images
images

बाह्रखरी कथालेखन प्रतियोगिताका लागि कथा आह्वान, प्रथमलाई एक लाख पुरस्कार

बाह्रखरी कथालेखन प्रतियोगिताका लागि कथा आह्वान, प्रथमलाई एक लाख पुरस्कार

सोमवार, भदौ ३१ २०८१
सोमवार, भदौ ३१ २०८१
  • बाह्रखरी कथालेखन प्रतियोगिताका लागि कथा आह्वान, प्रथमलाई एक लाख पुरस्कार

    काठमाडौँ डिशहोम छैटौँ बाह्रखरी कथा प्रतियोगिता–२०८१’ का निम्ति कथा आह्वान गरिएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बाह्रखरी मिडियाले प्रतियोगिता घोषणासँगै कथा आह्वान गरेको हो ।

    images
    images

    कथा लेखनको सम्वर्द्धन र प्रवर्द्धनमा बाह्रखरी मिडियाले विगत पाँच वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ ।

    “नेपालको कथा लेखन प्रतियोगिताको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको यस प्रतियोगितामा कात्तिक ५ गतेसम्म सम्पूर्ण प्रतियोगी कथाकारहरूले [email protected] मा इमेल गरेर कथा पठाउनुपर्नेछ,” विज्ञप्तिमा उल्लेख छ, “नेपाली भाषाका सर्जकहरूले संसारभरबाट कथा पठाउन सक्नेछन् ।”

    कथा लेखनको सम्वर्द्धन र प्रवर्द्धनमा बाह्रखरी मिडियाले विगत पाँच वर्षदेखि निरन्तर चलाएको अभियानको अर्को कदमका रूपमा ‘डिशहोम छैटौँ बाह्रखरी कथा प्रतियोगिता–२०८१’ घोषणा गरेको छ ।

    आख्यान साहित्यको सशक्त विधा कथा लेखनमा स्थापित र नयाँ कथाकारहरूको प्रतिभालाई प्रोत्साहन एवम् पुरस्कृत गर्ने उद्देश्य रहेको यस कथा प्रतियोगितामा आफ्नो रचना पठाउन बाह्रखरी मिडियाले २०८१ भदौ ३१ गते पत्रकार सम्मेलनमार्फत कथा आह्वान गरेको हो ।

    नेपालको कथा लेखन प्रतियोगिताको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको यस प्रतियोगितामा कात्तिक ५ गतेसम्म सम्पूर्ण प्रतियोगी कथाकारहरूले [email protected] मा इमेल गरेर कथा पठाउनुपर्नेछ । नेपाली भाषाका सर्जकहरूले संसारभरबाट कथा पठाउन सक्नेछन् ।

    ‘डिशहोम बाह्रखरी कथा–२०८१’ को निर्णायक समूहमा सशक्त समालोचक तथा लेखक प्रा.डा. ज्ञानू पाण्डे रहनुभएको छ भने सदस्यहरूमा लेखक तथा समालोचक डा. गीता त्रिपाठी र साहित्यकार श्री धीरेन्द्र प्रेमर्षि हुनुहुन्छ ।

    बाह्रखरीलाई प्राप्त भएका सबै कथाहरूलाई पहिलो चरणमा बाह्रखरीका विचार सम्पादक गोविन्द अधिकारीको संयोजकत्वको आन्तरिक समूहले छाँट्ने काम गर्नेछ । आन्तरिक समूहले प्राप्त भएका कथामध्येबाट ५० कथा निर्णायक समूहलाई उपलब्ध गराउनेछ ।

    ती ५० कथामध्येबाट निर्णायक समूहले प्रथम, द्वितीय र तृतीय कथाका साथै ‘उत्कृष्ट कथा २०८०’ का लागि थप २२ कथा छानेर पठाउनेछ । निर्णायक समूहको निर्णय नै अन्तिम मानिनेछ ।

    प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्ला वर्षहरूमा जस्तै क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ नगद राशिका साथ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

    अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथा संगृहीत पुस्तक प्रकाशन गरिनेछ ।

    संग्रहमा प्रकाशित हुने बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिनेछ ।

    गत वर्ष यस प्रतियोगितामा विश्वभरिबाट ८४३ कथा प्राप्त भएको थियो ।

    यस वर्षको कथा प्रतियोगिताको नतिजा २०८१ मंसिर १४ गते शुक्रबार एक विशेष समारोहबीच सार्वजनिक गरिनेछ । सोही दिन कथासंग्रहको पुस्तक ‘उत्कृष्ट कथा–२०८१ को लोकार्पण पनि गरिनेछ ।

    डिशहोम बाह्रखरी कथा प्रतियोगिताको प्रथम संस्करणमा मकवानपुरकी बिना थिङ तामाङको ‘ब्याड भाले’ प्रथम भएको थियो । त्यस्तै, लक्ष्मण वियोगीको ‘टाउको’ द्वितीय र सुमित्रा न्यौपानेको ‘बार्दली’ तृतीय भएको थियो ।

    प्रतियोगिताको दोस्रो संस्करणमा लहानकी मुना चौधरीको ‘लार’ प्रथम, श्रेयज सुवेदीको ‘बेजोडा’ द्वितीय र दीपेन्द्र दोङ तामाङको ‘बुलेट बाइक’ तृतीय भएको थियो ।

    तेस्रो संस्करणमा मोरङका मनोजादित्य न्यौपानेको ‘अन्तिम अतिथि’ प्रथम, स्वप्निल नीरवको ‘बूढो घर’ द्वितीय र रेणुका जिसीको ‘मुडुली’ तृतीय भएको थियो ।

    चौथो संस्करणमा दाङका नवीन अभिलाषीको कथा ‘दमाहा’ प्रथम, रमेशजंग थापाको ‘डढेको आकाश’ द्वितीय तथा रुमु न्यौपानेको ‘घूँघट’ तृतीय भएको थियो ।

    पाँचौँ संस्करणमा लमजुङका मनोजबाबु पन्तको कथा ‘बूढो लाँकुरीको रुख’ प्रथम, काठमाडौंका प्रमोद प्याकुरेलको ‘काँचुली’ द्वितीय र गुल्मीका विजय हितानको ‘चेपाङ, चमेरा र चिउरी’ तृतीय भएको थियो ।

    गत वर्षझैँ यस वर्ष पनि उत्कृष्ट कथा संगृहीत पुस्तकको प्रकाशन फाइन प्रिन्टले गर्नेछ ।

    बाह्रखरीले आयोजना गर्दै आएको यस कथा प्रतियोगिताको टाइटल स्पन्सर डिशहोम डिश मिडिया नेटवर्कले गर्दै आएको छ ।

    उत्कृष्ट कथा–२०८१ को प्रकाशनका लागि प्रकाशन पार्टनरका रूपमा फाइन प्रिन्ट रहेको छ भने प्रतियोगिताका अन्य सहयोगी संस्थाहरूमा नेपाल टेलिकम, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड तथा कृषि विकास बैंक लिमिटेड रहेका छन् । यस वर्ष एयरलाइन्स पार्टनर यती एयरलाइन्स रहेको छ ।

    सर्त तथा नियम 
    – कथा नेपाली भाषामा लेखिएको मौलिक रचना हुनुपर्नेछ ।
    – अघिल्लो वर्षमा प्रतियोगिताका लागि पठाइएका कथा दोहोर्‍याएर पठाउन पाइनेछैन ।
    – कथा अप्रकाशित र अप्रसारित हुनुपर्नेछ । नतिजा सार्वजनिक नहुन्जेल प्रतियोगितामा पठाइएको कथा कतै पनि प्रकाशन वा प्रसारण गर्न पाइनेछैन ।
    – छनोटमा परेका कथा अन्य माध्यममा प्रकाशन वा प्रसारण भएको पाइएमा पुरस्कार निलम्बन गरिनेछ ।
    – ‘डिशहोम बाह्रखरी कथा प्रतियोगिता’मा भाग लिने उद्देश्यले पठाइएका कथा पुस्तकका रूपमा प्रकाशन भइसकेपछि अन्यत्र प्रकाशन वा प्रसारण गर्न बाह्रखरीको पूर्वस्वीकृति अनिवार्य छ ।
    – कथा कम्तीमा १,५०० शब्द र बढीमा ४,००० शब्दसम्मको हुनुपर्नेछ ।
    – कथा वर्ड फाइलमा मात्र पठाउनुपर्नेछ । 
    – प्रतियोगीले कथासँगै आफ्नो छोटो परिचय, सम्पर्क मोबाइल नम्बर र हालसालै खिचिएको फोटो पनि पठाउनुपर्नेछ ।
    – प्रतियोगिताका लागि छानिएका कथाकारलाई बाह्रखरीले इमेल तथा फोनमार्फत सम्पर्क गर्नेछ ।

    कथा पठाउनका लागि 
    इमेल : [email protected]
    सम्पर्क : ०१–४१०६५१, ०१–४१०६५६, ९८०१८४९६१९

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार