भगवान वुद्ध एक गाउँमा उपदेश दिँदै थिए। उनी भन्दै थिए– प्रत्येक मानव धर्ती जस्तै सहनशील र क्षमताशील हुनुपर्छ ।
रिस यस्तो आगो हो, जसमा क्रोध गर्ने व्यक्तिले अर्कोलाई पनि जलाउँछ र आफू पनि जल्छ ।’ सभामा सबै शान्तिसँग बुद्धको वाणी सुनिरहेका थिए ।
तर, त्यो सभामा स्वभावैले निकै रिसाहा व्यक्ति पनि बसिरहेका थिए। जसलाई बुद्धका यी वाणी तर्कहीन लागिरहेको थियो । केही समयसम्म त उसले बुद्धका यी वाणी सुने ।
तर, अति भएपछि आफूमाथि नियन्त्रण गुमाउँदै बुद्धलाई गाली गर्न थाले । भन्न थाले– तिमी पाखण्डी हौ, ठूलाठूला कुरा गर्ने तिम्रो काम नै हो । तिमीले मानिसलाई भ्रमित गरिरहेका छौ ।
तिम्रा यस्ता उपदेशले आजको समाजमा केही अर्थ राख्दैन ।’ यस्ता कटु बचन सुनेर पनि बुद्ध शान्त थिए। आफूलाई गरेको गाली सुनेर बुद्ध न दुखी भए न कुनै प्रतिक्रिया नै दिए। यो देखेर ती व्यक्ति झन् क्रोधित भए र उसले बुद्धको मुखमा थुकि दिए र त्यहाँबाट हिँडे । भोलिपल्ट जब उनको रिस शान्त भयो तब अघिल्लो दिन आफूले गरेको व्यवहारप्रति पश्चाताप भयो।
ती व्यक्तिले भोलिपल्ट बुद्धलाई खोज्दै फेरि त्यही स्थानमा पुगे । तर भगवान बुद्ध आफ्ना शिष्यसहित अर्कै गाउँमा पुगेका थिए । ती व्यक्तिले मानिसलाई सोध्दै सोध्दै बुद्धले प्रवचन दिइरहेको ठाउँमा पुगे। बुद्धलाई देख्ने वित्तिकै उनी बुद्धको चरणमा परे अनि क्षमा माग्न थाले ।
बुद्धले ती व्यक्तिलाई सोधे–तिमी को हौ ? तिमीलाई के भएको छ ? अनि किन क्षमा मागिरहेका छौ ?
ती व्यक्तिले बुद्धलाई भने– तपाइँले बिर्सिनु भयो र ? म त्यहि व्यक्ति हो जसले हिजो तपाइँलाई निकै नराम्रो व्यवहार गरेको थिएँ । म लज्जित छु ।
र मेरो नराम्रो व्यवहारको क्षमा याचना गर्न आएको छु।’
भगवान बुद्धले प्रेमपूर्वक भने– विगतलाई त मैले त्यँहि छोडेर हिँड्छु । तिमी अझै पनि त्यहि कुरामा अल्झेका छौ ?’
बुद्धले अगाडि भने– तिमीलाई आफ्नो गल्तीको आभास भएको छ । तिमी पश्चाताप पनि गरेका छौ। अब तिमी निर्मल भइसकेका छौ। अब तिमी वर्तमानमा प्रवेश गर। नराम्रो कुरा नराम्रो घटना सम्झिँदा वर्तमान र भविष्य दुवै विग्रिन सक्छ।
हिजोलाई लिएर आजलाई पनि नबिगार।’ त्यो व्यक्तिको सबै बोझ हल्का भयो। उनले भगवान बुद्धको चरणमा परेर क्रोध त्याग र क्षमाशीलताको संकल्पगरे। बुद्धले उनको टाउकोमा आशीर्वाद दिँदै हात राखे ।
त्यो दिनदेखि ती रिसाहा व्यक्तिमा परिवर्तन आयो र उनको जीवनमा सत्य, प्रेम र करुणाको धारा बग्न थाल्यो ।