काठमाडौँ / नेपालमा विद्युतीय गाडी वुलिङ्गको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स प्रा.लि.ले नबिल बैङ्कसँग औपचारिक साझेदारीको घोषणा गरेको छ।
आफ्ना समस्त ग्राहकहरुलाई उत्कृष्ट वित्तीय सुविधा उपलब्ध गराउन कम्पनीले उक्त बैङ्कसँग साझेदारी गरेको हो । वुलिङ्ग बिङ्गो इभिमा रुचि राख्ने नेपाली ग्राहकहरूको पहुँचमा पुर्याउन र आर्थिक सहजता प्रदान गर्न यो सहकार्य गरिएको कम्पनीले जनाएको छ।
चीनको गुआङ्सी, लिउझाउमा सन् १९२८ मा स्थापना भएको वुलिङ्गले सेनाका उपकरणहरू मर्मत गर्नेदेखि विमान, खेती गर्ने मेसिन र ट्रयाक्टरहरु उत्पादन गर्ने काम गरेको थियो।
१९८० को दशकमा मित्सुबिशीसँग साझेदारी गर्दै वुलिङ्गले गाडी उत्पादनमा प्रवेश गर्यो। सन् २००२ मा SAIC-GM-Wuling संयुक्त उद्यम स्थापना भएको थियो, जसले वुलिङ्ग Hongguang MPV र HongGuang MiniEVको सफल नेतृत्व गर्यो।
२०२० देखि २०२२ सम्म विश्वको सबैभन्दा धेरै बिक्री हुने सानो इलेक्ट्रिक कारको रुपमा ख्याति कमाएका यी गाडीहरु २०२३ को शुरुवातमा १.१ मिलियन भन्दा बढी बिक्री भएको थियो।
आज वुलिङ्गले गुआङ्क्सी अटोमोबाइल समूह अन्तर्गत बिजुली र जीवाश्म इन्धन SUV, MPV, पिकअपहरु, र व्यावसायिक सवारीहरु उत्पादन गर्दछ।
यो साझेदारीसँगै, वुलिङ्ग बिङ्गो इभि परिवारमा सामेल हुन चाहने ग्राहकहरुले अब नबिल बैंकको उत्कृष्ट वित्तिय सुविधाहरुबाट लाभान्वित हुन सक्नुहुनेछ, जसमा ७ वर्षसम्मको फ्लोटिंग ऋण सुविधा र गाडीको मूल्यको ८० प्रतिशतसम्मको फाइनान्सिङ्ग सुविधा लगायतका छन्।
ग्राहकहरूले ५ वर्षको लागि ९.९९ प्रतिशत र ७ वर्षको लागि १०.४९ प्रतिशतको स्थिर ब्याज दरहरु, वा आधार दर प्लस प्रिमियम मोडेलमा आधारित अस्थिर ब्याज दर (१-३ प्रतिशतको प्रिमियम र अघिल्लो तीन महिनाको औसत आधार दर) बीच छनौट गर्न सक्नुहुनेछ।
बैंकले व्यक्तिगत कर्जाको लागि भ्याट बिलको ८० प्रतिशतसम्म र फर्मका लागि ७० प्रतिशतसम्म फाइनान्सिङ्ग गर्नेछ, जसको वित्तिय सीमा रु. २५ लाख रहेको छ।
अटो लोनको अवधि बैंकको नीति अनुसार स्ट्यान्डर्ड लोन एड्मिनिस्ट्रेसन फिसहित अधिकतम ७ वर्षसम्म लम्बिन सक्छ।
पारामाउन्ट मोटर्सका प्रवक्ता भन्छन् “हामी हाम्रा ग्राहकहरूलाई वुलिङ्ग बिङ्गो इभिको लागि सहज र सुलभ वित्तिय सुविधाहरु प्रदान गर्न नबिल बैंकसँग साझेदारी गर्न पाउँदा हर्षित छौँ। नेपालमा विद्युतीय गतिशीलता प्रवर्द्धन गर्न र वुलिङ्ग बिङ्गो ईभीलाई सबैको लागि पहुँचयोग्य बनाउने हाम्रो मिसनमा यो सहकार्य एउटा महत्वपूर्ण कोसेढुङ्गा हो।”
वुलिङ्ग नेपाल र नबिल बैङ्क विद्युतीय सवारी साधन खरिद गर्ने प्रक्रियालाई सहज र लाभदायक बनाउँदै ग्राहकहरुलाई उत्कृष्ट सेवा र सुविधा प्रदान गर्न प्रतिबद्ध छ।