प्रधानमन्त्रीले बोलाएपछि बालुवाटार पुगे ओली, बुढानिलण्ठमा चहलपहल

प्रधानमन्त्रीले बोलाएपछि बालुवाटार पुगे ओली, बुढानिलण्ठमा चहलपहल

मंगलवार, असार १८ २०८१
मंगलवार, असार १८ २०८१
  • images
    images
    प्रधानमन्त्रीले बोलाएपछि बालुवाटार पुगे ओली, बुढानिलण्ठमा चहलपहल

    काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएपछि उनी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् । 

    नेपाली कांग्रेस र नेकपा एमालेबिच मध्यरात सत्ता सहकार्यबारे सहमति भएपछि प्रचण्डले ओलीलाई भेट्न बोलाएका हुन् । 

    आजै एमाले मन्त्रीहरूले राजीनामा दिने बताइएको छ ।

    नेपाली कांग्रेस र नेकपा एमालेबिच नयाँ सत्ता समीकरण बनेसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बिहानैबाट चहलपहल सुरु भएको छ । 

    सभापति देउवा निवासमा बिहानैबाट कांग्रेसका नेता कार्यकर्ताको ओहोरदोहोर चलेको छ । 

    यसैबिच नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने गरी नेपाली कांग्रेस र नेकपा एमालेबिच नयाँ सहमति भएको बताएका छन् ।

    महासचिव पोखरेलले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत कांग्रेस एमाले सहमति र त्यसबारे प्रतिक्रिया दिएका हुन् । 

    कांग्रेस र एमालेबीच नयाँ सहकार्य

    सङ्घीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सत्ता समीकरणका लागि सहमति गरेका छन् । गए राति दुई दलबीच संविधान संशोधनलगायत  कार्यसूची (एजेण्डा) सहित सहमतिको नयाँ सरकार बनाउन सहमति भएको कांग्रेसका एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् । 

    ती दुई दलबीचमा सहमति भएको भनिएको सहमतिको खाका सार्वजनिक भने गरिएको छैन । 


     नाम उल्लेख नगर्ने शर्तमा उनले भने, “छलफल र गृहकार्यपछि तयार गरिएको नयाँ सत्ता समीकरणसहितको  सहमतिपत्रमा कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राति नै हस्ताक्षर गर्नुभएको छ । ” 
     
    प्रमुख ती दुई दलका बीचमा निर्वाचन प्रणालीलगायतका विषयमा संविधान संशोधन गर्न सुझाव आयोग बनाउने समझदारी पनि बनेको बताइएको छ । दुवै पार्टीले आन्तरिक रूपमा थप छलफल गरेपछि नयाँ बन्ने सरकारमा मन्त्रालयगत जिम्मेवारीसम्बन्धी निष्कर्षमा पुग्ने जनाएका छन् । 

    नयाँ सत्ता समीकरणका लागि सभापति देउवा र अध्यक्ष ओलीबीच केही दिन नियमित रूपमा छलफल हुँदै आएको थियो । सोमबारको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा सभापति देउवाले अध्यक्ष ओलीसँग यही असार १५ गते भएको भेट सकारात्मक भएको जानकारी  गराएका थिए । 

    परिवर्तित राजनीतिक सन्दर्भको विषय सार्वजनिक भएपछि सो बारेमा छलफल गर्न कांग्रेस, एमाले, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) , राष्ट्रिय स्वतन्त्र पार्टीको  आ–आफ्ना पदाधिकारी र सचिवालय बैठक बस्दै छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार