मौरीपालनको व्यावसायिक उत्पादन गर्नेतर्फ,

     रानु तथा मौरीगोला उत्पादन

     मह उत्पादन

     मौरीका अन्यउपजहरू (शाही खुराक, चोप, कुट, मैन, वि भेनम, हनिड्यु मह, एपिलार्निल, विब्रेड, मौरी घारको वाफ)

     उत्पादनमा आधारित अनुदान (राज्य वा सहयोगी निकायबाट प्राप्त हुने)

    २) उत्पादित उपजहरूको गुणस्तर कायम गर्नेतर्फ

     गुणस्तर परीक्षणका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला (Accredited Lab) स्थापना र सञ्चालन

     नेपाली महको ब्रान्डिङ (Branding)

     प्राङ्करिक महको प्रमाणीकरण (Organic Honey Certification)

     मौरी स्रोतकेन्द्रहरूको क्षमता विकास (मौरीघार तथा मौरीजन्य सामग्रीहरू)

     मह (कृषक, खाद्य प्रविधि तथा गुण नियन्त्रण प्रयोगशाला (DFTQC), मौरी विकास केन्द्रको भूमिका)

     मौरीजन्य उत्पादनहरू 

     मौरी गोला उत्पादन तथा बेचविखन 

     स्वस्थ रानु उत्पादन तथा बेचविखन

    ३) उत्पादित उपजहरूको बजार र बजारीकरणतर्फ

     मह सङ्कलन तथा प्रशोधन केन्द्रको स्थापना र सञ्चालन

     गुणस्तर कायम राख्नको लागि आवश्यक गतिविधिहरू

     व्यावसायिक उत्पादन (परिमाण, गुणस्तर, निरन्तरता र दीगो, मूल्यको सुनिश्चितता)

     मूल्य श्रृङ्खला

     सरकारी नीति (प्रहरी, सैनिक, विद्यालय, अस्पतालमा मह सेवन)

     एपि टुरिजम (Api-Tourism) को विकास

    ४) मौरीको जातीय संरक्षण तथा संवद्र्धन

     जंगली मौरी (भिरमौरी, खागोमौरी, कठ्यौरी तथा पुत्का) संरक्षण (तालिम, प्रविधि, तथा जनचेतना) ।

     व्यावसायिक मौरी (एपिस सेराना, एपिस मेलिफेरा) को वंश सुधार (Selection & AI technology)

     गोला व्यवस्थापन, चरनक्षेत्रको विस्तार तथा व्यवस्थापन (मौरी नीति तथा कार्यक्रम) ।

     वि क्लिनिक सञ्चालन, रोग तथा परजीविको व्यवस्थापन ।

     परागसेचन तथा जनचेतना ।

     मौरी परागसेचन प्रर्दशन, अध्ययन, अनुसन्धान, जनचेतना, तालिम ।

     अध्ययन अनुसन्धान (जातिय सुधार, उत्पादन वृद्धि, संरक्षण, नयाँ प्रविधिको विकास एवं भित्र्याउने)

    • एपिस मेलिफेरा
    • एपिस सेराना
    • अन्य रैथाने प्रजाति 
    • नार्क, नास्ट, मौरी विकास केन्द्र (NARC, NAST, ADC), विश्व विद्यालय, शिक्षण संस्थाहरू अध्ययन अनुसन्धनमा प्राथमिकताका साथ लाग्नुपर्ने ।

    ५) जनशक्ति विकास

     मौरीपालनका क्षेत्रमा जनशक्ति विकास गर्न अध्ययन, तालिम तथा अवलोकन भ्रमणको व्यवस्था गर्ने । 

     नीतिको प्रभावकारी कार्यान्वयन गर्ने । 

    निष्कर्ष 
     
    समग्र मौरीपालनको क्षेत्रको विकास र विस्तारका लागि,

     देशैभरीका मौरीपालक कृषक, मौरी गोला संख्या, मौरी स्रोतकेन्द्र, व्यवसायी, घार उद्योगको रजिष्ट्रेशन गरी राष्ट्रिय तथ्याङ्क डाटावेश तयार गर्ने । 

     मौरी स्रोतकेन्द्रहरूलाई व्य वस्थित र विश्वसनीय बनाउन क्षमता विकास र स्तरोन्नति गर्दै लग्ने । 

     विश्वासिलो, भरपर्दो र मान्यता प्राप्त प्रयोगशालाको स्थापना गरी सेवा प्रवाह गर्ने (सबै प्रदेशहरूमा) ।

     केन्द्रीयस्तरमा वि क्लिनिक स्थापना गरी मौरी स्रोत केन्द्रहरूमा वि क्लिनिक अभियानको रूपमा सञ्चालन गर्ने ।

     जुम्ला, कालिकोट, जाजरकोट तथा अन्य क्षेत्रमा पाइने रैथाने एपिस सेराना सेराना जातको उपप्रजाति मौरीको अध्ययन गरी नश्ल सुधार प्रयासको थालनी गर्ने र महको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने ।

     मौरीको परागसेचनमा भूमिकाबारे जनचेतना फैलाउन मौरी पकेट क्षेत्रहरूमा कृषकस्तरमा परागसेचन प्रदर्शन कार्यक्रम सञ्चालन गरी बालीमा तुलनात्मक उत्पादनको भिन्नता बारे जनचेतना अभिवृद्धि गर्ने ।

     मौरी चरनपात्रो तयारी गरी देशभरीको मौरी चरन क्षमता अध्ययन तथा विस्तार गर्ने ।

     विषादीमुक्त र प्राङ्गारिक मौरी चरन क्षेत्रको विस्तारमा कार्यक्रमहरू सञ्चालन गर्ने ।

     नयाँ स्थानमा मौरीपालनको सम्भाव्यता अध्ययन गरी क्षेत्र विस्तार गर्दै लग्ने ।

     नेपालमा रहेका भीर मौरी लगायत विभिन्न प्रजातिका रैथाने मौरीहरूको संरक्षण, संवद्र्धन तथा व्यवस्थापन गर्ने । 

     अन्य मौरीजन्य उपजहरूको व्यापक उत्पादन,प्रशोधन र बजारीकरण गर्न सवै प्रदेशका कृषकहरूलाई तालिम तथा शिप प्रदान गरी प्रोत्साहन गर्ने ।

     रानु प्रजनन्, कोलोनी छनोट, संरक्षण तथा विस्तार गर्ने ।

     मौरी बिमा कार्यक्रम तथा उत्पादनमा आधारित अनुदानका कार्यक्रम सञ्चालन गर्ने ।

     मौरीजन्य उत्पादनलाई मूल्य श्रृङ्खलामा जोड्ने र राष्ट्रिय, अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पु-याउने ।

     एपी टुरिजम (Api-tourism) को विकास र विस्तार गर्दै लैजाने । 

    सन्दर्भ सामाग्रीहरुः

    श्रेष्ठ, तीर्थ कुमार (२०७८).मौरीपालनको आधारभूत सिकाइ (Basic Learning for Bee keeping), सिग्मा जनरल अफ्सेट प्रेस, ललितपुर ।

    व्यवसायिक किट विकास केन्द्र (२०७३). मौरी प्रबद्र्धन नीति २०७३ ।

    कृषि विकास मन्त्रालय (२०७४).नेपाल असल मौरीपालन अभ्यास कार्यन्वयन निर्देशिका २०७४।

    Ministry of Agriculture and Livestock Development .2078/079. Statistical information on Nepalese Agriculture

    कृषि सूचना तथा प्रशिक्षण केन्द्र (२०८०). कृषि तथा पशुपन्छी डायरी २०८० ।

    (लेखक तीर्थ कुमार श्रेष्ठ मौरी विकास केन्द्र, गोदावरी, ललितपुरका प्रमुख हुनुहुन्छ ।)

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार