चर्चित समाचार
  • विद्यार्थीको शारीरिक, मानसिक, बौद्धिक विकासका लागि स्काउटको तीन दिने क्याम्प सम्पन्न

    विद्यार्थीको शारीरिक, मानसिक, बौद्धिक विकासका लागि स्काउटको तीन दिने क्याम्प सम्पन्न

    मंगलवार, जेठ १ २०८१
    मंगलवार, जेठ १ २०८१
  • विद्यार्थीको शारीरिक, मानसिक, बौद्धिक विकासका लागि स्काउटको तीन दिने क्याम्प सम्पन्न

    काठमाडौँ / महानगरपालिकाको आर्थिक सहयोग र नेपाल स्काउट बागमती प्रदेश स्थानीय स्काउट कार्यालय काठमाडौँको आयोजनामा तीन दिने स्काउट क्याम्प सम्पन्न भएको छ । नेपाल स्काउट राष्ट्रिय परिषद् सदस्य तथा आयुक्त शिवराम अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त स्काउट क्याम्पमा काठमाडौँ महानगरपालिकाका ५३ सामुदायिक विद्यालयका १५० विद्यार्थीको सहभागिता रहेको  थियो । 

    कार्यक्रममा बोल्दै आयुक्त अर्यालले विद्यार्थीलाई प्रकृतिसँग नजिक बनाउँदै उनीहरूको शारीरिक,मानसिक तथा आध्यात्मिक विकासका साथै नेतृत्व क्षमतावृद्धिका लागि यस्ता स्काउट क्याम्प गर्न अति नै जरूरी हुने बताए । 

    प्रकृतिसँग विद्यार्थीलाई नजिक बनाएर शिक्षण सिकाइ गर्नु कति आवश्यक रहेछ भन्ने कुराको एक उदाहरणका रूपमा स्नेहा लामिछानेको घटनालाई हेर्न सकिन्छ । एक हप्तासम्म परिवारलाई कुनै सूचना नदिई हराएकी स्नेहा लामिछाने पशुपतिको जंगलमा फेला परेको समाचार भर्खरै बाहिरिएको छ । 

    विद्यार्थी लामिछाने हराउनुको मुख्य कारण पढाइको प्रेसर,परिवारको प्रेसर भएको जनाउनुले हामीले हाम्रा विद्यार्थीलाई जीवन उपयोगी शिक्षा दिनुको साटो ए प्लस ल्याउनैपर्ने बाध्यात्मक अवस्थाको सिर्जना गर्यौँ । 

    त्यसको एक बलियो प्रमाणका रूपमा यो घटना बाहिर आएको छ । हाम्रा विद्यार्थी किताबको भारी र पढाइको प्रेसरका कारण शारीरिक र मानसिक रूपमा थकित बन्दै गएका छन्  । 
    यसरी विद्यालय तथा कलेजले दिने पढाइको प्रेसरलाई कम गर्न र प्रकृति नजिक गराएर विद्यार्थीको थाकेको मानसिकतालाई पुर्नताजगी गर्नका लागि स्काउटिङ शिक्षा र यसका गतिविधि अत्यावश्यक देखिन्छन् । 

    करिब ७० वर्ष अगाडिदेखि नै नेपाल स्काउटले विश्व स्काउटको मूल्य मान्यतालाई लिएर विद्यार्थीको शारीरिक,मानसिक, बौद्धिक र आध्यात्मिक विकासका लागि अगाडि बढाएको एक नन् फर्मल शैक्षिक अभियान हो ‘स्काउटिङ शिक्षा’ । 

    नेपाल स्काउटले सन् २०३२ सम्ममा ७ लाख सक्रिय स्काउटको संख्या पुर्याउने लक्ष्य लिएको छ । उक्त लक्ष्य हासिल गर्नका लागि नेपाल स्काउटले स्थानीय ,प्रदेश तथा केन्द्रस्तरमा नै आफ्ना स्काउटिङ गतिविधिलाई बढाउँदै लगेको छ । समाज रूपान्तरणमा स्काउटका गतिविधि बढिरहँदा स्काउटिङ गतिविधिको  आवश्यकता र महत्व बढ्दै गएको देखिन्छ । 

    पछिल्लो समयमा नेपालको राजनीतिमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उनको टिमको कार्यशैलीको चर्चा सबैतिर चल्ने गरेको छ । मेयर बालेन्द्र शाहको कार्यशैलीलाई अरू महानगरपालिका र नगरपालिकाले पनि सिक्न  लायक रहेको विज्ञहरूले बताउन थालेका छन् । 

    मेयर बालेन्द्र शाहले स्काउटिङ शिक्षा र यसका गतिविधिलाई सूक्ष्म रूपमा बुझेका कारण उनले स्काउटका गतिविधिलाई प्राथमिकतामा राखेको प्रस्टै देख्न र अनुभव गर्न सकिन्छ । 
    अघिल्लो हप्तामात्र मेयर शाहले एक कार्यक्रममा बोल्दै  स्काउटिङ शिक्षा हरेक विद्यालयले अनिवार्य गर्नुपर्ने बताए । 

    स्काउट क्याम्पमा काठमाडौँ महानगरपालिका, शहरी विकास आयोजना सदस्य शैलेन्द्र झा, काठमाडौँ महानगरपालिकाका जिल्ला अधिकारी गोविन्दप्रसाद शर्मा, मेयरको सचिवालय सदस्यहरू तथा महानगरपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारीहरू, नेपाल स्काउट काठमाडौँ महानगरपालिका प्रमुख आयुक्त ज्ञानी महर्जन, महानगरपालिका सामुदायिक विकास आयुक्त पुष्पराज सिंखडा, संख्यावृद्धि आयुक्त राज सिंखडा, कार्यक्रम संयोजक मुना लामा, लगायत कार्यसमिति सदस्यहरू रञ्जनलाल श्रेष्ठ,जोस्ना खड्काका साथै रोभर÷ रेञ्जर स्काउटहरूको समेत उपस्थिति रहेको थियो । 

    काठमाडौँ महानगरपालिका र नेपाल स्काउट स्थानीय स्काउट कार्यालयको संयुक्त आयोजनामा सञ्चालित उक्त कार्यक्रम वैशाख २९ गते सुरु भएर वैशाख ३१ गते सम्पन्न भएको हो । 
     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार