images
images

सेती नदी जलविद्युत् आयोजनाको ‘वेट टेष्ट’ शुभारम्भ

सेती नदी जलविद्युत् आयोजनाको ‘वेट टेष्ट’ शुभारम्भ

बिहिवार, साउन ३१ २०८१
बिहिवार, साउन ३१ २०८१
  • सेती नदी जलविद्युत् आयोजनाको ‘वेट टेष्ट’ शुभारम्भ

    कास्की / कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा निर्माण गरिएको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको बुधबार ‘वेट टेष्ट’ (पानी भरेर परीक्षण तथा टर्वाइन घुमाउने) कार्यको सुरुआत गरिएको छ ।

    माछापुच्छ्रे गाउँपालिका-२ को सार्दिखोलाको भराभरीस्थित राजबगरमा रहेको आयोजनाको ‘हेडवर्कस्’मा विधिवत् पूजा गरेर ‘वेट टेष्ट’ को औपचारिक सुरुआत गरिएको हो ।

    भिजन लुम्बिनी ऊर्जा कम्पनीद्वारा प्रवर्द्धन गरिएको सेती नदी जलविद्युत् आयोजनाको निर्माण कार्य सकिएपछि बाँधस्थलबाट ‘पेनस्टक पाइप’मा पानी पठाएर परीक्षण सुरु भएको हो । ‘वेट टेष्ट’को कार्य तीन दिनभित्रमा पूरा हुने बताइन्छ ।

    आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा ट्रान्समिसन लाइन निर्माणको सम्पूर्ण काम सकिएपछि ड्राइ टेष्टपछि ‘वेट टेष्ट’ सुरु गरिएको आयोजनाका प्रबन्धक इन्जिनियर लेखनाथ पाण्डेले जानकारी दिए । 

    उनले आगामी दुई साताभित्रमा परीक्षण उत्पादन सुरु हुने जानकारी दिए । परियोजना प्रबन्धक पाण्डेले भने, “आयोजनाको स्ट्रक्चर र मेसिनरीतर्फको सबै काम सकेर आजदेखि ‘वेट टेष्ट’ सुरु गरेका छौँ । अबको दुई साताभित्रमा परीक्षण उत्पादन सुरु गर्छौँ ।”

    सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरेर सेतीको  पेनस्टक पाइपमार्फत ल्याइएको छ । 

    सो पानी छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत ल्याएर एक सय ८७ मिटर उचाइबाट चिन्तेबगरमा रहेको पावर हाउसमा खसालेर विद्युत् उत्पादन गरिनेछ ।

    विद्युत्गृहमा रहेका १२ दशमलव पाँच मेगावाट क्षमताका दुई वटा टर्वाइनमा खसालिनेछ । सो आयोजना नदी जलप्रवाहमा आधारित छ । 

    भिजन लुम्बिनी ऊर्जा कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलले आयोजना सम्पन्न गर्नका लागि स्थानीयवासी तथा स्थानीय सरकारलगायतबाट ठुलो सहयोग मिलेको बताए। 

    उनले स्थानीयवासीको सानो सानो पुँजी लगानीले आयोजना निर्माण भएको बताए ।

    उनले भने, “आयोजनाको निर्माण सकिएर ‘वेट टेष्ट’ सम्म आइपुग्दा अति नै खुसी भएका छौँ । आयोजना निर्माणमा ठुलो समस्या आएन । यो आयोजना गण्डकी प्रदेशसहित समग्र नेपालको जलविद्युत्का क्षेत्रमा महत्त्वपूर्ण परियोजना बन्नेछ ।”

    सेती नदी जलविद्युत् आयोजनामा रु पाँच अर्बभन्दा बढी लगानी भएको छ । यसमा तीन अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् । अन्य लगानी प्रवर्द्धक, स्थानीयवासी तथा आइपिओ जारी गरेर जुटाइएको हो । 

    सेती नदी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकमा रहेको नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनमा जडान हुनेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार