काठमाडौँ / चालु आर्थिक बर्षको ८ महिना (साउन–फागुन)सम्म वाणिज्य बैंकहरूको नाफा २.८१ प्रतिशतले बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ८ महिनाको तथ्याङ्क अनुसार ८ महिना (साउन–फागुन)सम्म हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकको नाफा गत बर्षको सोही अवधिको तुलनामा २.८१ प्रतिशतले बृद्धि भएको हो ।
गत बर्ष २० वाणिज्य बैंकहरूले ४२ अर्ब ३० करोड ६९ लाख रुपैयाँ नाफा कमाएको यस बर्ष भने सो रकम ३ अर्ब ४९ करोड रुपैयाँ पुगेको हो ।
खराब कर्जा बढ्दा र लगानी घटेका कारण समीक्षा अवधिमा वाणिज्य बैंकको नाफा रकम एक अर्ब रुपैयाँ मात्रै बृद्धि भएको हो ।
फागुन मसान्तसम्म ११ वटा बैंकको नाफामा बृद्धि भएको छ भने ९ वटाको घटेको छ । सबैभन्दा बढी नाफा बृद्धि गर्नेमा नेपाल बैंक रहेको छ । यो बैंकको नाफा गत बर्षको सोही अवधिको तुलनामा १३२ प्रतिशतभन्दा बढीले बृद्धि भएको हो ।
त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, एनएमबि बैंक, एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल एसबिआई बैंक, सानिमा बैंक, नबिल बैंक र स्टान्डर्ड चार्टर्ड बैंकको नाफा बृद्धि भएको छ ।
सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ । ८ महिनामा यो बैंकले ४ अर्ब ७८ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको छ ।
सबैभन्दा बढी नाफा घट्नेमा एनआइसी एशिया बैंक रहेको छ । यो बैंकको नाफा सबैभन्दा बढी ६७.७५ प्रतिशतले घटेको हो ।
एनआइसी एशिया बैंकले समीक्षा अवधिसम्म ८१ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको छ । गत बर्ष २ अर्ब ५४ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो । कृषि विकास बैंक लिमिटेडले यस अवधिमा सबैभन्दा कम नाफा कमाएको छ । कृषि विकास बैंकले फागुन मसान्तसम्म ७३ करोड ८० लाख रुपैयाँ मात्रै नाफा कमाएको छ ।
गत बर्ष यो बैंकले यसै अवधिमा १ अर्ब ९७ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको थियो । गत बर्षको तुलनामा कृषि विकास बैंकको नाफा ६२.६६ प्रतिशतले घटेको हो । यससँगै समीक्षा अवधिमा प्राइम कमर्सियल बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, हिमालयन बैंक र राष्ट्रिय वाणिज्य बैंकको नाफा पनि घटेको छ ।