काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस काठमाडौँ जिल्ला अदालतमा चलिरहेको छ । बयान सकिएपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले रविलाई न्यायिक हिरासतमा पठाउने आदेश दिएको थियो ।
आइतबार थुनछेक बहस नभएका कारण लामिछानेलाई जिल्ला प्रहरी परिसरको हिरासतमा पठाइएको थियो । पोखराबाट धरौटीमा रिहा भएका लामिछाने आइतबार हिरासतमा गएका हुन् ।
रवि विरुद्ध दायर भएको स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा पेशी परेको छ । यसअघि आइतबार रविको बयान भएको थियो ।
आइतबार बयानमात्र भएपछि रविलाई प्रहरीको जिम्मा लगाईएको थियो । अहिले रविलाई अदालतमा लगेर थुनछेक बहस सुरु गरिएको हो । सोमबार सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहसका निम्ति उनलाई बबरमहलस्थित जिल्ला अदालत लगिएको हो ।
सहन्यायाधीवक्ता रामहरि शर्मा काफ्लेसहित ११ जना सरकारी वकिलले रविको विरुद्धमा बहस गर्ने छन्। सरकारी वकिलले बहस सकेपछि प्रतिवादी पक्षका वकिलहरूले बहस गर्नेछन्।
प्रतिवादी लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ र सुशील पन्तले बहस गर्नेछन्। न्यायाधीश अधिकारीले सरकारी वकिललाई २ घण्टा र रवि पक्षका वकिललाई सवा घण्टाको समय दिएका छन् ।
त्यसपछि पुनः सरकारी वकिलले जवाफी बहस गरेपछि न्यायाधीशले आदेश गर्नेछन्। आजै दुवै पक्षको बहस र जवाफी बहस सकिएको खण्डमा न्यायाधीशले आदेश दिनेछन्।
रविको पक्षमा बहस गर्न लागेका श्रेष्ठ र पन्त दुवै जना पूर्व महान्यायाधीवक्ता हुन् । यसअघि कास्की जिल्ला अदालतमा पनि रविको पक्षमा नै उनीहरूले बहस गरेका थिए । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा बयानका निम्ति लामिछाने आइतबार बिहान आफैँ काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका थिए ।
आइतबार बिहान आफैँ अदालनमा आएको र थुनछेक बहसका लागि परिवार र निजी वकिलहरूको जिम्मा लगाउन लामिछानेले माग गरेका थिए । तर न्यायाधीशले प्रहरीको जिम्मा लगाउन आदेश दिएका हुन् ।
कास्कीको सूर्यदर्शन सहकारी ठगीमा भने लामिछाने बिहीबार धरौटीमा रिहा भएका थिए । जिल्ला न्यायाधीश नीतिज राईको इजलासले रविलाई ६५ लाख धरौटीमा रिहा गरेको थियो ।
लामिछानेविरुद्ध संगठित रूपमा ठगी गरेको आरोप छ । सो प्रकरणमा रविसहित ३९ जनाविरुद्ध पुस २१ गते काठमाडौंमा मुद्दा दायर भएको थियो ।