images
images

कथा के हो ? कसरी लेख्ने ?

कथा के हो ? कसरी लेख्ने ?

सोमवार, भदौ ३१ २०८१
सोमवार, भदौ ३१ २०८१
  • कथा के हो ? कसरी लेख्ने ?
    images
    images

    (कथाकारका रूपमा तपाईं जुजु धौझैँ जमिसक्नुभएको छ, यो लेखक तपाईंका लागि उपयोगी नहुन सक्छ । किनभने, यो लेख लेख्न बस्दा मेरो मथिंगलमा ती ऊर्जावान् व्यक्तिहरू यताउता गरिरहेका थिए, जो आफ्नो पहिलो, दोस्रो र तेस्रो कथा लेख्ने क्रममा छन् र जसले एक दिन गजबको कथाकार हुन्छु भनेर आफैँमाथि विश्वास गरिरहेका छन् । यो लेख ती आगन्तुक कथाकारहरूलाई समर्पित, जो कथा लेख्दा वाद, सिद्धान्त आदि इत्यादिसित डराउन चाहन्नन् र कथाको विशाल बजारमा हराउन पनि चाहन्नन् ।)

    दुईचार लाइनको कथाको नै किन न होस्, खसोखास कुरो के हो भने कथाको विमर्श आफैँमा विशाल विषय हो ।

    आउनुस्, एकछिन यो विशालताको पहाडमा तोडफोड मच्चाऔँ र यसलाई केही टुक्राटाक्रीमा बुझौँ ।

    १. कथा के हो ?

    कथा यो हो र यस्तो हुनुपर्छ भन्नेमा हजारौँ विद्वान्हरूले अनेक परिभाषा दिएका छन् । कथामा हात नचलाउनेले पनि स्कुल या विश्वविद्यालयका साहित्य विषयक पाठ्यक्रममा जाँचमा पाँच या दश नम्बरका प्रश्नका रूपमा सोधिने यस्ता परिभाषा पक्कै पढेकै छौँ । अहिले नै पनि गुगल गरेर यसबारे बुझ्न सकिहाल्नुहुन्छ । अब त तपाईंलाई सघाउन एआई पनि तयार छ । त्यसैले अहिले परिभाषाहरूको माकुरेजालोमा नअल्झिऔँ र अहिलेलाई यति मात्र बुझौँ – ती सबै कुरा कथा हुन्, जो अनेक सरल, वक्र या उटपट्याङ तवरले व्यक्तिको कल्पनाशीलताबाट जन्मिन्छन् । जसमा व्यक्ति या समाजका एकल वा बहुआयामिक पाटाहरू उद्घाटित हुन्छन् र पाठकहरूको मथिंगलमा जसबाट जिज्ञासा, आश्चर्य, निराशा, करुणा, स्नेह, प्रेम, आक्रोश, असन्तोष, घृणा, दिकदारी र प्रश्नजस्ता भावहरू उत्पन्न हुन्छन् ।

    २. कथामा आदि, मध्य र अन्त्य

    हरेक कथामा आदि (setup), मध्य (confrontation) र अन्त्य (resolution) हुन्छ । यही भन्छन् व्याख्याताहरू । तर, बुझ्नुपर्ने कुरा के रहेछ भने, कथाका यी तीन तत्त्वहरू यही क्रममा हुनैपर्छ भन्ने कुनै बाध्यकारी नियम छैन । आफूले सुनाउन या भन्न मन लागेको कथालाई स्रोता या पाठकको मनमा अन्त्यैसम्म उत्सुकता जगाइराख्न कथाकारले जे जति जुक्ति लगाउन सक्छ, त्यो लगाउन ऊ हमेसा स्वतन्त्र छ । बस्, त्यो स्वतन्त्रताको प्रयोग गर्ने ‘तमिज’ भने हुनैपर्छ । भन्नुको तात्पर्य, यस्तो आदि, मध्य र अन्त्यको क्रमभंगता लेखकले चलाखीपूर्ण सचेततासहित गरेको हुनुपर्छ ।

    उदाहरण 'क'

    कारभित्र सिँगारिएर बसेकी बेहुलीलाई देख्नासाथ रमेशको मुखबाट फ्याट्टै कुरो फुत्कियो, ‘ओहो, रूपाले त दोस्रो बिहे गरिछ !’
    उनी हतारहतार घर आए । 
    घर आउनासाथ कान्छी श्रीमतीसित दिक्क मान्दै भने, ‘रूपा त चरित्रहीन रैछ !’ 

    उदाहरण 'ख'

    उनी हतारहतार घर आए । 
    घर आउनासाथ फत्फताए, ‘त्यो त चरित्रहीन पो रैछे !’
    कान्छी श्रीमतीले चियाको गिलास दिँदै सोधिन्, ‘के भयो र ?’ 
    ‘रूपाले दोस्रो बिहे गरिछ,’ रमेशले दिक्क मान्दै भने । 

    उदाहरण 'ग'

    ’हैन, के भयो ? कुनै अप्रिय घटना देखेर आएजस्तो पो छ त तपाईंको अनुहार ।’
    दिक्क भएर सोफामा बस्दै रमेश फत्फताए, ‘रूपाले दोस्रो बिहे गरिछ !’
    अनि, कान्छी श्रीमतीको हातबाट चियाको गिलास लिँदै भने, ‘चरित्रहीन रैछे !’ 

    ३. लेखकको कम्फर्ट जोन र विषयवस्तुको चयन

    धेरैले भन्छन्– लेखकले आफूले देखेको, भोगेको र बुझेको समाज या पात्रको कथा लेख्दा त्यो बढी विश्वसनीय हुन्छ ।

    यो सिद्धान्तले लेखकलाई आफ्नो ‘कम्फर्ट जोन’मै बसेर नै लेख्नु हितकर हुने कुराको वकालत गर्छ ।

    सिद्धान्त मान्नुहुन्छ ? ठिक छ । यसै गर्नुस् र आफ्ना वरिपरिका विषय खोज्नुस् र लेख्नुस् । सजिलो पनि यही हुन्छ । तर, यति ख्याल गर्नुस्, तपाईं कथाको क्षेत्रमा नयाँनयाँ हुनुहुन्छ भने कुनै कथा पढ्दा ‘ह्या, यो त मैले पढिसकेको कथा हो, लेखकले फेरि पनि किन त्यस्तै कथा लेख्या होला’ भन्ने लाग्छ भने ‘म आफूले चाहिँ त्यसो गर्दिनँ’ भनेर आफैँसित वाचा गर्नुस् । तपाईंले गरेको यही वाचाले मौलिक कथा लेखनको तपाईंको लडाइँमा आधा जित त पक्कापक्की हासिल हुनेछ ।

    तर, सिद्धान्तको ज्वरो पन्छाएर अलिक रिस्क लिने विचारमा हुनुहुन्छ भने अन्तरिक्षको कथा लेख्न पनि तपाईंका लागि कम चुनौतीपूर्ण र रोमाञ्चक हुने छैन । हलिउडमै बसेर अल्फोन्जो कुह्वारोनले सान्ड्रा बुलकलाई ‘ग्य्राभिटी’मा फनफनी अन्तरिक्षमा घुमाएको कथा सिनेमाको पर्दामा तपाईंहरूले देख्नुभएकै छ क्या र !

    यो कुरालाई अझै सजिलो गरी बताउन चाहन्छु ।

    केही अजासुहरूले भन्छन्– झरीमा निथ्रुक्क भिजेको मान्छेको पीडा लेख्न चाहनुहुन्छ भने तपाईं पनि झरीमा रुझ्नुस् ।

    त्यस्ता अजासुसित तपाईंले प्रश्न गर्नुस्– के म छाता लिएर झरीमा जानु हुन्न ?

    खास कुरा के हो भने, तपाईंसित कुनै विषय छ र त्यो विषयलाई विश्वसनीय ढंगले पठनीय बनाउन सक्छु भन्ने लाग्छ भने कुनै माइका लालसित नडराउनुस् । ढुक्कले लेख्नुस् । चौबाटोका लालबत्तीहरूमा देख्नुभएकै होला, ट्राफिक नियम उल्लंघन गर्ने चालकनिर एउटा ट्राफिक दाइ या दिदी दौडँदै आउनुहुन्छ र चिट काट्न थाल्नुहुन्छ । एकथरीले केही नबोली, सानका साथ आफ्नो लाइसेन्स बुझाउँछन् र चिट लिएर आनन्दले अघि बढ्छन् । उनीहरूलाई थाहा छ, यहाँ बीचबाटोमा गलफत्ती गरेर कुनै फाइदा छैन । अर्कोथरीचाहिँ पाउमै परूँलाजस्तो गरेर, रुन्चे स्वरमा ‘पिलिज, आजलाई छोडिदिनुस्’ भनेर याचना गर्न थाल्छन् ।

    कथाको जगत्मा पनि जताततै ट्राफिक दाइ र दिदीहरू हुन्छ । अब तपाईं नै सोच्नुस्, तपाईं के चाहनुहुन्छ ? याचना गरेर कथाको ट्राफिक सिग्नलमै अल्झिरहन या भोलि देखाजाला भनेर आज आनन्दले अघि बढ्न ?

    मर्जी तपाईंको ।

    ४. कथामा परिवेश, समय र वातावरण : ल्याउने कसरी, घुसाउने कसरी ?

    कथामा परिवेश त आउँछ नै । कतै छिपछिपे रूपमा, कतै सघन रूपमा । कथा सहरको हो कि गाउँको, मधेसको हो कि पहाडको, स्वदेशको हो कि परदेशको हो, महलको हो कि झुपडीको, या कथाकारको कल्पनाभित्र तयार भएको एउटा बेग्लै दुनियाँको हो, यो सबै बुझाउने परिवेशको चित्रणले नै हो । भन्छन्, परिवेशको सटीक चित्रणले कथालाई विश्वासयोग्य बनाउँछ । अझ तपाईं आफ्नो गाउँठाउँको कथा लेख्न चाहनुहुन्छ भने त योे जरुरी नै हुन्छ ।

    धेरै राम्रा कथाकारहरूले सुरुआतकै केही वाक्य वा केही अनुच्छेदमै परिवेशको संकेत गरिदिन्छन् । वातावरण, जाडो, गर्मी सबै खुसुक्क भनिदिन्छन् । यसले गर्दा पाठकको दिमागमा म कुन ठाउँको कथा पढिरहेछु भनेर सुरुमै स्पष्ट हुन्छ । परिवेशलाई कथावाचकले प्रस्तुत गर्ने विवरण, पात्रहरूको गतिविधि या पात्रबीचको संवादमार्फत प्रस्ट पार्न सकिन्छ ।

    उदाहरण 'क'

    यो तपाईं हामीले टेकेकै गाउँ हो । राधापुर । मैलेजस्तै तपाईंले पनि यहाँ कसैको घरमा बसेर परेवाको मासु र भात खाएको हुनसक्छ । मैलेजस्तै तपाईंले पनि आफ्ना साथीहरूसित यहाँ जीर्ण चिरहा कपडामा देखिएकी कुनै ग्रामीण बालाको यौवनको चर्चा गरेको हुनसक्छ । तपाईंले पनि जाडोमा घुर तापिरहेका नांगाभुतुंगा गेदहरनहरूको फोटो खिचेको हुनसक्छ । अथवा, मैले जस्तै तपाईंले पनि गाउँकी कुनै बुहारीले पैसा कमाउन इन्डियाको कुनै सहर गएका आफ्ना खसमको सम्झनामा गाएको गीत सुनेको हुनसक्छ —
    .....पइसा अइसी चीज, राजा घरै नहीं आवयँ,
    मडैया पुरान होइगय
    टपकन लगी बुँद, राजा घरै नहीँ आवयँ ।
    देवरा होइगय सयाने,
    पकडन लगे बाहँ, राजा घरै नहीं आवयँ ।
    पइसा अइसी चीज, राजा घरै नहीँ आवयँ.....
    (यो कथांशमा चित्रण गरिएको परिवेश, भाषा, लोकगीत, वेशभूषा आदिबाट बुझिन्छ, यो मधेसको कथा हो । गरिबीले ग्रस्त गाउँको कथा हो ।)

    उदाहरण 'ख'

    सुखीपुर गाउँको दलितले ब्राह्मणको घरको धारा छोएको विषयमा विवाद उत्पन्न भयो । हेर्दाहेर्दै दंगा सुरु भैहाल्यो । 
    (यो कथांशबाट यो गाउँको कथा हो भन्ने त बुझिन्छ, तर पहाडको गाउँ कि मधेसको गाउँ भनेर छुट्टिँदैन । तर, यसैमा केही कुरा सहज किसिमले घुसाएर यो कथांशमा व्यक्त गरिएको गाउँबारे केही बलियो जानकारी दिन सकिन्छ । जस्तै,

    ‘सुखीपुरवामा त बहुतै बबाल भैरहेछ बे,’ रमेशले अँगौछाले पसिना पुछ्दै भन्यो ।
    ‘के भयो फेरि ? कतै बेकारमा मलाई बकाइरहेको त छैनस् ?,’ रामफेरनले तुरुन्तै सोध्यो ।
    ‘त्यो लमकन्ना छ नि, त्यसले दयाराम बाभनको धारामा गएर पानी पिएछ । बस्, के चाहियो – दंगा सुरु ।’

    (यो कथांशबाट यो मधेसको प्रसंग हो भन्ने सहजै बुझिन्छ । पात्रको व्यवहार, हाउभाउ वा संवादबाट पनि यसरी परिवेश स्पष्ट पार्न सकिने रहेछ । यो विधि बढी रोचक र पठनीय हुँदो रहेछ । एकपटक ट्राई गरी हेर्नुहुन्छ कि !)

    ५. पात्र निर्माणका गल्तीहरू

    कथालाई सुरु गरेर तार्किक निष्कर्षमा पुर्‍याउन सबैभन्दा बलियो भूमिका नै पात्रको हुन्छ । राम्रो कथा त्यही हो, जहाँ लेखक लुक्छ र पात्र मुखर हुन्छ । पात्र कथाकारका लागि सबैभन्दा सम्मानित व्यक्तित्व हुनुपर्छ । त्यसैले कथा लेख्दा यी गल्ती गर्दै नगर्नुस् ।

    क)रमेश गरिब थियो । त्यसैले विचराले तीन दिनदेखि खाना खान पाएको थिएन । उसलाई कसैले उधारो पनि दिँदैनथ्यो ।

    (लेखकले पात्र गरिब थियो भनेपछि पाठकले पत्याइदिनुपर्ने ? पात्रको गरिबीलाई कुनै घटनाक्रमले बलियो गरी स्थापित गर्नु पर्दैन ? के रमेशले मजदुरी गरेर भए पनि दिनको पाँचसात सय त कमाउन सक्थ्यो होला नि ! कि गरिबीले अल्छी बनाएको थियो उसलाई ?)

    बरु, यस्तो लेख्नुस् न, पत्यारिलो हुन्छ–

    कतै काम पाउँछु कि भनेर कति दिनदेखि रमेश चोकमा गैरहेको थियो । तर, उसको दाहिने खुट्टा लुलो देखेर कसैले उसलाई मजदुरीमा लैजान मान्दैनथे । ऊ दिउँसोतिर जसरी रित्तो भएर गाउँबाट गएको थियो, उसरी नै रित्तो गाउँ फर्किन्थ्यो । तीन दिनदेखि उसको पेटमा एक गेडो अन्न पनि परेको थिएन । यतिका दिन त उधारोले ज्यान पालेको थियो । अब त कसैसित उधारो माग्ने ठाउँ पनि थिएन ।

    ख)दैवको लीला अपरम्पार ! बिहे गरेको सात वर्ष भैसक्दा पनि मेघना र रघुले सन्तानको सुख पाएका थिएनन् । साँझ मेघना हस्याङफस्याङ गर्दै घरमा आइन् । रघुलाई ग्वाम्म अँगालो हाल्दै भनिन्, ‘हिजो प्रेग्नेन्सी टेस्ट गराएकी थिएँ, रिपोर्ट लिन गएकी, दुई जिउकी भइछु ।’

    (यो कथांशले लेखक धर्मभिरु छन् भन्ने बुझाउँछ । जब लेखकले नै दैवको अस्तित्व स्वीकार गर्छ भने जीवन र जगत्का यावत् समस्यालाई दैवको लीला भनेर चुप लागे त भैगयो नि ! किन जान्ने भएर कथाकुथुंग्री लेखिबस्नु परेको ?)

    लेख्ने नै हो भने यसोरी लेखे कसो होला ?

    बिहे गरेको सात वर्ष भैसक्दा पनि मेघना र रघुले सन्तानको सुख पाएका थिएनन् । साँझ मेघना हस्याङफस्याङ गर्दै घरमा आइन् । रघुलाई ग्वाम्म अँगालो हाल्दै भनिन्, ‘हिजो प्रिग्नेन्सी टेस्ट गराएकोे, अघि रिपोर्ट लिन गएकी, दैवको लीला अपरम्पार, म त दुई जिउकी भइछु ।’
    (यहाँ पात्रलाई आफ्नो धर्म र आस्थाको कुरा गर्नचाहिँ कुनै मनाही छैन ।)

    ग)ऊ साह्रै सहयोगी भावनाको थियो । अरूलाई अप्ठ्यारो परेको त देख्नै सक्दैनथ्यो ।
    (पात्र सहयोगी भावनाको छ भनेर लेखकले मात्र भनेर पुग्छ ? लेखक भगवान् हो ?)

    कि यसरी लेख्ने ?

    उसले गाडी र मोटरसाइकलको तीव्र ओहरदोहर देखेर बाटो काट्न नसकेर अलमलमा परिरहेकी वृद्धालाई देख्यो । ऊ वृद्धानिर गयो र आफैँले उनको हात समातेर सडक पार गराइदियो ।
    (यसरी पात्रको सहयोगी भावनालाई घटनाक्रमबाट स्पष्ट गर्दा बढी प्रभावकारी हुन्छ कि ! सोच्नुस् ।

    घ)कार्यक्रममा हाकिमसाबकी श्रीमतीले साह्रै मिठो गीत गाएर सुनाउनुभयो । गीत सुनेर दंग पर्‍यो हाकिमसाबको ड्राइभर लालवीर । हाकिमसाब त झनै मक्ख पर्नुभएको थियो । घर आएर उसले पनि आफ्नी स्वास्नीलाई गीत गाउन भन्यो । स्वास्नीको घाँटी बसेको थियो । उसले गीत गाउनै सकिन ।
    (यदि, तपाईंले पनि कथामा यस्तै लेख्नुभएको छ भने एकपटक आफैँसित प्रश्न गर्नुस्– हाकिमसाबकी श्रीमती ‘श्रीमती’, ड्राइभरकी श्रीमतीचाहिँ ‘स्वास्नी’, हाकिमसाबकी श्रीमतीलाई ‘हजुर’ अनि ड्राइभरकी स्वास्नीलाई ‘ऊ/तँ’ । यो मभित्रको कस्तो वर्गीय चिन्तन हो ?)

    बरु, यस्तो लेखे हुन्थ्यो कि–

    कार्यक्रममा हाकिमसाबकी श्रीमतीले साह्रै मिठो गीत गाइन् । गीत सुनेर हाकिमसाबका ड्राइभर लालवीर पनि दंग परे । हाकिमसाब त झनै मक्ख परेका थिए । घर आएर लालवीरले पनि आफ्नी श्रीमतीलाई गीत गाउन भने । घाँटी बसेकोले उनले गीत गाउनै सकिनन् ।

    यो प्रसंगको अन्त्य गर्दै भन्छु– तपाईंले लेखेको सिंगो कथालाई आफ्नो काँधमा बोकेर हिँड्ने पात्रलाई सम्मान गर्नुस् । पात्रप्रतिको भेदपूर्ण व्यवहार लेखकभित्रको वैचारिक विचलन या वैचारिक कच्चापनको तगडा उदाहरण हो ।

    ६ ...र कथामा विचार

    सबैभन्दा जरुरी कुरा सबैभन्दा अन्त्यमा भन्न मन लाग्यो । कथाजगत्मा ‘कथामा विचार’को पक्षमा बहसपैरवी गर्नेहरू टन्नै हुनुहुन्छ । कतिले भन्नुहुन्छ, कथामा विद्रोहचेत हुनुपर्छ । कथामा पराजय या पलायनको स्वर हुनु हुँदैन । कथामा निराशा हावी हुनु हुँदैन । शोषित, दमित, उत्पीडित पात्रले कथाको अन्त्यमा भए पनि सके बन्दुक समातेर क्रान्तिमा होमिनुपर्छ, नभए मालिकको घरमा आगो लगाएर जंगल भाग्नुपर्छ ।

    छक्क पर्छु, जंगल, आगो र बन्दुक नहुँदो हो त क्रान्तिका कथाहरूको हविगत के हुँदो हो !

    पात्रले भोगिरहेको जीवन, त्यसको पृष्ठभूमि, उसको हुर्काइ या उसको व्यक्तित्वको विकासक्रमले ऊभित्र कसरी विचार निर्माण हुन्छ र त्यसलाई कसरी सहज किसिमले अभिव्यक्त गरेर पाठकको मनमा सशक्त प्रभाव पार्न सकिन्छ भन्ने कुरामा अबको लेखक झनै सचेत हुनुपर्ने भएको छ ।

    अझ बुझ्नुपर्ने कुरा के छ भने, हामीले ‘विचार’लाई राजनीतिक आस्थासित बढी जोड्यौँ । विचारका अरू अनेक आयामहरू छन् । पात्रलाई तँ, तिमी, तपाइँ, हजुर के भन्छ, त्यसबाट पनि लेखकको वैचारिकी बुझिन्छ । कथामा विचार भनेको समग्र कथानकसित लेखकले गर्ने ’डिल’ हो । लेखकले उठान गर्ने विषयवस्तु र त्यसको पछाडिको लेखकको नियत, त्यो विषयवस्तुलाई बोकेर हिँड्ने पात्रको निर्माण र चित्रण, घटनाक्रमसितको पात्रको अन्तरक्रिया, पात्रपात्रबीचको कार्यव्यापार, संवाद र अन्तद्र्वन्द, कथाको उठान र बैठान, भाषा र शिल्पको सचेत प्रयोगबाटै कथाभित्र प्रयोग हुने विचारको बोध हुन्छ । विचारलाई कथाको आत्मा मान्ने हो भने यति त बुझ्नैपर्छ, आत्मा देखिने कुरा होइन । यो अभौतिक रूपमा व्यक्तिको देहमा लुकेर बसिरहेको अदृश्य कुराजस्तै हो । कथामा पनि हुनुपर्ने यस्तै हो ।

    ७. बाह्रखरीका लागि कथा पठाउँदै हुनुहुन्छ भने...

    बाह्रखरीको कथा प्रतियोगिताले अब उत्सवको रूप लिइसकेको छ । यो मूलतः नेपाली कथामा नयाँ र बलिया कथाकारको आगमन होस् भन्ने अभिप्रायले सुरु गरिएको हो । यद्यपि, यसमा पुराना पुस्ताको पनि निर्बाध आउजाउमा बन्देज लगाइएको छैन । यसपटक पनि तपाईंले बाह्रखरीका लागि कथा पठाउने सोचमा हुनुहुन्छ भने यसपटक अझै मेहनत गर्नुस् । आजै लेखेर भोलि नै नपठाइहाल्नुस् । केही दिन आफैँसित राख्नुस् । आफैँले पनि सम्पादन गरिरहनुस् । कथाप्रति जिज्ञासा राख्ने साथीभाइहरू हुनुहुन्छ भने एकपटक उहाँहरूसित पनि सरसल्लाह गर्नुस् । थोरै शब्दमा भन्न सकिने कुरालाई लम्बेतान र अलिक विस्तार चाहिने कुरालाई छोटोमा नभन्नुस् । पछि मैले यस्तो लेखेको, यस कारणले लेखेको भनेर तपाईंले स्पष्टीकरण दिँदै हिँड्नु नपरोस् । तपाईंले लेख्न चाहेको, भन्न चाहेको कुरा तपाईंको कथाले सर्लक्कै पाठकलाई बुझाओस् ।

    यति गर्नुभयो भने हामी विश्वस्त हुनेछौँ, अरू वर्षभन्दा यसपटक अझै उम्दा कथाहरू बाह्रखरीलाई प्राप्त हुनेछन् ।

    अहिलेलाई यत्ति । भुलचुक लिने दिने ।

    (छैटौँ बाह्रखरी कथा प्रतियोगिताका निम्ति कथा आह्वान घोषणा कार्यक्रममा कथाकार पाण्डेको प्रस्तुति अंश)

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार