काठमाडौँ / साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार नेप्से परिसूचक १३.५३ अङ्कले घटेको छ । केही दिनयता लगातार घटेको बजार आज पनि घट्दा नेप्से झरेर २ हजार ५ सय ८३.२९ बिन्दुमा थामिएको हो ।
सेन्सटेटिभ इन्डेक्स समेत घटेर आज ४ सय ४३.८ बिन्दुमा झरेको छ । घटेको बजारमा आज ४ अर्ब ५१ करोड ८३ लाख ८५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आइतबार कुल ३१९ कम्पनीको सेयर खरिदबिक्री भयो । ९१ लाख ८० हजार ७१८ कित्ता सेयर ५७ हजार ८ सय ६३ पटकमा किनबेच भएको छ ।
बजार पुँजीकरण रकम समेत घटेर आज ४२ खर्ब ८४ अर्ब ९० करोडमा सीमित भएको छ । घटेको बजारमा आइतबार ८५ कम्पनीको मूल्य बढेको छ भने पाँच ओटा कम्पनीको सेयर मूल्यमा उच्च बृद्धि देखिन्छ ।
बढेकोमध्ये चारओटा कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ । सर्पोट माइक्रो फाइनान्स वित्तीय संस्था, बाराही हाइड्रोपावर, न्यादी हाइड्रोपावर र सुपरमादी हाइडे पावरको सेयर मूल्य सर्किट लेभलमा बढेको छ । त्यस्तै, पिपुल्स पावर लिमिटेडको सेयर मूल्य पनि ९.७१ प्रतिशतले बढेको देखिन्छ ।
यता, १५४ कम्पनीको सेयर मूल्य घटेको छ । यसमध्ये सप्तकोशी विकास बैंक, माईखोला हाइड्रो, गरिमा विकास बैंक लगायत कम्पनीको मूल्य सबैभन्दा धेरै घट्यो ।
यो दिनको कारोबार रकममा सबैभन्दा बढी हिस्सा रिभर फल पावर लिमिटेडको छ । यो कम्पनीको सेयर कारोबार रकम २२ करोडभन्दा माथि पुग्यो । आइतबार ६ ओटा कम्पनीको सेयर कारोबार भने भएन ।
आइतबार उत्पादन तथा प्रशोधन उपसमूहका कम्पनीहरूमा लगानीकर्ताको आकर्षण देखियो । यो उपसमूहको सूचक १.५७ प्रतिशतले बढ्दा हाइड्रो पावर समूहको सूचकसमेत बढेको छ । बाँकी सबै समूहको उपसूचमा भने गिरावट आएको छ ।