भद्रपुर (झापा) / नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली चौथोपटक प्रधानमन्त्री बनेपछि गृहजिल्ला झापावासी हर्षित भएका छन् ।
जिल्लामा विकास निर्माणलगायतका कामले थप गति लिने अपेक्षासहित जिल्लावासी हर्षित भएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले आजै उनलाई नेपालको संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।
झापा निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित प्रधानमन्त्री ओलीले विगतका कार्यकालमा जिल्लामा सुरू गरेका विकास निर्माणका योजनाले पूर्णता पाउनुका साथै आगामी दिनमा नयाँ योजना थपिनेमा जिल्लावासी आशावादी छन् ।
कन्काई नगरपालिका–४ का खगेन्द्र उप्रेती जिल्लावासी चौथोपटक देशको कार्यकारी नेतृत्वमा पुग्नु गौरवको कुरा भएको बताउछन् । प्रधानमन्त्री ओलीले विगतमा गरेका वाचा पूरा गर्न सकेमा झापावासीका लागि त्यही नै ठूलो उपहार हुने उप्रेतीको भनाइ छ ।
मेचीनगरका पर्यटन व्यवसायी चन्द्र कार्कीले ओली प्रधानमन्त्री भएसँगै झापाको पर्यटन क्षेत्र थप चलायमान हुने अपेक्षा व्यक्त गर्छन् ।
पर्यटकीयस्थल किच्चकबध, केचना, सतासीधाम, जमुनखाडी सिमसारलगायतका क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने खालका ठूला योजना आउनेमा आफूहरू आशावादी भएको उनले बताए ।
साथै पर्यटकलाई काँकरभिट्टा नाका हुँदै तेस्रो मुलुकबाट नेपाल प्रवेश गर्न केही वर्षदेखि लगाइएको रोक हटाउन सकेमा यस क्षेत्रको विकास ठूलो टेवा पुग्ने र यसमा प्रधानमन्त्री ओलीले पहल गर्ने यहाँका सबै व्यवसायीले अपेक्षा गरेको कार्कीले सुनाए ।
भद्रपुर नगरपालिका–१० का मेघराज राजवंशीले प्रधानमन्त्री ओलीको नेतृत्वमा जिल्लाका रणनीतिक सडक निर्माण सम्पन्न गर्न सहज हुने आशा जागेको बताए ।
सडक डिभिजन दमकका सूचना अधिकारी इञ्जिनीयर गौतमकुमार देवले बजेट अभावले जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रका रणनीतिक सडक अधुरा रहेका र सबै क्षेत्रमा रु नौ करोड बजेट अभाव रहेको जानकारी दिए ।
झापा गाउँपालिका वडा नं २ का अध्यक्ष हिमालकुमार चम्लागाईंका अनुसार वर्षाको समयमा कन्काइ, बिरिङ, मेची, रतुवा जस्ता ठूला नदीले जिल्लाको दक्षिणी क्षेत्र डुबान भई गाउँबस्ती नै विस्थापित हुने अवस्था छ ।
उनले जिल्लावासी नै देशको नेतृत्वमा पुगेसँगै डुबान रोक्न नदी किनारमा स्थायी तटबन्ध निर्माण हुने आशा व्यक्त गरे ।
भोलि शपथ ग्रहण
संविधानको प्रभावकारी कार्यान्वयन गर्दै मुलुकमा समृद्धि र विकासका लागि बलियो एवं स्थिर सरकारको आवश्यकता देखिएका बेला ४५औँ प्रधानमन्त्रीका रूपमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली नियुक्त भएक छन् । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेपाली राजनीतिको केन्द्रमा रहने एक राजनीतिज्ञ हुन् ।
प्रधानमन्त्री ओलीलाई देशका प्रमुख राजनीतिक पार्टी कांग्रेस र एमालेको प्रस्तावमा करिब दुई तिहाइको समर्थनमा सरकारको नेतृत्व गर्ने ऐतिहासिक अवसर प्राप्त भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा, ७६ (२) बमोजिम आज प्रधानमन्त्रीमा नियुक्त अध्यक्ष ओली संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल एमालेको समर्थनमा मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा पुनः आएका हुन् ।
