काठमाडौँ / सेयर बजार कारोबार भएको तेस्रो दिन पनि उकालो लागेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ४.१९ अङ्कले उकालो लागेर २ हजार ६३०.७१ बिन्दुमा थामिएको छ ।
त्यस्तै, सेन्सेटिभ इन्डेक्स २.३० अङ्कले बढेर ४ सय ५१.४५ बिन्दुमा पुगेको भएको छ । बुधबार सार्वजनिक बिदापछि बुधबार खुलेको बजारमा कारोबार रकमसमेत सामान्य बढेको छ । मङ्गलबार ५ अर्ब २० करोड २२ लाख रुपैयाँको कारोबार भएकोमा यो दिन ५ अर्ब ३२ करोड ९२ लाख रुपैयाँबढीको कारोबार भएको हो ।
कुल ३१० धितोपत्रको २ करोड ९ लाख ७८ हजार ९७९ कित्ता सेयर ६१ हजार ८३९ पटकमा कारोबार भएको छ । बिहीबार कारोबार भएकामध्ये ७० ओटा कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने १६३ कम्पनीको मूल्य घटेको छ । त्यस्तै, ९ कम्पनीको मूल्य स्थिर रह्यो ।
बिहीबार भने बजार पुँजीकरण रकमसमेत बढेर ४३ खर्ब ६३ अर्ब ५६ करोड कायम भएको छ । आइतबार आत्मनिर्भर लघुवित्त र सर्पोट माइक्रो फाइनान्स वित्तीय संस्थाको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यता, कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।
कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषित गरी कारोबार रकम रोक्का गरेसँगै अन्य विकास बैंकको सेयर मूल्यमा समेत पहिरो गएको छ ।
जोशी हाइड्रोपावर डेभलपमेन्ट, सप्तकोशी डेभलपमेन्ट बैंक र ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्यमा समेत उच्च गिरावट आएको छ ।
कारोबार रकमका आधारमा आज प्रभु बैंक शीर्ष स्थानमा रहेको छ । प्रतिकित्ता २४४ रुपैयाँ रहेको कम्पनीकोको आज ५० करोड ७७ लाख ८३ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको हो । त्यस्तै, दोस्रो स्थानमा रहेको जानकी फाइनान्सको २२ करोड ३९ लाख २९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
उपसमूहतर्फ बिहीबार व्यापार समूहको परिसूचक २.३१ प्रतिशत र बैंकिङ समूहको परिसूचक १.८१ प्रतिशतले बढेको छ । लघुवित्त र लगानी समूहको परिसूचक सामान्य बढ्दा बाँकी सबै समूहको परिसूचक ओरालो लागेको छ । आज सबैभन्दा बढी विकास बैंक र वित्त समूहका लगानीकर्ताहरूले गुमाएका छन् ।