images
images

काभ्रेमा बाढी–पहिरो : चार जनाको मृत्यु, १० बेपत्ता

काभ्रेमा बाढी–पहिरो : चार जनाको मृत्यु, १० बेपत्ता

शनिवार, असोज १२ २०८१
शनिवार, असोज १२ २०८१
  • काभ्रेमा बाढी–पहिरो : चार जनाको मृत्यु, १० बेपत्ता

    काभ्रेपलाञ्चोक / तीन दिनदेखिको अविरल वर्षाका कारण यहाँ विभिन्न स्थानमा बाढी–पहिरोले ठुलो जनधनको क्षति भएको छ । बाढी–पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् । जिल्लास्थित तीन राजमार्ग अवरुद्ध छन् । 

    images
    images
    images
    images

    अविरल वर्षाका कारण आज बिहान बनेपा नगरपालिका–१० जनागालस्थित एक घरमा पहिरो खस्दा छ वर्षीय यूनिष हुमागाईंको मृत्यु भएको छ । 

    घाइते अवस्थामा यूनिषलाई तत्काल उद्धार गरी भक्तपुर अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको स्थानीय सञ्जिव विष्टले जानकारी दिए। 

    उनका अनुसार घरमाथिको जग्गा प्लटिङबाट आएको पहिरोले हुमागाईँको घर भत्किएको थियो । बनेपा पुलबजारस्थित राजमार्ग डुबानका कारण उनको उपचारार्थ भक्तपुर लैजानुपरेको थियो । 

    वर्षाका कारण आज बिहान दुई घर भत्किँदा तेमाल गाउँपालिका–७ चापाखोरीमा दुई महिलाको मृत्यु भएको छ । स्थानीय शिक्षक प्रेमबहादुर लामाका अनुसार मृत्यु हुनेमा ५० वर्षीया पाताली तामाङ र उनकी ३९ वर्षीया बहिनी रहेका छन् ।

    बहिनी पातालीको घरमा मकै भाँंच्ने काममा धुल्खुबाट सघाउन आएकी थिइन् । घटनापछि प्रहरी चौकी नारायणस्थानबाट उद्धार भइरहेको बताइएको छ । 

    यस्तै बेथान्चोक गाउँपालिकामा घर जाने क्रममा ५ नं वडा च्याल्टीमा गएको पहिरोमा पुरिएर शुक्रबार साँझ ४५ वर्षीय प्रेमबहादुर वाइबाको निधन भएको छ । 

    वडाध्यक्ष राजकुमार वाइबाका अनुसार खोला तरेर घर जाने क्रममा बारीको ढिस्को बाटोमा आउँदा उनी पुरिएका हुन् । च्याल्टीमा खोला ठुलो भएकाले खोला तर्न नसकेका स्थानीयलाई वाइबाले खोला तारी दिएर आफूपछि तरेका थिए । 

    जिल्ला प्रहरी कार्यालयका अनुसार गएरातीदेखि १० जना पहिरोमा परी बेपत्ता भएका छन् । आज बिहान साढे ३ बजे पनौती नगरपालिका–१२ कलाँतीमा पहिरोले घर पुरिँदा श्रीमान श्रीमती बेपत्ता भएका छन् । 

    यस्तै बिहान करिब ६ बजे बनेपा–१४ थालचोकमा पहिरोले घर बगाउँदा दुई जना बेपत्ता भएका हुन् । 

    बिहान ६ बजे नमोबुद्ध नपा–२ श्यामापाटीमा पहिरोमा परी दुई बेपत्ता तथा  पनौती–११ थुम्कीमा एक घर पुरिँदा चार जना बिहानदेखि सम्पर्कविहीन अवस्थामा रहेको प्रहरीले जनाएको छ । 

    घटनालगत्तै उद्धारमा कठिनाइ भए पनि अहिले यी घटनास्थलमा उद्धारका लागि स्थानीय जनप्रतिनिधि तथा सुरक्षाकर्मी परिचालन भएको जनाइएको छ । 

    यसैगरि पनौतीकै १२ नं वडास्थित कोलाँतीमा गोपाल तिमल्सिनाको घर पुरिँदा चार जना पुरिएकामा तीन जनालाई जीवितै उद्धार गरिएको छ भने एक जना अझै बेपत्ता रहेको कार्यालयले जनाएको छ ।

    पनौती–१२ थुम्की डाँडामा पहिरोको जोखिममा परेका करिब एक सय जना उद्धारको पर्खाइमा बसेको जनाइएको छ । 

    मण्डनदेउपुर नपा–१२ स्थित काफलचौर ५ घर र ३ नं वडाको बयरबोटमा एक घर जोखिममा परेको तथा रोशी गाउँपालिकास्थित विपी राजमार्गमा पर्ने नार्के बजारमा सडक छेउका दुई घर पहिरोमा परी बगाएको छ । 

    मण्डनदेउपुरकै कोदारीभिरमा पहिरो खसेपछि हेलम्बू राजमार्गको जिरोकिलो कुन्ताबेसी–मेलम्ची सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । 

    नगरप्रमुख टोकबहादुर वाइबाले राजमार्ग खुलाउने तथा जोखिममा रहेका घर परिवारलाई सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको जानकारी दिए । अविरल वर्षाका कारण काभे्रपलाञ्चोकको रोशीस्थित चिउरीबासमा रोशी खोलाको बाढीले आज मध्यान्ह करिब १०० मिटर सडक बगाएको छ ।

    यस्तै खहरे खोलाको लेदो तथा सडक बगाउँदा रोशीस्थित विपी राजमार्गको दुई स्थानमा शुक्रबार दिउँसोदेखि सडक अवरुद्ध भएको छ । अरनिको राजमार्गअन्तर्गत बनेपास्थित पुलबजार डुबान हुँदा यातायातका साधान रोकिएका छन् । 

    शुक्रबार साँझ पाँचखाल नगरपालिका–५ स्थित सडकमा गुडिरहेको बसमाथि रुख ढल्दा बसमा क्षति पुग्नुका साथै सडक अवरुद्ध भएको थियो ।

    यस्तै अरनिको राजमार्गअन्तर्गतकै निर्माणाधीन धुलिखेल–खावा सडकको विभिन्न स्थानमा पहिरो तथा लेदोका कारण यातायातका साधाव आज बिहानदेखि ठप्प रहेको खावा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक उमेश थपलियाले जानकारी दिए । 

    रोही गाउँपालिकाको ११ नं वडास्थित माम्तीमा शुक्रबार दिउँसो खहरे खोलाको बाढीले सडकको ह्यूमपाइपसमेत बगाउँदा विपी राजमार्गको नेपालथोक–मङ्गलटार सडकखण्ड अवरुद्ध हुँदै आएको छभने गाउँपालिको ८ नं चारसयबेंसीमा माथिबाट लेदो झरेका कारण कटुञ्जे–मङ्गलटार सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

    सुरक्षाकर्मीले अवरुद्ध सडक खुलाउन स्थानीय निकाय तथा सडक विभागसँग समन्वय भइरहे पनि प्रतिकूल मौसमका कारण अवरुद्ध राजमार्ग सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार