काठमाडौँ / चालु आर्थिक बर्षको पाँच महिनामा १९ ओटा वाणिज्य बैंकहरूले ३० खर्ब ५९ करोड ३१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । हाल सञ्चालनमा रहेका २० ओटा वाणिज्य बैंकहरूमध्ये कृषि विकास बैंकको भने मुनाफा सार्वजनिक गरिएको छैन ।
गत बर्षको पाँच महिनासम्म २८ अर्ब २४ करोड २८ लाख रुपैयाँ नाफा कमाएको १९ वाणिज्य बैंकहरूले यस बर्ष भने सोही अवधिमा नाफा २ अर्ब बढीले बृद्धि गरेको हो । गत बर्षको तुलनामा यस बर्ष नाफा रकम ८.३२ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको तथ्याङ्क छ ।
राष्ट्र बैंकको तथ्याङ्क अनुसार कार्तिक महिनाको तुलनामा वाणिज्य बैंकहरूले ८ अर्ब ३० करोड रुपैयाँले नाफा बृद्धि गरेको छ । कार्तिक मसान्तसम्म वाणिज्य बैंकहरूको नाफा २२ अर्ब २९ करोड रुपैयाँ थियो । असोज मसान्तसम्म १६ अर्ब १८ करोड ९४ लाख २२ हजार रुपैयाँ नाफा कमाएका थिए ।
कर्जा असुलीमा समस्या, खराब कर्जाको उच्च बृद्धि, कर्जा प्रवाहमा सुस्ततालगायतका समस्याहरू झेल्दै आए पनि समीक्षा अवधिमा केही बैंकहरूले नाफामा उल्लेख्य प्रगति देखिन्छ । केही बैंकहरूको नाफामा भने सो समस्या अझै यथावत रहेको छ ।
केन्द्रीय बैंकको तथ्याङ्क अनुसार मङ्सिर मसान्तसम्म गत बर्षको तुलनामा १३ ओटा बैंकले नाफा बृद्धि गरेका छन् भने ६ ओटा नाफा घटेको छ ।
तथ्याङ्क अनुसार नबिल, ग्लोबल आइएमई, नेपाल, प्रभु, माछापुच्छ्रे, नेपाल एसबिआई, प्राइम, स्टान्डर्ड चार्टर्ड, कुमारी, सिद्धार्थ, एनएमबि र एभरेस्ट बैंकको नाफा बढेको छ ।
त्यस्तै, राष्ट्रिय वाणिज्य, एनआइसी एशिया, सिटिजन्स, नेपाल इन्भेस्टमेन्ट मेगा, हिमालयन र सानिमा बैंकको नाफा घटेको छ ।
यस अवधिमा सबैभन्दा बढी नाफा बृद्धि गर्नेमा नेपाल एसबिआइ बैंक र लक्ष्मी सनराइज बैंक रहेका छन् । त्यस्तै, सबैभन्दा कम नाफा प्राइम कमर्सियल बैंकले बैंकले कमाएको छ ।
नेपाल एसबिआई बैंकले पाँच महिनामा नाफा रकम ९०.४८ प्रतिशत र लक्ष्मी सनराइज बैंकले ८२.७० प्रतिशतले बृद्धि गरेको हो । गत बर्ष मङ्सिर मसान्तसम्म ७० करोड ८० लाख रुपैयाँ नाफा कमाएको यो बैंकले यस बर्ष सोही अवधिमा १ अर्ब ३४ करोड रुपैयाँ नाफा कमाएको छ ।
त्यस्तै, लक्ष्मी सनराइज बैंकले गत बर्ष ८९ करोड ८० लाख रुपैयाँ नाफा कमाएको यस बर्ष सोही समयमा १ अर्ब ६४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।
चार महिनासम्म सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको छ । मङ्सिरसम्म नबिल बैंकको नाफा ३ अर्ब ४९ करोड ७४ लाख रुपैयाँ पुगेको छ । यो बैंकले कार्तिक मसान्तसम्म २ अर्ब ६९ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको थियो । एक महिनामा करिब एक अर्बले बढेको छ ।
ग्लोबल आइएमई बैंक सबैभन्दा बढी नाफा कमाउनेको दोस्रोमा छ । यो बैंकले मङ्सिरसम्म २ अर्ब ८३ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको हो । कार्तिक मसान्तसम्म २ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको ग्लोबल आइएमईले एक महिनामा करिब ७२ करोडले नाफा बढाएको हो ।
पाँच महिनामा १३ बैंकको नाफा अर्बमाथि
राष्ट्र बैंकको तथ्याङ्क अनुसार १३ ओटा बैंक अर्बपति क्लबमा छन् । जसमध्ये दुई अर्बमाथि नाफा कमाउने तीन ओटा बैंक छन् । कार्तिक मसान्तसम्म ग्लोबल आइएमई बैंक, नबिल बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफा २ अर्ब माथि पुगेको हो ।
लक्ष्मी सनराइज बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, नेपाल बैंक एनएमबि बैंक, प्रभु बैंक, स्ट्यान्डर्ड चार्टर्ड र हिमालयन लिमिटेडको नाफा एक अर्बभन्दा माथि रहेको छ ।
एनआइसी एशिया बैंकको नाफामा उच्च गिरावट
राष्ट्र बैंकको तथ्याङ्क अनुसार कार्तिक मसान्तसम्म सबैभन्दा बढी नाफा घट्नेमा एनआइसी एशिया बैंक रहेको छ । गत बर्षको सोही अवधिको तुलनामा यो बैंकको नाफा रकम ६५.७६ प्रतिशतले घटेर ६३ करोड ३४ लाख रुपैयाँमा सीमित भएको हो । गत बर्ष पाँच महिनामा यो बैंकको नाफा १ अर्ब ८५ करोड रुपैयाँ थियो ।
त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले गत बर्षको पाँच महिनाको तुलनामा ५४.१९ प्रतिशत कम ५५ करोड रुपैयाँ मात्रै नाफा कमाएको छ भने हिमालयन बैंकले ३८.५१ प्रतिशत कम ८६ करोड ७१ रुपैयाँ नाफा आर्जन गरेका छन् ।