आज साउन १५ अर्थात चौँथो राष्ट्रिय कोदो दिवस ! रैथाने बालीका रूपमा रहेको कोदो बालीको संरक्षण, सम्वद्र्धन तथा उत्पादनमा वृद्धिका लागि किसान समूह र सरोकारवाला निकायले २०७७ सालदेखि कोदो दिवस मनाउन थालेका हन् ।
कति हुन्छ आन्तरिक उत्पादन ?
नेपालमा सामान्यतयाः ७७ जिल्लामै कोदो खेती गरिन्छ । तराईमा कम र पहाडी तथा मध्य पहाडी जिल्लामा अधिक कोदो उत्पादन हुन्छ । धेरैजसो खोटाङ, सिन्धुपाल्चोक, बाग्लुङ, स्याङ्जा, कास्की, ओखलढुङ्गा, गोरखा र सिन्धुलीमा उत्पादन हुन्छ । मनाङ र मुस्ताङमा भने कम उत्पादन हुन्छ ।
२०७८ को कृषि गणनाअनुसार नेपालमा कूल २२ लाख १८ हजार हेक्टर जमिनमा खेती हुन्छ । नेपालको कुल जमिनमध्ये ७.७ प्रतिशत हिस्सामा कोदो खेती हुन्छ । जसमध्ये पहाडी जिल्लामा ९५ प्रतिशत भू-भागमा खेती हुने गरेको कृषि मन्त्रालयले जनाएको छ । मुलुकमा समुन्द्र सतहबाट ३१ सय मिटरसम्मको उच्च पहाडी क्षेत्रमा कोदो लगाइन्छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयको राष्ट्रिय कृषि गणनाको अनुसार नेपालमा पछिल्लो ४ वर्षमा कोदो उत्पादन निरन्तर बढिरहेको देखाएको छ । आर्थिक वर्ष (आव) ०७७/७८ मा नेपालमा ३ लाख २६ हजार ४४२ मेट्रिक टन कोदो उत्पादन भएकोमा आव ०७८÷७९ मा ३ लाख ३९ हजार ४६२ मेट्रिक टन उत्पादन भयो ।
यस्तै, आव २०७९/८० मा ३ लाख ४५ हजार ५७० मेट्रिक टन उत्पादन भएकोमा आव ०८०/८१ मा बढेर ३ लाख ५८ हजार ४४७ मेट्रिक टन पुगेको छ । गत आवमा भएको उत्पादन ४ वर्ष अघिको तुलनामा करिब ३२ हजार मेट्रिक टनले धेरै हो ।
१० वर्षमा घट्यो १ लाख हेक्टर कोदो रोप्ने जमिन
वि.सं २०४८ सालको कृषि गणनाअनुसार ३ लाख १ हजार ५ सय हेक्टर जमिनमा १० लाख ६५ हजार कृषक परिवारले कोदो खेती गर्थे । २०८५ को गणना अनुसार २ लाख ५० हजार ५ सय हेक्टरमा १० लाख ६० हजार कृषक परिवारले गरेका थिए ।
यस्तै, २०६८ को गणनामा २ लाख ९ सय हेक्टर १० लाख ३६ हजार ७ सय कृषक परिवारले कोदो खेती गरेको तथ्याङ्क छ । २०७८ को कृषि गणनाले १ लाख २२ हजार १ सय हेक्टर जमिनमा ८ लाख ६८ हजार १ सय कृषक परिवारले कोदो खेती गरेका थिए । जसअनुसार दश वर्षको अन्तरालमा करिब १ लाख हेक्टरले कोदो रोप्ने जमिन घटेको देखिन्छ ।
माग धान्न आयात गर्नुपर्ने बाध्यता
देशभित्र कोदोको उत्पादन पर्याप्त नहुँदा माग धान्नकै लागि आयात गर्नुपर्ने बाध्यता छ । लागत महँगो पर्ने, खेती गर्न झन्झट, वन्यजन्तुबाट उत्पादन जोगाउन नसक्नेलगायतका कारण किसानले कोदो रोप्न छोड्दै गएका हुन् ।
त्यसमाथि अहिले गाउँघरमा काम गर्न सक्ने युवा जनशक्ति नहुँदा खेतबारी बाँझै हुन थालेको छ । अरु बालीमा जस्तो कोदोमा उन्नत प्रविधिको अभाव छ । यस्तै, अनेक समस्याले कोदोखेतीमा किसानको आकर्षण बढ्न सकेको छैन । तर, शहर बजारमा बस्नेहरूले कोदो खोज्न थालेसँगै पछिल्ला वर्ष माग उच्च छ । जसकारण बाह्य मुलुकबाट हुने आयात बढ्दै गइरहेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०८०/८१ मा १ करोड ५२ लाख किलोग्राम बराबरको कोदो आयात भएको छ । जुन, ७५ करोड ४४ लाख २३ हजार रुपैयाँ बराबरको थियो । यसअघि आर्थिक वर्ष ०७९/८० मा ७३ करोड २० लाख १३ हजार रुपैयाँमा १ करोड ८४ लाख किलोग्राम बराबरको कोदो आयात भएको थियो ।
आव ०७८/७९ मा ७० करोड २१ लाख ८२ हजार रुपैयाँको २ करोड ९ लाख किलोग्राम, आव ०७७/७८ मा ७८ करोड ३७ लाख ३८ हजार रुपैयाँको २ करोड ३३ लाख किलोग्राम, आव ०७६/७७ मा ५४ करोड ७८ लाख ९७ हजार रुपैयाँको १ करोड ६८ लाख किलोग्राम, आव ०७५/०७६ मा ४३ करोड २१ लाख ७० हजार रुपैयाँको १ करोड ६८ लाख किलोग्राम कोदो आयात भएको छ ।
अझ १५– १६ वर्ष अघि (आव ०६५/६६) मा ६ करोड ५३ लाख २३ हजार रुपैयाँमा १ करोड २३ लाख ७६ हजार २ सय ४३ किलोग्राम कोदो आयात भएको थियो । यसैगरी, आव ०६६/६७ मा ७ करोड ९७ लाख रुपैयाँ बराबरमा १ करोड १० लाख ७१ हजार किलो बराबरको कोदो आयात भएको तथ्याङ्क छ ।
निर्यात पनि बढ्दै
नेपालले कोदो आयात मात्रै होइन केही मात्रामा निर्यात समेत गर्दै आएको छ । नेपालले आव ०६८/६९ देखि कोदो निर्यात गरेको विभागको तथ्याङ्मा उल्लेख छ । सो वर्ष १ लाख ५ हजार रुपैयाँ बराबरको ३ हजार ५ सय केजी कोदो निर्यात भएको देखिन्छ ।
यसपछिको आवमा क्रमशः आव ०६९/७० मा १६ हजार ६ सय ७५ केजी, आव ०७०/७१ मा ७६ हजार १ सय ७१ केजी निर्यात गरिएको थियो । निर्यातको आकार पनि क्रमशः बढ्दै गएर आव ०७९/८० मा ४२ लाख रुपैयाँ बराबरको २२ हजार २ सय ९७ किलो कोदो विदेशमा बिक्री गर्न सफल भयो । अझ आव ०८०/८१ मा बढेर नेपालबाट ६१ लाख ९६ हजार रुपैयाँ बराबरमा ४६ हजार ७ सय ५८ किलोग्राम कोदो निर्यात गर्न सफल भएको छ ।
सो आवमा नेपालले अस्ट्रेलिया क्यानडा, हङकङ, इटाली, जापान, कोरिया, रिपब्लिक अफ, बेलायत, अमेरिका, अस्ट्रेलिया कोदो बिक्री गरेको छ । तर, पनि यसको तुलनामा आयातको स्थिति भने बढ्दो छ ।