चर्चित समाचार
  • इरान : हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रायसीसहित नौ जनाको मृत्यु भएको पुष्टि

    इरान : हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रायसीसहित नौ जनाको मृत्यु भएको पुष्टि

    सोमवार, जेठ ७ २०८१
    सोमवार, जेठ ७ २०८१
  • इरान : हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रायसीसहित नौ जनाको मृत्यु भएको पुष्टि

    इरानको उत्तरपश्चिमी क्षेत्रमा आइतबार दुर्घटना भएको हेलिकप्टरमा सवार इरानी राष्ट्रपति इब्राहिम रायसी, विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियन र अन्य सबैको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् । 

    प्रेस टिभीद्वारा सम्प्रेषित समाचारमा भनिएको छ, “हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रायसी, विदेशमन्त्री हुसेन अमिर–अब्दुल्लाहियन, पूर्वी अजरबैजानका गभर्नर मालेक राहमती, इस्लामिक धर्मगुरू मोहम्मद अली अले–हाशेम र अन्य सबै यात्रुहरूको मृत्यु भएको छ ।”

    इरान–अजरबैजान सीमा क्षेत्रबाट फर्कने क्रममा इरानको उत्तरपश्चिममा रहेको तब्रिज सहरतर्फ जाँदै गर्दा राष्ट्रपति रायसी सवार हेलिकप्टर खराब मौसम (बाक्लो हुस्सु) का कारण दुर्घटनामा परेको थियो । हेलिकप्टरको भग्नावशेष खोयलर गाउँबाट केलेम जाने बाटोमा सोमबार बिहान क्षतविक्षत अवस्थामा फेला परेको हो ।

    इरानी समाचार संस्था आइआरएनएका अनुसार राष्ट्रपति र विदेशमन्त्रीको निधनपछि तत्काल मन्त्रिपरिषद् बैठक बोलाइएको छ । केही शवहरू पहिचान खुल्न नसक्ने गरी जलेको इरानी अधिकारीहरूले बताएका छन् ।  

    रेड क्रिसेन्टले लिएको भग्नावशेषको ड्रोन फुटेज राष्ट्रिय सञ्चारमाध्यममा प्रसारित गरिएको थियो । सिएनएनका अनुसार फुटेजमा ठाडो जङ्गली पहाडमा दुर्घटनामा परेको हेलिकप्टरको निलो र सेतो पुच्छरभन्दा बाहेक सबै भाग जलेको वा क्षतिग्रस्त भएको देखिन्छ । 

    दुर्घटनास्थलको सम्भावित दिशा घोषणा भएपछि उद्धार टोली तुरुन्तै तोकिएको स्थानमा गएको भएपनि हेलिकप्टर फेला नपरेको तस्निम न्यूजले वर्जेकानबाट जानकारी गराएको हो । 

    उत्तरपश्चिम इरानमा आइतबार दुर्घटना भएको हेलिकप्टरमा राष्ट्रपति रायसीसहित तीन उच्च पदस्थ सरकारी अधिकारी, एक जना इस्लाम धर्मगुरू र चालक दलका सदस्य र सुरक्षा टोली गरी नौ जना सवार रहेको  तस्निम न्यूजले उल्लेख गरेको छ । 

    मृत्यु हुने अन्य व्यक्तिमा चालक, सह–चालक, चालक दलका प्रमुख, सुरक्षा प्रमुख, र एक अङ्गरक्षक रहेको जानकारी दिइएको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार