images
images

एक अर्ब लगानीमा मुलकोट र हलेसीमा पौवा रिसोर्ट, १० वर्षमा एक सय होटल पुर्याउने लक्ष्य

एक अर्ब लगानीमा मुलकोट र हलेसीमा पौवा रिसोर्ट, १० वर्षमा एक सय होटल पुर्याउने लक्ष्य

बिहिवार, साउन १० २०८१
बिहिवार, साउन १० २०८१
  • एक अर्ब लगानीमा मुलकोट र हलेसीमा पौवा रिसोर्ट, १० वर्षमा एक सय होटल पुर्याउने लक्ष्य

    काठमाडौँ / नेपालको हस्पिटालिटी क्षेत्रमा लगानी विस्तार गरेको होटल पौवा प्रालीले रु एक अर्ब लगानीमा सिन्धुलीको मुलकोट र खोटाङको हलेसीमा पौवा रिसोर्ट र होटल सञ्चालनमा ल्याएको छ । 

    खोटाङको हलेसीमा पौवा रिसोर्ट र सिन्धुलीको सुनकोशी किनारमा अवस्थित मुलकोटमा पौवा होटल सुरू गरिएको कम्पनीले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

    ्‘जहाँबाट आतिथ्यको सुरूआत हुन्छ’ भन्ने नारासहित  होटल विस्तार गरिरहेको पौवा ग्रुपले १४औँ शाखा मुलकोटस्थित सुनकोशी किनारमा ४५ रोपनी क्षेत्रफलमा रु ५० करोडको लगानीमा पौवाबीच रिसोर्ट सञ्चालन गरेको हो ।

    यस्तै, खोटाङको हलेसीमा ४५ रोपनी क्षेत्रफलमा ४० करोडभन्दा बढी लगानीमा पौवा रिसोर्ट सञ्चालनमा ल्याएको अध्यक्ष दुर्गाप्रसाद भण्डारीले जानकारी दिए। 

    पछिल्लो समय होटल, रिसोर्ट, तारे र चेन होटल धमाधम सञ्चालन भइरहेका छन् । 

    यसैक्रममा प्रालीले होटल र रिसोर्टमा लगानी बढाएको र आगामी १० वर्षमा एक सय होटल पुर्याउने लक्ष्य लिएको भण्डारीले बताए ।

    हाल नेपालगञ्जमा रु एक अर्ब लगानीमा पाँचतारे होटल निर्माण भइरहेको र निकट भविष्यमा आफ्नो ब्राण्ड अन्तर्राष्ट्रिय बजारमा लैजाने कम्पनीको योजना रहेको उनले सुनाए । 

    अध्यक्ष भण्डारीले नेपालको पर्यटन उद्योगलाई थप उचाइमा पुर्याउनका लागि मिसन १०० को योजनासहित होटलमा लगानी विस्तार गरिएको बताए ।

    उनले भने, “आठ वर्षदेखि पर्यटन उद्योग विस्तार गर्नका लागि होटलमा लगानी गरिएको छ । काठमाडौँदेखि ९० किलोमिटरको दूरीमा रहेको सिन्धुलीको मुलकोट पर्यटकका लागि उत्तम गन्तव्य र सुनकोशी नदी किनारामा शान्त वातावरण रहेकाले आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरेर रिसोर्ट खोलेका हौँ ।”

    खोटाङको हलेसी महादेव किराँत, बौद्ध र सनातन हिन्दूहरुको सङ्गमस्थल भएकाले आन्तरिक र बाह्य धार्मिक पर्यटकलाई लक्षित गरेको हलेसी तुवाचुङ नगरपालिकामा रिसोर्ट सञ्चालन गरिएको अध्यक्ष भण्डारीले बताए। उक्त रिसोर्टबाट तीन सय ६० डिग्रीमा हसेलीको दृश्यावलोकन गर्न सकिन्छ । 

    यस्तै, पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले नेपालको अनुपम आतिथ्यता संस्कृतिलाई विश्वभर प्रवर्द्धन गर्ने उद्देश्यसहित होटल पौवाले लगानी बढाएको बताए। 

    पौवाले रुपन्देहीको भैरहवा र बुटवल, कपिलवस्तुको गोरुसिङ्गे, दाङको भालुवाङ, लमही र घोराही, कर्णाली प्रदेशको जुम्ला, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा, सुदूरपश्चिमको धनगढी, पर्यटकीय राजधानी पोखरा, काठमाडौँको गौशाला हुँदै पूर्वी क्षेत्रमा लगानी विस्तार गरेको हो ।

    पौवाको ‘ड्रिम प्रोजेक्ट’का रूपमा कैलाश मानसरोवर यात्राको मुख्य प्रवेशद्वार नेपालगञ्जमा पाँचतारे होटल ‘पौवा वेस्ट्रन’को निर्माण भइरहेको प्रबन्ध निर्देशक ज्ञवालीले बताए।

    उनका अनुसार पौवाले अहिलेसम्म तीन वटा मोडेलमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । 

    त्यसअन्तर्गत पहिलो मोडेलमा आफ्नै लगानी र स्वामित्वमा सेवा दिने, दोस्रो स्थानीय साझेदारसँग संस्थागत साझेदारीमा सेवा दिने र तेस्रो मोडेलमा व्यवस्थापन जिम्मा लिएर पौवाको ब्राण्डमा सेवा दिनेगरी सेवा प्रवाह गरिरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार