बालकदेखि बृद्धसम्मले पुतली बनेर नाच्छन्।
एउटा महँगो ऐतिहासिक नाच ।
थरिथरि रङका कपडा पहिरिएर
पुतलीजस्तै देखिन्छन् । नाचको रौनक बेग्लै हुन्छ ।
हो, बाइसे चौबीसे राजाका पालादेखि नाचिदै आएको पुतली नाचलाई ढोरपाटन भल्कोटमा जिवितै देख्न सकिन्छ । यहाँका स्थानीयले पुतली नाच संरक्षण गर्दै आएका छन्।
ढोरपाटन निसीखोला गाउँपालिका–६ भल्कोटमा हरेक वर्ष माघ ३ गते पुतली नाच नाच्ने गरिन्छ।
भल्कोटमा मात्र नाच्ने पुतली नाच उत्कृष्ट मौलिक संस्कृतिका रूपमा लिने गरिन्छ। पुतली नाचसँगै यस दिन कापै नाच, तरबार नाच र पट्टा नाच नाच्ने गरिन्छ।
युवापुस्ता विदेश पलायन र बजार झर्न थालेपछि लोप हुने अवस्थामा पुगेको पुतली नाच गाउँमा भएका युवाले संरक्षणमा जोड दिएका हुन्। मगर समुदायको पहिचानसँग जोडिएको नाचलाई संरक्षण गर्न स्थानीय सरकारसहित विभिन्न सङ्घसंस्था पनि लागेका छन्।
नाच संरक्षणका लागि तिलाचन युवा क्लबले अग्रसरता लिएको छ। क्लबले पुराना पुस्ताबाट युवालाई संस्कृति हस्तान्तरण गराउने कार्य गर्दै आएको छ। हरेक वर्ष गाउँमा नयाँ नाच्ने युवा बढिरहेका छन्।
सयौँ वर्ष पुरानो मानिने यो नाच कहिलेदेखि सुरू भएको यकीन नभए पनि बाइसे चौबीसे राज्य हुँदादेखि नाच्दै आइएको बूढापाकाको भनाइ छ। बाउबाजेले नाच्दै आएको नाचलाई अहिलेसम्म संरक्षण गर्दै आएको स्थानीय ७७ वर्षीय भाजवीर घर्तीमगरले बताए।
पुतली नाच मैले जान्ने हुँदादेखि नै नाच्ने गरिन्थ्यो, अहिले म सात दशक बढी भएँ, नाच्दै आइएको छ, हामी सानोसानो हुँदा बाउबाजे नाच्थे, मैले त्यही देखेर सिकेको, घर्ती मगरले भने, अहिलेका युवाहरूले पनि सिक्दैछन्, गर्दैछन्, यो संस्कृति कहिलेदेखि सुरू भएको भन्ने थाहा छैन, तर हाम्रा बाजेहरूले सयौँ वर्ष पुरानो हो भन्ने गर्थे।
किन नाचिन्छ पुतली नाच ?
तत्कालीन बाइसे चौबीसे राज्य सञ्चालनका समयमा राजारानीको मृत्यु भएपछि स्थानीयले उनीहरूको स्मृतिमा पुतली नान नाच्न थालेको स्थानीय नैनासिंह बुढामगरले बताइन्। बुढामगरका अनुसार माघ २ गते साँझ राजाको सम्झनामा पुतली बनाउने गरिन्छ।
राजा, रानी र धाइमा गरी तीनवटा मूर्तिजस्तो पुतली बनाइन्छ भने माघ ३ गते बालक, युवा र वृद्धहरू पुतलीको पहिरन गरेर बाजाको तालमा नाच्ने गर्छन्।
माघ ३ गते भल्कोट गाउँबाट नाच्दै केही माथि पुग्ने र त्यहाँ बन्दुक पट्काउने, पुलतीलाई डोलामा डुलाउने र नाच्ने गरिन्छ। साँझ परेपछि खोलामा सेलाइन्छ।
माघ २ गते साँझ पुतली बनाउन सुरू गरेदेखि ३ गते खोलामा लगेर नबगाउँदासम्म स्थानीय युवाहरू डम्फु बजाउने, अश्लिल बोल्ने र कापै खेल्ने गर्छन्।
माघ ३ गते बिहानदेखि साँझसम्म भने पुतलीजस्तै बनेका मान्छे नाच्छन्। उनीहरूले शरीरमा विभिन्न थरिका कपडा पहिरिएका हुन्छन्। पुतलीजस्तै बनेका उनीहरू दिनभर नाच्छन्। जसलाई स्थानीयले ‘पुतली नाच’ भन्छन्।
भालुको पित्त देगाउने अचम्मको प्रचलन
पुतली नाचसँगै माघ ३ गते भालुको पित्त देगाउने गरिन्छ। दिनभरि पुतलीजस्तै बनेर नाच्ने मानिसको बीचमा कापै खेल्ने १०–१२ जना युवाको टोली हुन्छ।
उनीहरूले डम्फु, घाँडोलगायत थोत्रा भाँडा बजाउने गर्छन्। पुराना थाङ्ना कपडा र मुखमा मुखुण्डो लगाएका हुन्छन् भने केहीले अनुहार देखाएका हुन्छन्।
उनीहरूमध्ये एक जनालाई पुरानो घुम (भेडाको रौँबाट बनेको कपडा) फेरेर चिन्दै नचिनिने बनाइएको हुन्छ। त्यसलाई उनीहरूले भालु भन्छन्।
घर्ती मगरले भने, ुपहिले त अझै बढी चल्थ्यो, तर अहिले विस्तारै कम हुँदै गएको छ, भालु बनाएर यौनाङ्ग देखाउने मानिसको पहिचान खुलाइँदैन।
सेनाको तालिम ‘पट्टा नाच’
पुतली नाचसँगै माघ ३ गते नै पट्टा नाच नाच्ने गरिन्छ। हातमा भाला तथा तरबार लिएर पुतली नाच्ने व्यक्तिहरू नै यो पट्टा नाच नाच्ने गर्छन्। तत्कालीन राजाका सिपाहीहरूले गर्ने तालिमलाई अहिले पट्टा नाच भन्ने गरिएको निसीखोला गाउँपालिका–६ का अध्यक्ष हेमबहादुर बुढामगरले जानकारी दिए।
उनका अनुसार पट्टा नाच्दा दुईतर्फ तरबार र ढाल राख्ने गरिन्छ र दुई जनाले त्यसलाई नचाउने गर्दछन्। तरबार नचाउँदा दुवैले एकअर्कालाई मार्न र आफू बच्न खोज्छन्। पुतली नाच्ने र तरबार नचाउने उनीहरू आफै गर्दछन्। पहिले पुराना ढाल तरबारको प्रयोग हुने गरेकामा पछिल्लो समय काठलाई पट्टा बनाएर नाच्ने गरेको उनको भनाइ छ।
संरक्षणमा गाउँपालिकाको चासो
स्थानीय सरकार आएपछि बढी पुतली नाच चर्चामा आउन थालेको छ। प्रचारप्रसारका कारण पश्चिम बागलुङ यो नाच निकै लोकप्रिय बन्दै गएको छ। पाँच वर्ष अगाडिको तुलनामा नाच हेर्न आउने दर्शक पनि बढेका छन्। नाच हेर्नका लागि बागलुङका निसीखोलासहित तमानखोला, ढोरपाटन तथा गुल्मी, प्युठान, रोल्पा र रूकुमबाट हजारौँ दर्शक आउने गरेका छन्।
मगर समुदायको पहिचानसँग जोडिएको पुतली नाच मौलिक संस्कृति भएको हुँदा पालिकाले बर्सेनि बजेट व्यवस्थापन गरेर व्यवस्थित गर्दै गएको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले बताए।
गाउँपालिकाले पाका पुस्ताबाट युवा पुस्तामा कला र संस्कृति हस्तान्तरण गर्नका लागि प्रशिक्षणलगायत काम गर्ने गरेको उनको भनाइ छ।
ुयस खालको नाच सायद नेपालमै छैन होला, हामी कला, संस्कृतिका हिसाबले धनी छौँ, नयाँले नसिकेपछि लोप भएर जान्छ कि भन्ने चिन्ता त हुन्छ नै यद्यपि समय–समयमा युवापुस्तालाई सिक्न प्रेरित गरिरहेका छौँ,ु उनले भने, ुगाउँपालिका यहाँका सङ्घसंस्थालाई पनि कला, संस्कृति संरक्षण गर्न सक्रिय बनाइरहेको छ, बजेट विनयोजन गर्ने र अन्य पक्षलाई पनि ध्यान दिएका छौँ।
डम्मर बुढामगर/ रासस