संसद् विघटन र सर्वोच्च अदालतमा रिट निवेदन परेका अवधिलाई गणना नगर्ने हो भने अध्यक्ष ओली यसअघि तीन कार्यकाल प्रधानमन्त्री भइसकेका छन् ।
विसं २०७१ साउन १ गते सम्पन्न पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा निर्वाचित ओली स्पष्ट अडान राख्ने र दृष्टिकोणमा अडिग रहने नेताका रूपमा चिनिन्छन् । उनको गतिशील एवं सबल नेतृत्वमा पार्टी पनि यही देष्टिकोणका साथ अघि बढेको छ ।
नेपालको वर्तमान संविधान जारी भएसँगै २०७२ असोज २४ गते अध्यक्ष ओली पहिलोपटक मुलुकको प्रधानमन्त्री बनेका थिए ।
यसैगरी, विसं २०७४ को आम निर्वाचनपछि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को समर्थनमा २०७४ फागुन ३ गते झन्डै दुई तिहाइ बहुमतसहित उनले दोस्रोपटक सरकारको नेतृत्व गरेका थिए ।
त्यसपछि २०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्रको एकता भई उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुई अध्यक्षमध्ये पहिलो वरियताको अध्यक्ष भएका थिए ।
पार्टीभित्रको विवादका कारण उनी नेतृत्वको सरकार अल्पमतमा परेको थियो । तत्कालीन राजनीतिक घटनाक्रमका बीच प्रधानमन्त्रीका हैसियतले मध्यावधि निर्वाचनका लागि गरेको सिफारिस सर्वोच्च अदालतको आदेशबाट बदर भएपछि अध्यक्ष ओली सरकारको नेतृत्वबाट बाहिरिएका थिए ।
किसान परिवारमा जन्म, पञ्चायतविरोधी आन्दोलनमा अगुवाइ
निम्न मध्यम वर्गीय परिवारमा बुबा मोहनप्रसाद र आमा मधुमाया ओलीको सुपुत्रका रुपमा जन्मिएका प्रधानमन्त्री ओली लोकतन्त्रका लागि लामो सङ्घर्ष, जेलनेल, पटकपटक कठोर यातना भोग्ने सीमित नेताहरुमा पर्नेछन् ।
पूर्वी पहाडी जिल्ला तेह्रथुमको आठराईस्थित इवा गाउँको साधारण किसान परिवारमा २००८ साल फागुन ११ जन्मनुभएका ओली चार वर्षको उमेरमै मातृस्नेहबाट विमुख हुन पुगेका थिए ।
हजुरआमा रमादेवी ओलीको पालनपोषणमा हुकिएका ओलीले बालक छँदा पढाइका साथै ग्रामीण किसान परिवारमा गरिने सबै काम गरेका थिए ।
तेह्रथुम छोडेर २०२० सालमा उनको परिवार झापा बसाइँ स¥यो । झापाको सामाजिक, सांस्कृतिक, शैक्षिक तथा आर्थिक परिवेशमा अन्तरघुलित हुँदै जिज्ञासु स्वभावका ओलीले किशोर अवस्था पार गरे ।
हरेकजसो विषयमा जिज्ञासा राख्ने स्वभावले ओलीलाई समाजभित्र हुने असमानता, विभेद र पक्षपातलगायतका प्रश्नहरुको उत्तर खोज्नतिर प्रेरित ग¥यो ।
अध्यक्ष ओलीको राजनीतिक उदय झापा आन्दोलनको सिर्जना र कठोर भूमिगत सङ्घर्षबाट भएको हो । राजतन्त्रात्मक पञ्चायती शासन व्यवस्थाको विरोधसहित देशभक्ति, लोकतन्त्र, समानता, सामाजिक न्याय, भेदभावरहित समाज र जनजागरणका लागि कम्युनिष्टहरुको सहभागितामा भएको आन्दोलनमा उहाँको नेतृत्वदायी भूमिका रहँदै आएको छ ।
उनले लोकतान्त्रिक संरचनाहरुको सबलीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्रको मूल्यमान्यतप्रति प्रतिबद्धता, उग्रता र भड्काउहरुबाट समाजको रक्षा र जनताको जीवनमा सुखशान्तिका लागि अविचलित रूपमा अग्रणी भूमिका निर्वाह गरेका छन् ।
‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सङ्कल्पलाई काँधमा बोकेर मुलुक र जनताको सेवाका लागि सरकारको नेतृत्वमा रहँदा र नरहँदा पनि अहोरात्र खट्ने अध्यक्ष ओली कुशल वक्ता, तार्किक र अध्ययनशील नेतासमेत हुन् ।
करिब छ दशक लामो राजनीतिक यात्राका क्रममा १४ वर्ष कठोर जेलजीवन बिताउनुभएका अध्यक्ष ओली २०७८ मङ्सिरमा चितवनमा सम्पन्न एमालेको दशौँ राष्ट्रिय महाधिवेशनबाट दोस्रो कार्यकालका लागि भारी मतका साथ अध्यक्षमा निर्वाचित भएका थिए ।
पन्ध्र वर्षेको किशोर उमेरमै २०२३ सालमा उनी रामनाथ दाहालको अगुवाइमा रहेको माक्र्सवादी अध्ययन दलमा सामेल भए ।
नेता दाहालसहित पाँच योद्धालाई तत्कालीन पञ्चायती सरकारले जेल सार्ने बहानामा सुखानीको जङ्गलमा लगेर गोली हानी हत्या ग¥यो, उनीहरूलाई अहिले झापा आन्दोलनका शहीदका रूपमा चिनिन्छ ।
माक्र्सवादी अध्ययन दलमा सामेल भएको दुई वर्षमै पूर्णकालीन राजनीतिमा जोडिएर २०२६ माघमा उनले नेपाल कम्युनिष्ट पार्टीको सदस्यता पाए । पार्टी सदस्यता पाएको वर्ष नै पहिलोपटक उनी गिरफ्तारीमा परे ।
विसं २०२८ मा ओली झापा आन्दोलन कमिटीको प्रमुखमा मनोनीत भएका थिए । सोही आन्दोलनको आधारभूमिबाट अघि बढ्दै गएको पार्टी अहिलेको एमाले हो ।
निरङ्कुश पञ्चायती व्यवस्थाको विरोधका क्रममा नेता ओलीलगायत झापा आन्दोलनका क्रान्तिकारीहरु २०३० सालमा पक्राउ परेका थिए । त्यसपछि उनले चार वर्ष गोलघरको यातनासहित १४ वर्ष लामो कठोर कारावास जीवन बिताए ।
अध्यक्ष ओली जेलमै रहँदा २०३५ साल पुस ११ मा गठित नेपाल कम्युनिष्ट पार्टी (माले)को संस्थापकको हैसियतमा भए ।
२०४४ साल असार ११ गते जेलबाट रिहा भएपछि सोही वर्षको पुस २ मा बसेको नेकपा (माले)को केन्द्रीय कमिटी बैठकले उनलाई केन्द्रीय सदस्यमा मनोनयन गरी पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन परिचालकका लागि लुम्बिनी अञ्चल इन्चार्जको जिम्मेवारी तोक्यो ।
नेकपा (माले) समेतको नेतृत्वमा सञ्चालित जनआन्दोलनले निरङ्कुश पञ्चायती व्यवस्था पराजित भएपछि २०४७ जेठ १ गते नेता ओली पार्टीको युवा संस्था प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ, नेपालको संस्थापक अध्यक्ष बने ।
नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकरण र विस्तार गर्ने क्रममा २०४७ पुस २२ गते नेकपा (माले) र नेकपा (माक्र्सवादी)बीच पार्टी एकीकरण भएर नेकपा (एमाले) बन्यो र एकीकृत पार्टीमा ओली केन्द्रीय सदस्य रहे ।
संसदीय यात्रा र एमालेको नेतृत्व
बहुदलीय व्यवस्थाको स्थापनापछि २०४८ सालमा भएको पहिलो आम निर्वाचनमा झापा–६ बाट प्रतिनिधिसभाको सदस्यमा ओली निर्वाचित भए ।
त्यसको तीन वर्षपछि २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा झापा–२ बाट उनी प्रतिनिधिसभा सदस्य चुनिए । यही बीचमा पार्टी जिम्मेवारीका क्रममा उनी पोलिटब्यूरो सदस्यसहित विदेश विभाग, प्रचार विभाग र संसदीय विभाग प्रमुख भए ।
बहुदलीय व्यवस्थाको पुनःस्थापनापछि २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा बनेको प्रथम जननिर्वाचित कम्युनिष्ट सरकारमा उहाँ पहिलोपटक मुलुकको गृहमन्त्री भए । उनले सफल गृहमन्त्रीको मानक स्थापित गरे ।
जनकपुरमा २०५९ सालमा भएको एमालेको सातौँ राष्ट्रिय महाधिवेशनमा ओलीबाट प्रस्तुत पार्टीको आन्तरिक लोकतान्त्रिकीकरण गरी बहुपदीय प्रणालीमा जाने प्रस्ताव प्रस्तुत भएपछि पार्टीको उनको प्रभाव थप विस्तारित भयो ।
सो प्रस्तावलाई २०६५ सालमा बुटवलमा भएको आठौँ राष्ट्रिय महाधिवेशनले पारित ग¥यो । उनको प्रस्तावलाई महाधिवेशनले पारित गरे पनि उनी पार्टी अध्यक्षमा तत्कालीन अध्यक्ष झलनाथ खनालसँग झिनो मतान्तरले पराजित भए ।
दुईपटक मिर्गौला प्रत्यारोपण गराउनुभएका ७३ वर्षीय अध्यक्ष ओली समकालीन अन्य नेताभन्दा बढी सक्रिय देखिनुभएकाले विकास र समृद्धिको अधुरो यात्राले गति लिने अपेक्षा गरिएको छ ।